कथा : फेसबुकमा एउटा अनुहार

~धनबहादुर खड्का~

गुड मर्निङ सबैलाई !

सँधै झै आज पनि मोरीले बिहान ५ बजेको छैन फेसबुकमा औपचारिक हार्दिकता बाँड्न भ्याई सकिछ। मैले त करिब ८ बजेतिर नेट खोलेको, फेसबुकको भित्तामा देखिएको समयको आधारमा उसले कमेन्ट गरेको समय थाहा पाएको हुँ। फेसबुक सामाजिक नेटवर्किङ भएकाले सायद उसले यो म्यासेज धेरैका लागि छाडेकी हुनसक्छे, जति उसको नेटवर्कमा आवद्ध छन्। सायद यी सबैका लागि थियो यो म्यासेज। तर मलाई केही दिनदेखि उसले लेखेका प्रत्यक सन्देश मेरा लागि लेखेकी हो भन्ने महशुस हुन थालेको छ। उसका प्रत्यक सन्देशको कमेन्ट गर्ने मेरो दिनचर्या नै बनेको छ। ऊ पनि ते के कम मेरा प्रत्यक म्यासेजको रेस्पोन्स गरिरहेकै छे।

उसका म्यासेजमा मैले र मेरा म्यासेजमा उसले कमेन्ट गर्ने हुनाले हाम्रो सम्वन्ध पनि धेरै अगाडि बढेको हुनसक्छ वा मलाई मात्र त्यस्तो लागेको हुनसक्छ। कहिलेकाही उसको यो निकटताले मलाई यति भावुक बनाईदिन्छ कि म उसका लागि के के लेखिदिन्छु,के के? जब मेरो सञ्जालमा रहेका अरु साथीले यो कसका लागि के लेखेको भनेर कमेन्ट गर्छन्, त्यसपछि झल्याँस्स ब्युँझन्छु हो है यो त सामाजिक नेटवर्क पो त † कहाँ मेरा भावना उनले मात्र पढ्छिन्? यही भावनाको सागर डुबेर मैले उनका लागि यतिसम्म लेखेको छु जुन त्यतिबेलाका कुरै छाडौं, अहिले सम्झिँदा पनि म एक्लै लाजले रातोपिरो हुन्छु।

मैले त्यो सम्झिएको जुन दिन उसले मलाई आफ्नो फेसबुक सञ्जालमा एड गरेर मलाई पनि म्यासेज पठाएकी थिई। मैले पनि उसको आग्रहलाई नरोकी स्वीकारे। यसै त फेसबुकमा राम्री केटीको फोटो देख्यो कि एड गरिहाल्ने बानी छ, सायद यो मेरो मात्र बानी होइन केटीको पनि त्यस्तै हुनेरहेछ मैले त्यस्ता धेरै केटीका मलाई एड गरिएका म्यासेज पाएको छु। हुन त वास्तवमा म हेर्दा धेरै ह्यान्डसम मान्छे होइन तर नेपालको नं १ ग्ल्यामर फोटोग्राफर राजीव श्रेष्ठले खिचेर बनाएको फोटोले युवतीहरु लोभ्याउन सहयोग नै गरेको थियो। यही कारणले पनि मेरो फेसबुक सञ्जालमा केटाको भन्दा बढी केटीको संख्या छ। हो त नि म भन्दै थिएँ उसलाई मैले मेरो सञ्जालमा एड गरेदेखि मेरो नेटमा बस्ने समय पनि दोव्वर बढेको छ। अहिले त उसैको सन्देसको कमेन्ट गर्नमात्रै पनि विहान ६ बजेदेखि बेलुका नौबजेसम्मै म फेसबुकमा म अपडेट छु। मेरो फेसबुक साइटमा मैले बच्चामा गोठालोसँगै गएर बनेका साथीदेखि अहिले जागीरको सिलसिलामा बनेकासम्म छन् तर ऊ नै मेरा लागि विशेष साथी बनेकी छ। किनकि उसले मेरा साइटमा एड गरेदेखि सवैभन्दा बढी केयर गरेकी छे। त्यसैले म पनि उसँग नजिकिएको छु।

उसका बारेमा मलाई धेरै केही थाहा छैन। मात्रै उसले फेसबुकमा लेखेको सानो वायोग्रफि पढेर अलिकति जानेको छु। त्यो झुटो विवरण पनि हुनसक्छ। तर जेसुकै होस् के मतलब मलाई, राम्री छे, उसका ६० भन्दा बढी फोटाहरुमा उसको सुन्दरताको निखार छ। जून तस्वीर हेरपनि हेरीरहौं लाग्ने। उसँग मेरो फेसबुकमा भेट भएको आज ठ्याक्कै वार्षिकी पुगेको छ। उ पनि काठमाडौंमै छे म पनि। तर हामी फेसबुकमै यतिन्जेल रमाएका छौ. हामीलाई फेसबुकमा एक अर्काको स्टाटस कमेन्ट गर्दा नै वर्षौँका साथीझैं नजिक बनाएको छ। हामी आज दिनभरी जाने ठाँउ गर्ने कामदेखि वेलुका के गरियो भन्ने सम्मका शेयर गर्ने अवस्थामा पुगिसकेका छौं। किन किन आजभोली त फेसबुक हाम्रै लागि बनाएको महशुस हुन थालेको छ। एकवर्षको यत्रो लामो समय वितिसक्दा पनि हाम्रो भेटचाहिं हिजै भएको महशुस भईरहेको छ। त्यसैले अहिलेसम्म्म हामीले भेट्ने इच्छा जाहेर कसैले गरेका छैनौं।

