लघुकथा : निराशा

~पुष्पा खनाल~Pushpa Khanal

पैसाको बजारमा रहर बिक्ने ठाउँ हो यो, मेरा मूल्यहीन रहरहरूको पसल म किन थापुँ ? अब म चाहन्न दानस्वरुप प्राप्त भिक्षा थापेर बाँच्न । किनकि जिन्दगीका हर भोगाइहरूले बाँच्नुका सार्थकता बिसाइदिएको छ । अब मेरो जिन्दगी उजाड भैसकेको छ; डढेलो लागेको वनझैं जहाँ वर्षौंसम्म पनि हरियालीको आशा गर्न सकिंदैन । मैले मेरा कैयौं उर्वर वशन्तहरू तिमीलाई सम्झेर बिताएँ, तिम्रो लागि बिताएँ, तिमीलाई असाध्यै माया गरेर बिताएँ । सायद यही नै ठूलो भूल गरें मैले । तर एउटा कुरा थाहा पाएँ, लोग्नेमान्छेलाई माया गरेर कहिल्यै पनि आफ्नो बनाउन सकिंदो रहेनछ ।

मेरी आमा भन्ने गर्नुहुन्थ्यो–“नानी लोग्नेमान्छे कहिले पनि आफ्नो हुँदैन, नाता त केवल आफ्नो स्वार्थको लागि जोड्छ, जब स्वार्थ पूरा हुन्छ त्यसपछि बल्ल आफ्नो सक्कली रुपमा देखा पर्छ । त्यसैले बिर्सेर पनि लोग्नेमान्छेलाई विश्वास नगर्नू र मनका कुरा शेयर नगर्नू ।” आमाका अमृत वचन त्यसबेला मैले बुझ्न सकिन किनकि म अन्धो भैसकेकी थिएँ तिम्रो प्रेममा । जब वास्तविकता थाहा पाएँ आज प्रत्येक गाँसमा आमाका बचन अड्कने गर्छ अनि आशुँ बनेर पश्चाताप बग्न थाल्छ आफैंलाई अझ कमजोर बनाउँदै । चपाएर फ्याँकेको चुइगम झैं भएँ म । हावा नै नचली फूल झर्यो ।

पुष्पा खनाल
म्हेपी, काठमाडौं

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.