कविता : म

~चेरेहामसो क्याबा~

आफनै बारीमा उम्रिएर
उत्तर, दक्षिण, पुर्व, पश्चिम,
कतैको बाछिटाले नभिजी
झरौ राष्ट्रियताको भावनाले सिँचिएर
खाँटी राष्ट्रियताको ओतमुनि हुर्किएर पनि
कहिले बादशाहहरुका
तरवारले काटिएर
कहिले बारुद र छर्राहरुले
छिया छिया पारिएर
कहिले लेवालीहरुलाई
भि.सी. तक्माहरुमा बेचिएर
इतिहासको पानाहरुबाट
हराएको म
यो शहरमा
यो नगरमा
कुनै पनि आस्थाका
झण्डामुनि नअटाएर
आफनै वस्तीमा
आफै हराएपछि
लाखौ अतृप्त भक्तजनहरुलाई
तृप्त पार्न असक्षम
पशुपतिको शिवलिङ्ग जस्तै
केवल एक भोटको बाजीमा
पुरै जिन्दगी हारेर
सडकको किनारामा ठिङ्ग उभिएको
सबैले विर्सिएको
शहीदको शालिक भएको छु ।

चेरेहामसो क्याबा
खिँची निभारे, ओखल्ढुंगा
June 23rd, 2011

(स्रोत : Sunuwar.org)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.