~राजेन्द्र थापा~
यो मेरो जिन्दगी
वाह कस्तो जिन्दगी
जिन्दगीभित्र अल्झेको जिन्दगी
जिन्दगीभित्र बल्झेको जिन्दगी
फुकाउन नसकिने गाँठो परेको
यो मेरो जिन्दगी वाह कस्तो जिन्दगी
प्रत्येक बिहान म उठेर
फुकाउन खोज्दछु गाँठो जिन्दगीको
अझ दिनभरि सुल्झाउन खोज्छु
बाटो जिन्दगीको
साँझ परेपछि
बाँधिन्छु जालमा जिन्दगीको
अनि छताछुल्ल भई
पोखिन्छु, रातमा जिन्दगीको
बिस्कुनझंै छरपस्टिन्छु
सपनामा जिन्दगीको
यो मेरो जिन्दगी
वाह कस्तो जिन्दगी
बुझ्नै नसकिने
यो मेरो जिन्दगी वाह कस्तो जिन्दगी
के तपाईंले बुझ्नुभयो ?
यदि बुझ्नुभयो भने
छरपस्टिएको जिन्दगीलाई उठाई
दुपटाको छेउमा पोको पारे हुन्छ
सारीको आँचलमा गाँठो पारे हुन्छ
त्यति नभए पाइन्ट सर्टको खल्तीमा राखे हुन्छ
त्यसपछि म भोलि बिहान उठेर
एउटा नयाँ जिन्दगी खोज्नेछु
मनपरेकोलाई रोज्नेछु
यो मेरो जिन्दगी…
(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिक – “इन्द्रेणी”)