~राजकुमार श्रेष्ठ ‘दीप’~
भाग्य खोज्दै भौतारिँदा आफैलाई हराएछु
लौ न मेरा आफन्त हो, मेरो खोजी गरिदेउ ।
देउरालीको उकालीमा बर पिपल साथी हुन्थे
दोबाटोमा अलमल परे सेता हिमाललाई चुन्थेँ
बर पिपल हिमचुली छैनन् यहाँ कुनै छेउ
लौ न मेरा आफन्त हो, मेरो खोजी गरिदेउ ।
अाफ्नो देश जस्तो कहिल्यै परदेश हुन्न रहेछ
रगत नै देऊ निचोरेर मन कसैको छुन्न रहेछ
कोही चिने जस्तो लाग्छ, हुन्नन् तर पुग्दा छेउ
लौ न मेरा आफन्त हो, मेरो खोजी गरिदेउ ।
भाग्य खोज्दै परदेशमा आफैलाई हराएछु
लौ न मेरा आफन्त हो, मेरो खोजी गरिदेउ ।
(२८ मे २०१४, लण्डन)
(स्रोत : सत्यतथ्य मासिक)