~सुरेशराज वैद्य~
नसोचेको काम पनि गर्नुपर्छ कहिलेकाहीँ
अनजान यात्रामा बढ्नुपर्छ कहिलेकाहीँ
भन्नेहरू भन्दै गरून् काम नै के छ र ?
नसुनेझैँ चुपचाप बस्नुपर्छ कहिलेकाहीँ
कोही भन्छ कर्म ठूलो त कोही भन्छ भाग्य
ढुङ्गालाई पनि ईश्वर भन्नुपर्छ कहिलेकाहीँ
खुसीमा सब रमाउँछन् दुःखमा चाहिँ रुने किन
आँसु पनि बाँच्ने आधार बन्नुपर्छ कहिलेकाहीँ
फूल मात्र होइन जीवनमा काँडा पनि हुन्छ धेरै
चोट पनि हाँसेर सहनुपर्छ कहिलेकाहीँ ।
(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिक – “इन्द्रेणी”)