~सरोजराज गोसाईं~
भक्तपुरदेखि सुर्खेतसम्म
आँखा र कानबीच पाँच अङ्गुलमात्र फरक भए पनि हेरेर वा सुनेर गर्ने अनुभूतिमा आकास–जमिनकै फरक छ। भ्रमणको महत्त्व यसैमा झल्किन्छ। देश बुझ्न जनतामाझ नपुगी धरै छैन। वर्ष २०६९ ले बिदाइको हात हल्लाउने बेला भएको मध्य र सुदूरपश्चिमको देशाटनले शारीरिक र मानसिक ऊर्जा पुनः ताजा बनायो।
यसपटक नेपाल मजदुर किसान पार्टी, दैलेख जिल्ला समितिले आयोजना गरेको पाँचदिने कार्यकर्ता प्रशिक्षण शिविरमा भाग लिने मेसो मिल्यो। दैलेख नगएको करिब एक दसक नाघेछ। ‘माओवादी’ द्वन्द्वकाल, २०५९ सालमा नेमकिपाले १२ दिने जनचेतना अभियान सञ्चालन गरेको थियो। ‘माओवादी’ को अराजकतावादी गतिविधि र राजाको निरङ्कुशतन्त्रविरुद्ध गाउँगाउँका सभा–जुलुससहितको अभियानका अप्ठ्यारा–सप्ठ्यारा घटना–परिघटनाबाट अद्यापि दिलदिमाग प्रतिध्वनित छ। करिब एक दसकअघिको त्यस अभियानमा सहभागी विद्यार्थी साथीहरूको उत्साह, अराजकतावादी सिद्धान्तविरुद्धका मन्तव्य, जनताको जीवनसँग सम्बन्धित सवालमा वहस, क्रान्तिचेतले भरिएको प्रत्येक देउडामा झुम्मिएका जनतामा छचल्किएको भावभङ्गिमा, गाउँका जनताको आतिथ्य, सामूहिक भोजनको स्वादको स्मरणले आज पनि उमङ्ग छाउँछ। दैलेखको मुख्य कार्यक्रमलगत्तै अछामसम्म पुग्ने र बाटोमा पर्ने सुर्खेतमा समेत पार्टी कार्यकर्ता प्रशिक्षण चलाउने पूर्वयोजना थियो। यात्रा लामै थियो, तयारी पनि त्यसैअनुरुप गरिएको थियो।
राजमार्गमा मनमानी
भक्तपुरबाट चैत ९ गते यात्रा सुरु भयो। पार्टी सचिव सुनिल प्रजापति, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका अध्यक्ष रवीन्द्र ज्याख्व र यो पङ्क्तिकार यात्राका सहभागी थियौं। पाँचदिनको प्रशिक्षण सञ्चालन गर्ने चिन्ता थियो। पावरप्वाइन्ट प्रोजेक्टर, फि्लप चार्ट, अध्ययन सामग्री, श्रव्यदृश्य सामग्री, आदि हाम्रो गुण्टामा थिए। पहिलो दिनको गन्तव्य बुटवल थियो। बिहान साढे सात बजे काठमाडौं कलङ्कीमा पुग्ने बित्तिकै हाम्रै पर्खाइमा बसेको जस्तो ३२ सीटे बस भेटियो। हामी चढेको गाडी कलङ्कीको व्यस्त सडकमा एक घण्टासम्म कहिले गुड्ने कहिले रोकिने गर्दै रह्यो। तेलको सत्यानाश ! बसहरू पङ्क्तिबद्ध हुँदा बसस्टप नै बसपार्कजस्तो हुनेरहेेछ ! सरकारको उपस्थिति नहुनुको अर्थ अराजकता हो क्यार ! टिकट काटियो। विद्यार्थी सहुलियतबारे जिज्ञासा राख्दा रवीन्द्र भाइ भन्दै थिए– ‘दाइ विद्यार्थी छुट त उपत्यकाभित्र मात्र लागू छ।’ गाडीभाडामा विद्यार्थी सहुलियत ३३ प्रतिशतबाट ४५ प्रतिशत गरिसकेपछि छुट पाउन झन् गार्हो भएको विद्यार्थी गुनासो छ। गाडीमा भाडा उठाउने व्यक्तिले आदेशात्मक पाराले भन्यो – छुट पाउन बसपार्क जाने, विद्यार्थी परिचयपत्रको फोटोकपी पेश गर्ने।’ गाडीभाडा सहुलियत पाउन सजिलो रहेनछ !
