~टंक वनेम~
जिम्मेवारीको आरानमा बसेर
शक्तिको धारमा धार नअर्जापे पछि
बाँधले पानी बाँधेको बाँध्यै छ
पानी उधोँबाट उभोँ बगेको बग्यै छ
राप्तिको जलकुण्डमा
निराशाको कमल फुलेको फुल्यै छ
कोसीले धार फेरेको फे-यै छ
लक्ष्मण बाँधको पर्खालले
चुनौतिको शिखर ठढाएको ठढाएकै छ ।
उहिल्यै उहिल्यै
उभोँबाट पानी
उधैँ उधोँ बगेर जान्थ्यो
तर वर्तमान
उहिल्यैको कथा जस्तो छैन्
त्यो पारिबाट आउने
वर्दीवाल बुटको आवाजसँगै
धमीलो पानी उकालो चढ्छ
घरबार मात्र डुबाए हुन्थ्यो
मनै चुर्लुम्म डुबाएर
एक तमाशले संगिनको मूच्र्छना सुनाउँछ
हो साँधहरुमा अचेल
यस्तै संवेदनाका झ्याङ्गहरु झ्याङ्गी रहेकाछन्
सगरमाथा अग्लो भए पनि
स्वाभिमानको स्तम्भहरु
स्वात्तै होचिएका छन
त्यहीँ होचा स्तम्भहरुमा
होचिनुको अक्षर लेखिँदैछ ।
त्यहीँ घाम त्यहीँ जून
त्यहीँ खोलाबाट सिञ्चित प्राणहरु
र हामी जस्तो छौँ
उस्तै उस्तै मान्छेहरु
देशको नाममा सीमा बाँधेर
हाम्रो मन हाम्रो भविष्य
अनि
भएको यहीँ एउटा भौतिक शरीर
चुर्लुम्म डुबाउँदै
सिमानाले सास्ति भोगाई रहेछ ।
कस्तो हुन्छ त सिमानामा बाँच्न ?
कसैले प्रश्न ग-यो भने बुनिया भन्छिन्
असुरक्षित छ माड्साब
दिन दहाडै आइ.एस.बीहरु आउँछन
इज्जत भन्न पाइन्न
पाकेको बालीमा हक लाग्दैन्
डाँका र लुटेराहरुको डरले
अनिदै रात कटाउँनु पर्छ
बाँधका ढोकाहरु बन्द भएकि भनेर
खोलाको गति हेर्नु पर्छ
यस्तै सास्ति भोगेर
देसको सिमाना रुङ्गी रहेका छौँ
तर खोई
चार भञ्ज्याङ बस्ने
बाबु साहेबहरुले सोध्न भ्याएका छैनन्
कहाँ बग्यो पानी ?
कहाँ ठढ्यो पर्खाल ?
कहाँ ढल्यो जङ्गे पिलर ?
कहाँ दुख्यो नेपाली मुटु ?
किन लुटिँदैछ मुनिया र बुनियाहरुको इज्जत ?
कस्ले भोगाउँदैछ यस्तो
सिमानाको अतिक्रमण सास्ती ?
त्यसका बाजे
फेरि पनि
दोलाखाको भिमसेनलाई पसिना आयो रे !
थाहा छैन् अब के हुने हो ?
(स्रोत : सत्यतथ्य मासिकको फेब्रुअरी २०१४ – अंक ५, वर्ष २)