कविता : मावाखोलाको मन

~प्रथा~Pratha

वैँसको घोडामा चढेर
बतासले जुल्फी लर्काउन थालेपछि
उस बेला–
छानाबाट फर्सी झरुञ्जेल
थेवाले बजाएथे रे !
आफूजस्तै जब्बर च्याब्रुङ
च्याब्रुङ ब्रुङ ! च्याब्रुङ ब्रुङ !!
त्यही आदिम धुन सुनेर
युगौँदेखि निदाइरहेको
यो नदीले–
जीवनको गति हालेछ
र आफ्नै आँसुको रङ मेटाएर
यो जिन्दगी आज
धमिलो पानीसँगै बेखबर बगिरहेछ !
उही बेला–
पहाडका जराहरू रसाएर
कुलकुलाउँदै झरेकी तरूनी युमालाई
सुँगुरको चारो टिप्दाटिप्दै
अचानक हिकहिकी लाग्यो रे !
र त्यही बाडुल्कीको
नदेखिने लहरो समाउँदै समाउँदै
जीवनको चिसो बँेसीबाट
उनी यो बतासेडाँडामा उक्लेकी थिइन् रे !
कपासजस्तै पिरती बाटेर
रहरैरहरको कलिलो धागोले बुनेको
सपना लुकाउने सुकुवा दिँदै
थेवाले भनेथे रे !
यो फक्ताङलुङ साक्षी छ
मेरी हाङ्लेकुसामेन्छोमा !
यो आकाशमा जूनघाम रहुञ्जेल
म तिम्रै हुनेछु !
निधारबाट झरेको
ह्यात्रुङ झरनाझैँ केशराशिले
लछप्पै ढाकिएको अनुहार पन्छाउँदै
युमाले भनिथिन् रे !
यो तीनआँख्ले तारा साक्षी छ
मेरो राजालेकुसा !
यो च्याब्रुङको आवाज बाँचुञ्जेल
म पनि तिम्रै हुने छु !
ए कान्छी !
भन न कसले राखिदियो
तिमीले भिरेको सुकुवाभित्र
अर्कैका यी बैगुनी सपनाहरू ?
र मुटु दुख्ने बेथाले थलिएको छ, च्याब्रुङ नाच !
किन यति लामो छ
यो नदी रूँदै हिँड्ने गोरेटो पनि !
धर्तीका रङहरू पखाल्दै
जसरी बगिरहेछ यो खोलाको पानी
उसरी नै किन बगिरहेछ
यो समयको मन !
बाँसका कप्टेराहरूले चिरेका
खहरेजस्तै हस्तरेखामाथि
पासर्पोट तैरिदै आएको अर्धबैँसे हात
केरुङ साइँलाको हो कि
कमलरीजस्तै, यो देशको ?
गलाको कण्ठा समाएर
कार्गीलको अनकण्टार क्षितिज हेर्दै
सुँक्कसुँक्क एक्लै रोइरहेकी
दिलकुमारी हुन कि
दरबारकी कान्छी महारानी ?
भन न क¥याङकुरुङ चरी !
अब कति कोष पर छ
यो अँध्यारो सुरुङको अन्त्य ?
आफैँलाई मुछेर पारेको
यो जाँडको मटिया
किन यति सस्तोमा बिक्री हुन्छ ?
र कसले तर मारिरहेछ
यो आदिवासी ठेकीको दहीमाथि ?
हउ लोकेकी आमा !
कति टाढा छ सिंहदरबार ?
यो एकमेलो कोदो टिपेर
हेर्न जाउँ है
भरे चाँडै फर्कनु छ !
पुरानो खोर नजिकै
च्याब्रुङको बाटुलो प्वालबाट
एउटा कालो राष्ट्रियता नियालिरहेको
मक्करध्वजको छोरो हो कि
यो देशको नयाँ राजकुमार ?
यी नानीहरूको आँखाबाट
हराउँदै गएको सपनाको रङ
र मुन्धुम फुकेर
फेदङबाले फ्याँकेको अक्षताको रङ
किन उस्तै छ – निख्खर सेतो !
भन न ए मेन्छ्याफुरूप्मा
कहाँ हराए आज
सपनाका अनगिन्ती रङहरू ?
एका बिहानै –
बतासेडाँडाको ऐँसेलु झाङमा
अड्किएको सारीको टुक्रा कसको हो ?
किन सँगसँगै रोइरहेछन्
माखुंगे र यो बंगुरको पाठो ?
कहाँ हराइ, जमुनी मादेन
र किन आत्महत्याको मुजुल्का उठाउँछ
यो सोम शर्मा नामको बहीदार बुढो ?
ए मावाखोला !
कस्तो निष्फिक्री मुर्दा निदाएको
ब्यूँझ न ब्यूँझ
यो वनभरी डढेलो सल्किसक्यो !

(स्रोत : सौर्य दैनिक)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.