गाडीभित्रै पानी, चाउचाउ, कुरकुरे आदि बेच्नेको धुइरो लाग्यो। डेढ दसक जति अघि उपत्यकाबाहिरको एउटा यात्राको क्रममा कलङ्की चोक र भाडोभित्रै ढुसी परेको गुँदपाक किन्न पुगेको सम्झना गर्दा आज पनि थकथकी महसुस हुन्छ। पैसा कमाउन जे पनि गर्ने प्रवृत्तिले गर्दा उपभोक्ताहरू ठगिने क्रम बढेको छ। नेपाली सडक मार्गको कुनै भर छैन, त्यसैले झोलामा केही न केही खान्की राख्ने हतारमा किनेका सामग्री चुत्थो हुनसक्ने कुरामा सचेत हुन सदा सचेत बनाउँछ।
थानकोट, नागढुङ्गाबाट गाडी ओर्हालो झर्न थाल्दा जहिले पनि रोटेपिङ खेलिरहेझैं हुन्छ। टाउको भारी हुन्छ, पेट भित्रबाट केही हुँडलिएर आउलाझैं हुन्छ। बानी नपरेकाको त झनै बिजोग हुन्छ। नौविसे नपुगेसम्म यात्रु चुपाचाप बस्छन् या आँखा बन्द गर्छन्। धादिङको धार्केतिर पुरि र तरकारी खायौं, पैसा तिर्ने बेला पो जिब्रो टोक्नुपर्ने बनायो। दुइटा पुरी र अलिकति तरकारीको एकसय तीस रुपियाँ ! मनमनै भनें– राजमार्गका व्यापारी लुटेरा त होइनन् ! फलफूल पनि राजधानीमाभन्दा कम्तीमा ३० प्रतिशतले महङ्गो।
मुग्लिङ बजारमा चनाचटपटको व्यापार राम्रो फस्टाएको देखियो, गाडी रोकिने बित्तिकै आधा दर्जनभन्दा बढी चनाचटपट व्यापारी ओइरिए। दिनमा खाइवरी डेढदुई सय रुपियाँ बच्छ भन्थे, एक व्यापारी। तर बाटैमा खुला बेचिने त्यस्ता खानेकुरा कति स्वस्थकर होलान्? सायद धेरैको चासोको विषय हुन सकेको छैन। यसकाबारे स्थानीय प्रशासन र जनताले नै सोच्नुपर्ने हो।
चितवनको रामनगरमा खाना खाइसकेपछि एकजना यात्रु असन्तुष्टि पोखेको सुनियो – मुग्लिङको रोग सरेछ यतातिर पनि, सादाखानाकै एकसय बीस रुपियाँ लियो।’ तर ड्राइभर, गाडी मालिक, खलासी र तिनका एक साथीसँग मासुभातको पैसा नै लिइएन। महङ्गो चुरोट पनि ‘टक्र्याइयो’ चालक दलका सदस्यहरूमा। तब तत्त्वबोध हुन्छ, किन ग्राहकले चर्को मूल्य तिर्नु पर्नेरहेछ। गाडी साहुहरूलाई लोभ्याउन दसैं पर्वमा त सुट, सफारी आदि पनि बक्सिस दिन्छन्, राजमार्गका यी व्यापारी।
गैंडाकोट र दाउन्ने काट्दा
नारायणी नदीमा पानीको सतह सार्है घटेको देखियो। नारायणी नदीले चितवन र नवलपरासी जिल्ला छुट्याएको छ। नारायणी नदीतीरमै नवलपरासी जिल्लाको गैंडाकोटमा चीन सरकारले सन् १९८५ मा बनाएको भृकुटी कागज कारखाना सञ्चालन भइरहेको थियो तर कारखाना सन् १९९२ मा गोल्छा अर्गनाइजेशनलार्ई बेचियो। सन् १९९० को दसकको सुरुवातमा विश्व ब्याङ्क र मुद्राकोषले सिफारिस गरेको उदारवादी अर्थनीति लागू गरियो। उद्योगहरूको