~रामचन्द्र खतिवडा~
अहिलेका युवालाई वैदेशिक रोजगारले खूब तानेको छ । उनीहरू ठूलै सपना बोकेर खाडी मुलुक जान्छन् ।
नरे पनि यस्तै सपना बोकेर साउदी अरब गयो । दस वर्ष त्यहाँ बस्दा पनि उसले केही कमाएन । त्यहाँ उसले कुकुरले नपाएको दुःख पायो र रित्तो हात गाउँ फक्र्यो । गाउँमा उसको साथी श्याम बङ्गुर पालन गरेर करोडौँको मालिक बनेको थियो ।
नरेले श्यामलाई भेटेपछि आफूले विदेशमा भोगेका दुःखका कुराहरू बतायो । जबाफमा श्यामले भन्यो– “के गर्छौ साथी ? तिमीलाई हामी दुई मिलेर यही बङ्गुर पालन गरौँ भनेकैँ थिएँ । त्यस बेला विदेशमा के के नै पाइन्छ भनेर तिमीले मानेनौ ।”
नरेले आँखाभरि आँसु पारेर भन्यो– “रोजगार त हाम्रै देशमा पाइने रहेछ ।”
(स्रोत : सुरभि साहित्य प्रतिष्ठानद्वारा प्रकाशित रामचन्द्र खतिवडाको “दमिनी कान्छी” लघुकथा सङ्ग्रहबाट सभार)