कविता : विडम्बना

~क्षेत्र प्रताप अधिकारी~Chetra Pratap Adhikari

धेरै नदीहरू जन्माएर
तिर्खाएको देश
खडेरीले हिर्काएको देश
बाढीले तानेको
पहिरोले हानेको
अभागी देश
संसारमा कतै छ भने
त्यही विडम्बना हो मेरो देश ।

धेरै जलाधारमा
धेरै बिजुली बगाएर
लोडसेडिङ्मा सुतिरहेको
एउटा अन्धकार देश
जगत्मा कतै छ भने
त्यही अँध्यारो हो मेरो देश ।

शिरमा हिमाल उठाएर
छातीमा पहाड थुम्थुम्याएर
काखमा तराई सुताएर
होचिएको
सुकेको
र, भोकाएको
असफल देश
धरतीमा कतै छ भने
त्यही दुर्गति हो मेरो देश ।

जहाँ सुन्दर रारा छ
र, रारामुन्तिर सारा
अभावहरू व्याप्त छन्
अनि जहाँ बुद्ध छ
बुद्धको बस्तीमा युद्ध छ
र, आचारविचार लाचार छन्
भ्रष्टाचार सदाचार भा’छ
त्यही पीडा हो मेरो देश ।

जहाँ लोकले हराएको मान्छे
नेता हुन्छन्
मन्त्री बन्छन्
र, लोकतन्त्रको कुरा गर्छन्
अनि, जहाँ
संविधान कहिल्यै बन्दैन
र, बन्दैन कोही पनि भन्दैन
त्यही दुर्भाग्य हो मेरो देश ।

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक ४५० )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.