निजीकरण र शिक्षा–स्वास्थ्य क्षेत्रमा राज्यको लगानी घटाउने कार्यक्रम लागू गरियो। भृकुटी कागज कारखानाले नेपालको निम्ति आवश्यक गुणस्तरीय कागज उत्पादन गर्थ्यो। कारखाना निक्कै प्रख्यात थियो। तर त्यो आज इतिहासमात्र रह्यो। उदारिकरणको नाममा राज्यद्वारा सञ्चालित कारखाना बेचिँदा देशभक्तहरूको मन ब्यथित हुन्छ। नेपालमा जम्मा दुइटा निजी कागज कारखाना चालू छन् र तिनले नेपालको आवश्यकता धान्न सकेका छैनन्। यसरी जनक शिक्षा सामग्री केन्द्रले हरेक वर्ष कागजको अभाव देखाएरै सामुदायिक विद्यालयको पुस्तकहरू बजारमा समयमा आपूर्ती गर्न नसकेको बहाना बनाउन पाएको छ। भृकुटी कागज कारखाना रहिरहेको भए कागजको दुःख नहुने थियो।
नेपालको पूर्वपश्चिम राजमार्गको मध्यभाग र नवलपरासीको पनि मध्यविन्दुलाई बिदा गर्दै दाउन्नेको उकाली–ओराली पार गर्यौं। दाउन्ने कटेपछि रवीन्द्र भाइ भन्दै थिए, दाइ सुस्ता जानेे बाटो आयो। २०२३ सालमा दुखेको नेपाली मनले अझ चैन पाएको छैन। सुस्तावासीलाई घाउ लाग्दा भक्तपुरलाई दुख्दाको परिणाम थियो उतिबेलाको आन्दोलन। सुस्तामाथि भारतीय अतिक्रमण एवम् बल मिचाइको प्रतिरोधमा भक्तपुर उठ्दा २०२५ सालको काण्ड भयो, प्रहरी दमनमा दर्जनौं घाइते भए, नेताहरू भूमिगत हुनुपर्यो, कति कार्यकर्ता प्रहरी खोरमा कैद भए। सीमान्त सुस्तामा १४ हजार हेक्टरभन्दा बढी नेपाली भूमि भारतबाट अतिक्रमित हुँदा पनि नेपाली शासकहरू मौनव्रत बस्नु भारतीय विस्तारवादसामुको आत्मसमर्पणबाहेक अरु के भनौं !
अपराह्न ४ बजेको पलले बुटवल चौराहामा हामीलाई स्वागत गर्यो। बदलिँदो राजनीतिक परिस्थितिबारे प्रशिक्षणको निम्ति नेमकिपा, रुपन्देहीले भेला आयोजना भएको थियो बुटवलमा। भेलमा राम्रै सहभागिता थियो। भाइ हरिबचन र शान्ति बहिनीसँगको भलाकुसारी र पार्टी सम्बद्ध प्रकाशनहरू ‘श्रमिक साप्ताहिक’ र ‘मजदुर दैनिक’ को वितरणमा भइरहेको प्रगतिले उत्साहित बनायो।
राजधानी दाङ
बुटवलबाट सुर्खेत जाने एउटै मात्र गाडी थियो, बिहान साढे सात बजे बासपार्कबाट गाडी छुट्यो। बुटवलका हरिसुन्दर भाईसँग बिदा भएर तिनाउ नदी पार गर्दा ८ बजिसकेको थियो। दायाँबायाँको समतल फाँट देख्दा कृषिमा नेपालको सम्भाव्यताबारे मनमा अनेक कुरा खेले। अन्न भण्डारको रुपमा लिइएको तराईले नेपालको जनसङ्ख्यालाई धान्न छोडेको धेरै वर्ष भयो। एक समय अन्न उब्रियर निर्यात हुन्थ्यो, आज परिस्थिति उल्टो छ। जनसङ्ख्या वृद्धिलाई दोष देखाएर पानीमाथिको ओभानो कोही हुनसक्दैन। सरकारहरू कृषि उत्पादन बढाउने योजनाविहीन भएकैले नेपालीले अन्नमा समेत पराधीन हुनुपरेको हो। सायद सुनिल दाइ पनि तराईको कृषि उब्जनीबारे सोच्दै हुनुहुन्थ्यो र भन्नुभयो – ‘कृषि उत्पादन बढाउन सिंचाइ चाहिन्छ, चुरेको फेद हुँदै पूर्वदेखि पश्चिमसम्म नहर खनेर सिंचाइ गर्नसकिन्छ।’ मेची, कोशी, नारायणी, कर्णाली र महाकालीको पानीले पूरै भूमि सिंचित गर्न सकिए नेपाल ‘भूस्वर्ग’ नै हुनसक्छ। आशा गरौं त्यस्तो युग पनि आउनेछ।
दाङको लमहीमा खाना खाँदा दिउँसोको १२ बजिसकेको थियो। यतातिर खाना पसलमा चौधरी दिदीबहिनी कामदारको रुपमा बढी पाइन्छ। दाङ जिल्ला चौधरीकै भन्दा पनि फरक पर्दैन। लमहीबाटै दाङको दुई नगरपालिका घोराही र तुल्सीपुर जान मिल्छ। दाङ नेमकिपाले नेपालको राजधानी बनाउने प्रस्ताव राखेको जिल्ला हो। नेपालकै सबभन्दा ठूलो उपत्यका, सबभन्दा धेरै पर्ति जग्गा रहेको, पूर्वाधार विकासको सम्भावना भएको जिल्लालाई राजधानी बनाउनु उपयुक्त छ। तुलनात्मक रुपमा पश्चिमनेपाल विकासको हिसावमा पछाडि छ, र देशको सन्तुलित विकासको निम्ति पनि दाङ राजधानी बनाउन उपयुक्त मानिएको हो। हालको राजधानी काठमाडौंले जनसङ्ख्याको अनियन्त्रित चापलाई धान्न सकेको छैन। काठमाडौंलाई शैक्षिक र सांस्कृतिक केन्द्र बनाएर दाङलाई राजनीतिक केन्द्र बनाउनु सान्दर्भिक छ।
आउँदा भरी जाँदा रित्तै
बाँके जिल्लाको कोहलपुरबाट उत्तरतिर हानिँदै उकालो लागेपछि तराईको हावापानीसँग सम्वन्ध विच्छेद भएझैं हुन्छ। कोहलपुर चिसापानीमा नेपालगञ्ज मेडिकल कलेज नामको भारतीय कलेज खुलेपछि चहलपहल पहिलेको तुलनामा बढ्नु स्वाभाविकै हो। सुर्खेत जिल्लाको हर्रे पुग्दा दसवर्ष अघिको यात्राको स्मरण हुन पुग्यो। हर्रे र छिन्चूमा लाइन लागेर सशस्त्र प्रहरी एवम् सेना सामुन्ने झोला पसारेका यादहरू झल्झली भइरहेको थियो। बाटोभरि सुरक्षाकर्मीका यस्ता ढाँटहरू र तिनका केरकारले मानिसलाई शारीरिकभन्दा बढी मानसिक यातना दिन्थ्यो। त्यस मानेमा अहिले यात्रुलाई हाइसञ्चो छ। छिन्चू बजार भने अलि विस्तार भएछ। सडकका दुवै किनारामा फलफूल पसलहरूको यति लामा लहरहरू अघिको यात्रामा देखेको थिइनँ। मानिसमा फलफूल खाने चेतना जाग्यो वा तिनको क्रयशक्ति बढ्यो, थाहा भएन ! केही बेरमा भेरी नदी पुलसँगैको घाटमा सयौं मानिस देखेका थियौं, थुप्रै मोटरसाइकल र केही गाडी थिए। ठूलै मानिस मरेको होला भनी कुरा गर्दै थियौं। नभन्दै सुर्खेतका एक धनी व्यापारीले आत्महत्या गरेका रहेछन्। धनले मात्र पुग्दो रहेनछ मानिसलाई !
