कविता : भुसको आगो

~अतित मुखिया~Atit Mukhiya

आत्मिय मित्र,
तिमीमा भुसको आगो
भित्र भित्रै सल्किएछ
मैले तिम्रो ब्यवहारमा
धुवाँ उठेको यादै गरिन ।

अरुसामु तिम्रै बखानगर्दै निस्फिक्री
तिम्रै प्रगतिमा रमईरहे म
तिम्रो सफलतामा आनन्दित भैरहे म
तर त्यो आनन्दमा उल्टै
तिम्रै कालो नजर लागेको पत्तै पाइन ।

सुजेरो भित्रबाटै
कतर्नु चलाएछौ खुसुक्कै
मेरो भोटोको पछाडी पाटो
धुजा धुजा भएको पत्तैपाइन
अरुका सामु आफु
गाइजात्रे पुरसुङगे बनेको थाहैपाइन
दर्शकका कानेखुसी हाँसो
मैले ठानीरहे
त्यो हाम्रो प्रगाढताको प्रतिकृया हो ।

तिम्रो उज्वलताका लागि
म बाती भै प्रज्वलित बनिरहदा
थाहैनदि तिमीले हुरी निम्ताएछौ
म निभेँ,
र मेरो निभ्नुसंगै
तिमीपनि अन्धकारमय बनेकाछौ
स्तभ्द र भयभित भएकाछौ
बिनासित्ती तिमीले
टुप्पामा बसेर फेद गिँडने दुष्प्रयाश गर्‍यौ ।

मित्र तिमी,
भुसको आगो
भित्र भित्र सल्किएछौ
मैले तिम्रो ब्यवहारमा
धुवाँ उठेको ख्यलैगरिन ।

अर्थ :
सुजेरो – उहिले ग्रामिण सुचिकारहरुले सियोधागो र कतर्नु जस्ता सामान बोक्ने स्यानो झोला ।

अतीत मुखिया
फूलबारी टोल, कोटेश्वर

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.