कविता : दास

~उज्ज्वल जी.सी.~ujjwol-gc

‘नून’ खाने कुखुराहरू
झोक्रिन्छन्/लठ्ठिन्छन्
र,
सम्भवतः मर्छन् पनि
विवेकशून्य/चेतनाशून्य
विचरा ती कुखुराहरू
अनायास ‘नून’ खाँदै
थला पर्छन्
तर,
हामी मानिस
अर्काको ‘नून’ पाए
‘सुन’ सम्झेर खान्छौँ
टन्न खाएपछि –
झोक्रिदैनौँ/लठ्ठदिैनौँ
बन्छौँ बरु –
स्वाभिमानी —
र त,
मालिकले –
‘उठ्’ भन्दा उठ्छौँ
‘बस्’ भन्दा बस्छौँ
कसैैलाई –
‘ठोक्’ भन्दा ठोकिदिन्छौँ
कसैलाई –
‘मार’ भन्दा मारिदिन्छौँ
गजब बन्छौँ हामी
कालोलाई ‘सेतो’ भन्दा
हो हजुर !
सेतोलाई ‘कालो’ भन्दा
हो हजुर !
अर्थात्,
हामी नकार्दैनौँ- असत्यलाई
‘नून’को शिकार भएपछि
हामी –
सत्य बिर्सदैं
न्याय बिर्सदैं
बन्छौँ एक ‘तालिमे कुकुर’जस्तै
विवेक र चेतना
पुच्छरमा हल्लाउँदै
मालिकको स्यावासी लिने ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.