नौ घण्टाको यात्रापछि दोस्रो दिनको गन्तव्य सुर्खेत वीरेन्द्रनगरमा पुग्यौं। वीरेन्द्रनगर मध्यपश्चिमकै केन्द्र हो। सुर्खेतलाई जाजरकोट, दैलेख, अछाम, कालिकोट, जुम्लाजस्ता विकट जिल्लाको सडकमार्गको द्वारभन्दा फरक नपर्ला।
चैत ११ को बिहानै सुर्खेतका स्थानीय एक चिनाजानीका मानिससँग भेटघाट भयो। उनी सुर्खेतमा जग्गा दलालहरूले कमाएको सम्पत्ति ‘लूटको धन फुपूको श्राद्ध’ भएकोबारे दुःख व्यक्त गर्दै थिए, उनमा विदेशबाट आएको रकम उत्पादनशील काममा लगानी नभएकोमा पीडा थियो। उनी विप्रेशन वा ‘रेमिट्यान्स’ रकम जग्गा जमिनमा खर्च गर्ने नेपाली प्रवृत्तिको फाइदा उठाउँदै जग्गा दलालहरूले कमाउनु कमाएको तर तिनको आय पनि रक्सीसँगै उडेकोमा चिन्ता र आक्रोश पोख्दै थिए। ती हितैषी भन्थे – ‘जग्गाको मूल्य बढ्यो, सामानको भाउ बढ्यो, सामान्य मानिस बाँच्न नसक्ने भएको छ।’ नेताहरूप्रतिको गुनासो, केटाकेटी पढाउने राम्रो विद्यालय नभएको पीडा, स्वास्थ्यमा केही तलमाथि पर्यो भने भारतको लखनउ पुगेर उपचार गर्नुपर्ने वाध्यताले मध्यपश्चिम नै थन्थिलो भएको छ। ती मित्रले थपे– ‘दिनमा सामानले भरिभराउ सयौं गाडी नेपालगञ्जबाट आउँछन्, तर निस्कने बेला खाली जान्छन्, कति असन्तुलित व्यापार छ, बुझ्नुस्।’
अघिल्लो दिन खाएको खोले सागको स्वाद बिर्सिनसक्नु थियो। त्यसलेे पनि सुर्खेतको छुट्टै बास्ना दिन्छ। यस्ता स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न सकिएको भए सुर्खेतबाट फर्किने ट्रकहरू खाली जान नपर्ने थियो। सुर्खेत पुग्दा पुग्दै एक तरकारी पसलनी आमाले फापरको साग पनि बेचेको देखेको थिएँ। फापर र खोले सागको नाडीजत्रो मुठोको दस रुपियाँमध्ये कृषकले कति पाउने होला भनी विचार गर्दै थिएँ। नेपालमा उत्पादकभन्दा विचौलियाले बढी कमाउने स्थिति छ।
दृष्ट दैलेख : राजमार्गको दूर्दशा
हाम्रो यात्राको तेस्रो दिनको गन्तव्य दैलेखको पश्चिमी क्षेत्र लयाँटीविन्द्रासैन गाविसको पाल्तडा थियो। कर्णाली राजमार्गमा चल्ने जुम्ला, कालीकोट र अछाम जानेमध्येको अन्तिम गाडीमा यात्रा गर्ने सल्लाह भयो। पाल्तडा राजमार्गमै पर्छ। गन्तव्य करिव १ सय किलो मिटरमात्र टाढा पर्छ। कार्यक्रम भोलिपल्टमात्र हुने भएकोले हतार थिएन। साढे दस बजेमात्र हिँड्ने भएकाले स्थानीय पार्टी कार्यकर्ताबीच बिहान भेटघाट भयो। मूलतः मध्यपश्चिम विश्वविद्यालयमा राजनीतिक भागवण्डा, विभिन्न पार्टीका जनविरोधी क्रियाकलापबारे जनताको विरक्तिबारे चर्चा भयो।
पाल्तडा पुग्न सुर्खेतको बाङ्गेसिमल छिचोल्दा बिहानको सवा एघार भइसकेको थियो। कृषि क्याम्पस बनाउने रकम जम्मा गर्न बड्डीचौरमा धार्मिक प्रवचन भइरहेको थियो। धार्मिक आस्थाको फाइदा उठाउने यो उपाय देशभर पाइन्छ। कृषि विज्ञान पढाउन अध्यात्मको सहारा कता कता बेमेलजस्तो लाग्ने। अध्यात्मवादी चिन्तन र भौतिकवादी एवम् वैज्ञानिक चिन्तन कसरी मिलाइँदो हो, उत्सुकताको विषय हो। राम्रो उद्देश्यको निम्ति गलत माध्यम अपनाउन सकिने तर्क गर्ने समाजमा नभएका होइनन्। यस्तै धार्मिक प्रवचक पण्डितको हत्या गर्ने पार्टीले नै अस्पताल बनाउन उस्तै उपाय अपनाएकोमा आलोचना नभएको पनि होइन।
