~राजु क्षत्री “अपुरो”~
उसलाई नोकरी गर्नुभन्दा व्यापार गर्ने भित्री इच्छा थियो । तर, कुन व्यापार गर्ने भन्ने निर्णय लिन सकिरहेको थिएन । सर्वेक्षण गर्दा एउटा सहरको केन्द्रबिन्दु मानिने ठाउँमा होटेल चल्न सक्ने सम्भावना देख्यो ।
उसले आफ्नो झिटीझ्याम्टो धितो राखेर होटेल थाप्यो । होटेल राम्रै चल्यो । तर, उसले पायो कि उसका ग्राहकहरू भनेका केबल धनी घरमा मान्छेहरू मात्र हुन् । महँगो घर भाडा अनि होटेललाई चाहिनु पर्ने सामग्री अति चर्को मूल्यमा किन्नुपर्ने हुनाले उसको होटेल तुलनात्मक हिसाबमा अरूको भन्दा महँगो थियो । यसो भनौँ, उसको होटेल गरिबहरूको लागि पहुँचभन्दा बाहिर थियो ।
उसलाई लाग्यो, ऊ गरिबहरूमाथि अन्याय गरिरहेको छ । तसर्थ, उसले त्यही होटेलमा अर्को साइनबोर्ड पनि लगायो । तर, त्यहा मान्छेहरू पस्नै गाह्रो माने । नियमित ग्राहकहरू पनि दिन प्रतिदिन घट्दै गए । उसले त्यो साइन बोर्ड फेरि हटायो । होटेल फेरि चल्न थाल्यो ।
त्यो हटाइएको साइनबोर्डमा लेखिएको थियो, ‘यहाँ गरिबहरूको लागि भारी छुटको व्यवस्था गरिएको छ ।’
(स्रोत : सौर्य दैनिक)