आज अफिस आउन नै ढिला भयो, मोवाइलमा बिहानदेखि ट्राई गरेको फेसबुक कनेक्ट नै भएन। फेसबुक खोल्छु, १० वटा म्यासेज। कता हराएको? भनेर छोडिछे। म्यासेज पढेरे उत्तर लेख्दै थिएँ, अनलाइनमा टुपुल्कीहाली

ओई के छ? कता हराएको? यतिन्जेलसम्म म्यासेज रिप्लाई नगर्ने? प्रश्नका ओईरा वर्षाई।

ठिकै छ यार। अनि कता?

‘अफिसमा’ उसको उत्तर।

किन ढिलो तिमी?

‘सरप्राइज दिउँ भनेर।’ कुरा मिलाएँ।

केको सरप्राईज?

हाम्रो फ्रेण्डसिपको एक वर्ष पुगेकोमा।

हो है † उसले भनी कति चाडै समय वितेछ। ठ्याक्कै मेरोजस्तै महशुस उसलाई पनि भएछ।

एं……… तिम्रो नम्बर कति? उसले थपी।

हँ ? म झस्किएँ। तिम्रो कति नि? दुवै मरीमरि हाँस्यौ, एकवर्षसम्म एक अर्काको मोवाइल नम्वर नलिएकोमा अर्को अचम्म थपियो। आज विहान मात्र फेसबुकमा म नदेखिएपछि उसलाई छटपटी भएछ, मोवाइल नम्वर लिएको भए फोन गरेर सोध्न पाइन्थ्यो भन्ने।

नम्वर साटासाट गर्‍यौं।

नम्वर त लिइ नै हाल्यौं, अब भेट पनि गर्ने कि? मैले थपें।

अं………… कहिले?

आजै वेलुका अफिस सकिए पछि, हुन्छ?

अलि विजी छु, भोलि भेटौं न उसले भनी।

भइहाल्छ नि, मैले पनि सहज उत्तर दिएँ।

कहाँ?

दरवारमार्ग

हुँदैन, मेरो अफिस त्यहीं हो स्टाफ भेटिन सक्छन्।

अनि कहाँ?

ठमेल,

हुन्छ। कतिवेला?

वेलुका साढें पाँच बजे। रिमझिम रेष्टुरेन्ट अगाडि।

मैले हुन्छ भनें।

यतिन्जेलसम्म सहज प्रतिक्रिया थियो। जब उ अफलाइन भई मेरो कौतहुलता र धड्कन एक्कासी बढ्न थाल्यो। कस्ति होली? साँच्चै उसको नजरमा म कस्तो लाग्छु होला? दिनभर अफिसको कामवाट फुर्सद भयो कि कल्पनामा डुविहाल्ने बनायो। वेचैनी पनि त्यस्तै बढ्यो। राति निद्रा पनि हत्तपत्त आएन। अर्काे दिन विहानै उठेर उही नृत्यकर्मतिर लागियो। जाडो बढेको महशुस भयो। यसपाली दशैंमा घर नगएकाले नयाँ ज्याकेट पनि किनेको थिइन। पुरानैले काम चलाईरहेको थिएँ, आज एउटा नयाँ किन्नुपर्लाजस्तो लाग्यो। किनकि वेलुका म एकवर्षसम्म कम्तिमा १ हजार घन्टा टाइम दिएकोलाई भेट्दैछु। अझ फस्ट इम्प्रेसन इज लाष्ट इम्प्रेसन पनि भन्छन्। न्यूरोड गएर एउटा ज्याकेट किनियो पनि। यो उपयुक्त अवसर पनि भयो नयाँ लुगा फेर्ने।

उसलाई कतिवेला भेटौं भनेर मन वेचैन भएकाले आज अफिसबाट १५ मिनेट अगाडि नै निस्किएँ, ठमेल पुग्दा सवा पाँच मात्र भएछ। फोन गरें, उसले नै भनी म त आईसकें कता हो तिमी?

म पनि आइसकें –मैले भनें?