सुर्खेत–जुम्ला सडकको लम्बाइ २ सय ३६ किमि छ तर निकै ठाउँमा कैयौं किलोमिटर पिच पूर्णतः उप्किएको र असङ्ख्य खाल्डाखुल्डी छन्। ती बिग्रिएका ठाउँमा गाडी प्रतिघण्टा ८–१० किमिभन्दा वढी गतिमा गुड्दैन। सडक साँगुरो छ, कैयौं घुम्ति छन्, राजमार्ग भन्नुमात्र छ। प्रत्येक घुम्ती आउनुपूर्व धेरै परबाट गाडीको हर्न बजाइनुपर्छ। नत्र दोहोरो गाडी चल्न अप्ठ्यारो हुन्छ। कर्णाली राजमार्ग दुर्घटनाका कैयौं खबर आए। विगत पाँच वर्षमा एकसयभन्दा बढीको ज्यान गयो। त्यसैले सुर्खेत – जुम्ला राजमार्गलाई कसैले ‘डेड्लीयष्ट रोड’ मा ज्यानमारा सडक नाममा वृत्तचित्र बनाएर संसारलाई देखाउँदै छ, युट्युबमार्फत्।
गाडी भाडा दर पनि अकासिएको छ। यात्राभर प्रत्येकजसो गाडीमा यात्रु र गाडी मालिकबीच भाडाकै विषयमा विवाद चल्छ। प्रतिकिलोमिटर पाँच रुपियाँ कम्ता महँगो भाडा होइन। काठमाडौं–भक्तपुरको सडक मार्गमा प्रतिकिलोमिटर दुई रुपियाँ जति भाडा पर्छ। पहाड जहाँ आम्दानी कम हुन्छ, जनता बढी गरिब छन्, त्यहींका जनता महँगीको मारमा बढी परेको यो ज्वलन्त नमुना हो। पहाडको सडकको दूर्दशा नसुधि्रएसम्म बढी भाडाको मार रहने नै भो सायद ! यस्तो बाटोमा चलाइने गाडीलाई छुट्टै अनुदान पो दिनु पर्ने हो कि ! वा काठमाडौंमा थालिएको साझाका गाडी उतातिर पठाउने कि?
कर्णालीको धन
सुर्खेतबाट दुई घण्टाको बाटोमै कर्णाली नदी देखियो। घुमीफिरी कर्णालीकै किनारबाट बाटो गएको छ। कर्णाली नेपालको सबभन्दा लामो नदी हो। मानसरोबर राक्षस तालबाट निस्केर नेपाल प्रवेश गरेपछि यो नदीलाई मुगु जिल्लाको करन खोला अथवा मुगु कर्णाली भनिन्छ। करन खोलाको नामबाट नै यसको नाम कर्णाली नदी रहन गएको बताइन्छ। हुम्लाबाट आएको कर्णाली मुगुमा मूल कर्णालीसँग मिसिन्छ। यो नदी बाजुरा जिल्ला र हुम्ला जिल्लाको सिमाना हुँदै कालीकोट पुग्छ। त्यस पछि, दैलेख जिल्ला र अछाम जिल्लाको सिमाना हुँदै बग्छ, कर्णाली नदी। अझ अगाडि सुर्खेत र अछाम जिल्लाको सिमाना हुँदै डोटी जिल्लाको सिमानामा पुग्छ। फेरि कर्णाली नदी डोटी र अछामलाई छोडेर सुर्खेत र कैलाली जिल्लाको सिमानामा बग्न थाल्छ। यो नदी बर्दिया जिल्ला हुँदै भारतमा प्रवेश गर्छ। यसका सहायक नदीहरूमा हुम्ला कर्णाली, तिला नदी, बुढीगङ्गा, रामागाढ, लोहोरे, भेरी र सेती नदी हुन्। कर्णाली नदीको नेपालभित्रको लम्बाइ लगभग ५ सय ७ किमि छ।
