कविता : नयाँ जीवनको खाका

~राजेन्द्र तारकिणी~Rajendra Tarakini

(सायद मान्छेले धरतीलाई पिलाइदिएको थियो–
एक शिशी विष
र, धरती बहुलायो–
नियम उल्टापुल्टा परे
बाङ्गाटिङ्गा तरङ्ग विनाश प्युँदै आए
जीवन टुक्रिए/आशा चुँडिए
सपना कच्याककुचुक परे)

कति खरानीमय बगर मात्रै हेरिबस्नु अब ?
कति मृत्युहरूको मात्रै सनाखत गर्नु ?
भग्न वस्तीमाथिको प्रकृतिको चटके डायरीमा
कति जिन्दगीको धिक्कार मात्र लेखिरहनु ?

ए, कोही त चम्काइदेऊ–
कालो बादलुमा आशाको बिजुली
कसैले त भनिदेऊ–
धरतीमा वसन्त मरेको छैन !
माहुरीले कर्मगीत भुलिसकेका छैनन् !

हवाले सास फेर्न बिर्सेको छैन,
पृथ्वीको नाडी बन्द भइसकेको छैन,
समयलाई हार्टअट्याक भएको छैन,
सभ्यता अल्जाइमरग्रस्त छँदै छैन–
किन जीवनहरू पलाउन अस्वीकार गरिरहेछन्,
आकांक्षाको बत्ती बल्न किन हिच्किचाइरहेछ ?
किन नयाँ जोश, सीप बोकेर
निर्माणका पाखुरीहरू चल्न लजाइरहेछन् ?
किन मनहरू हरबखत मुर्झाइरहेछन् ?

मान्छेहरू किन केही नयाँ सोचिरहेका छैनन् ?
कि गुराँसहरूको रङ्ग निख्रिसक्यो ?
क्षितिजहरूले नयाँ लाली पोत्न बिर्सिसके ?
कि फाइटर चट्टानहरूको चपेटामा परेको घाम
बादलुको डोरीमा झुण्डेर मरिसक्यो ?
खण्डहरमा चमेलीसपनाहरू पुरिँदैमा
सृष्टिको सुगन्ध नै गायब भइसक्यो ?

ए, न्युरोनहरू मरिसकेका छैनौ भने–
किन एकोहोरो शोकधुन मात्रै सुनिबस्छौ ?
जताततै कालो मृत्युछायाँ मात्रै देखी तर्सन्छौ ?
ऊ…, त्यो नयाँ मोडतिर हेर–
त्यहाँ नयाँ उज्यालो छ,
नयाँ जीवनको खाका छ,
तिमीलाई पर्खी बसेको अबेर भइसक्यो ।

जीवन थियो
र त मृत्यु भयो ।
(खेद छ हामीलाई–
हामी अस्तव्यस्त थियौँ,
हामी निरीह थियौँ,
हामी निर्बलिया थियौँ,
मृत्यु निर्विकल्प भैदियो)
तर जीवनहरू सब ठुटा भइसकेका छैनन्
हाम्रो धरतीको गर्भ
सदाका लागि बाँझिइसकेको छैन !

ए !
प्लाष्टर नगरिएका समयका हातहरू,
जिब्रो नथुतिएका हवाका ओठहरू,
खुट्टा नभाँचिएका प्रकृतिका नटहरू,
कृपया, फेरि रेट सृजनाका सारङ्गीहरू
फेरि रच जीवनका मारुनी गीतहरू
फेरि नाच उमङ्गका भङ्ग–भङ्गिमाहरू !

यहाँ कोर्नु छ फेरि
नयाँ जीवनको खाका !
-0-

(साभार : नागरिक दैनिक; शनिबार, २ जेठ, २०७२)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.