उसलाई पनि मलाई जस्तै भएछ। १५ मिनेट अगाडि नै पुगिसकिछ। यसो वाटो हेरें। मेरो कल्पनामा बनाएको इमेजजस्तो कुनै केटी देखिनँ। दुई चार जोडी खेरै मात्रै थिए हात समाएर हिडिरहेका। अनि दुइचारजना वुढी आइमाई पनि देखिए, बाटोमा। मैले उसलाई हिमालयन वैंक अगाडिनेर छु भनेर भनेको थिएँ कोही मलाई हेर्दै आउँछ कि भन्ने लागेर बाटो हेरें कतै देखिनँ।

फेरि फोन गरें।

कुनापट्टी एउटा अधवैंसे आईमाईको घन्टी पनि सँगै बज्यो। हेलो भनेको उ पनि हेलो भन्छे।

कस्तो नेटवर्क जुधेको? फोन काटीदिएँ।

फेरी गरें, उही उठाउछें, खत्तम भएछ टेलिकम भन्दै फेरी फाने काटें।

मेरो मोवाइलको रिङ बज्यो, हेरें त्यही बुढीले मोवाइल कानमा लगाईरहेकी छे, जे पर्ला उठाउन त भनेर उठाएँ हेलो भनें यति के भनेको थिएँ। उ देखें, देखें भन्दै मतिर आई।

मलाई सोधी– तपाई नै हो डिबि?

हो भनें।

ए……..ए उसले भनी।

मैले त चिनिन नि – मैले भनें।

म शौरभी क्या– चेपारे लगाएर छिल्लीई, वास्तवमा त्यो उसको छिल्लाई एकदम असुहाउदिलो लाग्यो।

म अवाक भईसकेको थियो। फनक्क फर्केर हिडौंजस्तो लागेको थियो तर धैर्य गरें।

जाउँ अब– उसले भनी।

कहाँ?

रेष्टुरेन्टमा हिजो भनेको होइन।

हो, उसले हात समाई म पछि लागें।

म नर्भस भएर यति वेचैनी भएको थिएँकी कहाँ पुगंे भन्ने पनि आफैलाई थाहा थिएन। रेष्टुरेन्टमा पुगेर उसले केके अर्डर गरी, अनि मतिर हेरेर भनी के लिन्छौं?

पहिला हट कफिमात्रै लिउ– मैले ओपचारिकता निभाएँ। मनभित्र कतिवेला यो बुढीलाई छोडेर हिडौं भइसकेको थियो। उसले मेरो मनोदशा थाहा पाइछ क्यारे।

के हो च्याटमाजस्तो रमाईलो कुरा भेटमा गर्दैनौं त?

मलाई गिज्याएजस्तो लाग्यो।

तैपनि सम्हाल्दै भनें– केही कुरा स्टार्ट भएकै छैन अनि?

उ हाँसी……….. हाँस्दा पछाडिका दाँत झरेको स्पष्टै देखियो।

उसले सोधेका प्रत्यक प्रश्नको उत्तर एस नो भनेर मात्रै दिएँ। उसको बारेमा केही सोध्न मन त थिएन तर सोधि हेरें। भुपु लाहुरेकी स्वास्नी रहिछ। श्रीमान रिटायर्ड भएर पोहोर मात्रै खसेछन्, एउटा छोरा र एउटा छोरी रहेछन्, छोराले बेलायतमै विहे गरेर उतै बसेको रहेछ। छोरीले पनि उतैको कुइरेसँग विहे गरि रे अस्ति मात्रै। यहाँ नेपालमा एक्लै रहिछे। श्रीमानको पेन्सनको रकमले जीविकोपार्जन गरिरहेकी, आदि इत्यादि।

अन्तमा सोधें?

फेसबुकको फोटो कसको हो?

मेरै हो।

होइन होला?

हो करिब २० वर्ष अघि बेलायतमा खिचेको।

हो र?

रात घर्किदै थियो घडि हेरको नौ बजिसकेछ। अब जाँउ क्यारे म उठ्दै भनें।

कहाँ?उसले सोधी।

आ–आफ्नो घर, मैले भने।

उसले अत्तालिएको स्वरमा भनी मेरोमै जाँउ न आज।

फन्दामा परिएछ जस्तो लाग्यो। अब उम्किने उपाए खोज्नैपर्ने भयो। मैले उपाय झिकें।

हुँदैन, बुढी रिसाउँछे।

बिहे गरेको छैन भन्थ्यौ त? उसले प्रश्न गरी।

ढाँटेको, छे नि बुढी – मैले भनें।

खै अहिलेसम्म फोन नै गरेकी छैन त उसले खोचे थापि।

मैले आज अफिसमा अवेरसम्म मिटिङ नै हुन्छ तर आउँछु भनेको छु।

ए……….. ए

म गएँ, उ उभिएकी उभियै भई।

बिल मागें। पाँच हजार भएछ। मैले त एक प्लेट मम र कफि मात्रै लिएको थिएँ, त्यही बूढीले बिताइछे सबै। म पैसा तिरेर बाटो लागें। बाटोभरी गमें आजसम्मको समय र पैसा त्यत्तिकै खेर फालिएछ। कोठामा गएर फेरि सुत्ने बेला मोबाइलमा फेसबुक खोलेर हेरें घर पुगेर पनि कमेन्ट गरिसकिछ, हेरे उही तस्वीर थियो तर कुरुप लाग्यो त्यो तस्वीर, एक वर्षसम्म दिलमा सजिएको त्यो तस्वीर आज एक्कासी दिलमा रोपिएको काँडाजस्तै भएछ। यताउता नहेरी सिधा इडिटमा गएर उसलाई साथीको सूचिबाटै हटाइदिएँ।

(स्रोत : Mysansar.com)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.