~प्रकाश सुनुवार ‘निराकार’~
नेलकडी ठोकेर
पिंजडा भित्र बन्दी बनाइएको
शताब्दीयौं भयो – मेरो कबिता !
पिंजडा –
दन्तेकथाको एकिकरणको,
अन्धा/ बहिरा/ लाटा राजतन्त्रको,
पञ्चायत नामको,
झुक्याउने प्रजातन्त्रको,
फोस्रो लोकतन्त्रको,
प्रमाणीत हुन नसकेको गणतन्त्रको ।
पिंजडाले रुप फेरिरहने/ परिबर्तन भैरहने
कबिताको पिडा भने उहिका उहि/ जस्ताको तस्तै
सम्बोधन हुन नसकेका थुप्रै कबिताहरु
यत्रतत्र बन्दी छन् यहाँ ।
पिंजडा भित्रका कबिताहरुका आवाजहरु
बन्दी छैनन् अहिले,
गोरखा दरबार देखि सिंहदरबार हुँदै
नयाँ बानेस्वर सम्मका
बिषाधित निर्णयहरुको बमनले
बिक्षिप्त पारिएका छन् कबिताहरुलाई
हिजो/ अनि आजकल पनि ।
तोड्न सकेका छैनन् पिंजडाको खिड्की कबिताहरुले,
स्वतन्त्र हुन सकेका छैनन् अझै,
आवाजहरु भने खिड्की खोल्न
ब्यापक अनि बृहत
हावा हुंण्डरीको संकलनमा जुटेका छन् ।
हावा हुंण्डरी आइपुग्दा –
पिंजडा भत्किन पनि सक्छ
कबिताहरु मर्न पनि सक्छन्
खिड्की मात्रै पनि खोलिन सक्छ
अनगिन्ती कबिताहरु जन्मन पनि सक्छन्
अन्तत: पिंजडा, कबिता र खिड्कीहरुको
अन्तरसम्बन्धको गाथा बोकेर
नविन इतिहासहरु देखापर्ने छन् ।
कबिताहरु बांचेमा
स्वतन्त्रता/ उन्मुक्तीका लागि
उदघोष मात्र गर्दैनन्
कबिताहरुले बन्दुक बोक्नेछन्
पिंजडाका मालिकहरुलाई खरानीमा बदल्ने छन्
युगीन कमारा बनाइएकाहरुलाई छुट्कारा दिलाउने छन् ।
घाँती रेटेर शोसकहरुको अनि
सजाय दिनेछन् सास निमोठेर शासकहरुलाई,
नरेटी पनि भाकै छैन यहाँ,
कबिताहरुको इजलासमा
एउटा अर्को अपराध नगरी भाकै छैन
किनकी जिउँदो छोड्ने बित्तिकै
पिंजडे मन्त्रीको दबाबमा
बिबिधता नरुचाउने अदालतहरुले
उल्लाई बेकसुवार ठहर गरि
रिहाईको फैसला सुनाउने छन् ।
तसर्थ,
कबिताहरुका आवाजहरुले ल्याउँदै गरेको
महाभिषण हावा हुण्डरीमा
मेरो कबिता लगायत
सम्पुर्ण पिंजडा भित्रका कबिताहरुको रक्षार्थ
उभिनुछ अडिक भएर
मर्नुबाट बचाउनु छ
कबिताहरुलाई ।
(५ जुलाई २०११, फार्नबोरो)
(स्रोत : Sunuwar.org )