~डा बमबहादुर थापा ‘जिताली’~
साहित्य र समाजवादी विचारको मर्म
सय वर्ष बाँचेका छन् तिम्रा दुवै कर्म
आज तिम्रो सम्झनामा बत्ती बालिदिन्छु
विसङ्गति, विकृतिको हात्ती फालिदिन्छु ।
विवेकी ती विचार छन् आजभोलि लुला
आफैं मात्र धनी बन्ने नेता भए ठूला
दुवै हातमा लड्डु दिने विचार तिम्रो थियो
समाजवादी प्रजातन्त्र आज किन खियो ?
उन्नति र शान्ति थिए माछा-पानी जस्तै
“माछो-माछो भ्यागुतो” छ ऐले पनि उस्तै
राष्ट्रवादी तिमी थियौ विकासको गति
तिम्रो बाटो लिनछाडे नेता भए जति ।
विकृति र विवादले नेटो काटेको छ
गरिबीको परिधिमा भोटो फाटेको छ
तिम्रो तन्त्र-मन्त्र थियो संसारमा बेश
राष्ट्रवादी नेता खोजी हिंडेको छ देश ।
दिनदिनै राष्ट्रियता खस्टाएको देख्छु
विसङ्गति, विकृति यो फस्टाएको देख्छु
तिमीलाई सम्झिएर देश अडेको छ
तिमीजस्ता नेतामाथि माया गडेको छ।
थिए तिम्रा सिद्धान्त र व्यवहार अग्र
खिएका छन् दुवै थरी अग्रहामी मार्ग
मेल छैन नेताबिच सहमति छैन
समावेशी कुनै त्यस्तो गतिमति छैन ।
सङ्घीयता सङ्कटले संविधान छैन
एकताको विकटले मिलेमतो छैन
तिम्रा कथा, उपन्यास, फले लटरम्म
सिर्जना र सिद्धान्तमा बाँच्छौ युगौंसम्म ।
(स्रोत : मधुपर्क २०७१ भदौ)