करिब ६ घण्टाको मोटरबाटो पार गरेपछि पाल्तडा पुग्यौं। दूरीको हिसाबले करिब नब्बे किलो मिटर छ, तर ६ घण्टा लामो यात्रा भयो। पुष्पगुच्छासहित साथीहरूबाट स्वागत भयो। अबको पाँचदिन बास बस्ने घरआँगन पुग्यौं। सडकमै खडा घर त ‘होटल’ पो रहेछ। एकै छिनमा नेमकिपा केन्द्रीय सदस्य तर्क बडुवाल कर्णालीको माछा ल्याएर आई पुग्नु भयो। आजको तरकारी माछा ! कर्णाली नदीको माछा अरु नदीको माछाभन्दा बढी स्वादिष्ट रे! माछा मार्न कम्ता दुःख नहोला, त्यसैले पनि अलि महङ्गो पर्नेभयो। पोखरीमा पालिएको माछाभन्दा नदीको माछा राम्रो मानिन्छ। एक मित्र भन्दै थिए, माछा मसिनु जातको हो। कर्णालीमा पाइने माछाहरूमा असला माछा मुख्य हो। साधारणतया १० देखि १५ किलोसम्म वजन भएको असला माछा कर्णाली नदीमा धेरै पाइने सुनियो। यसका साथै कर्णालीमा माछाका अन्य धेरै प्रजातिमा सट्टा माछा (यसको वजन ५० देखि डेढसय किलोसम्म भएको अनुमान गरिन्छ), टोटे माछा (भकुण्डो जस्तै गोलो र मोटो), बाम माछा (देख्दा सर्पजस्तै), खोली माछा (सानो तर स्वादिष्ट माछा हो, प्रायः खोलाको पानीमा पनि पाइने भएकोले यसलाई खोली माछा भनिएको हो।) दैलेखका एक वृद्ध भन्थे, ‘मैले ८–९ वर्षको बच्चा जतिको माछा देखेको छु। माछा एकजनाले बोक्न सकेको थिएन।’
चिसापानी, कार्णालीको तीरमा गोही घाम तापिरहेको देखेको छु मैले। यसपालि अरु जीवजनावर पनि भेटिए। प्रशिक्षण शिविर चलेकै ठाउँमा एक रात एउटा करिब चार फिट लामो सर्प आयो। कर्णालीमा जलेउ नामको पछी माछा खान आउँदो रहेछ। पानीभित्र गएर माछा मार्ने चराबारे स्थानीय एक युवाको बखान सुनुँसुनँु लाग्यो। नदी किनारमा हुल बाँधेर बस्ने जलेउ, बच्चा हुर्काएर कता जान्छ थाहा नहुने भन्थे, ती युवा। जाडो छल्न नेपालमा धेरै टाढाबाट बसाइ सरी आउने थुप्रै चरामध्ये जलेउ पनि हुनुपर्छ।
एक रात राजमार्गको बाटोमा गाडीमै रहेको समय स्यालले बाटो काटेबाट अरु जङ्गली जनावरको उपस्थितिबारे अन्दाज गर्न गार्हो भएन।
कर्णाली किनारमा बिहानै केही चरा देखिए। नीलो रङ्ग भएको तोतले चरा रुखको बोक्रामा चुच्चोले हानेर भित्रको कीरा निस्केपछि खान्छ भन्थे, एक मित्र। ढुकुर, भङ्गेरा, डाङ्ग्रे, काग त सामान्य चरा नै भए। एक स्थानीयले भने– ‘पारी अछामको डाँडोमा भालु पाइन्छ। हामीले बँदेल, कालिज मारेका छौं।’
सडकको ५ सय मिटरभन्दा तल कर्णालीको तीरैमा प्रशिक्षण कार्यक्रम हुनेरहेछ। पाल्तडा क्षेत्र बगर भए पनि यहाँ खेतीको राम्रो भूमि छ, केही घर छन्। एक वर्षअघि माथिल्लो कर्णाली परियोजनाको पाल्तडा कार्यालय जलाइएको थियो।
अनौठो लाग्यो, आँप, केरा, कटहर, मेवालगायतका फलफूल राम्रै हुर्कँदोरहेछ ! बेसीमा तराईको हावापानी, लेकमा पहाडको! आधी घण्टाको हिँडाइमै हावापानीमा कति ठूलो अन्तर हुन्छ! एक स्थानीय किसानको बारीमा ५–७ अफिमको बुटा थिए। अफिम झारझैं उमि्रएको रहेछ। अफिमको गुणवत्ताबारे किसानले भने– ‘गाईभैंसीको पेट लाग्दा, मानिसलाई रुघा, काँसो (खोकी) लाग्दा, दमको रोग लाग्दा थोरैथोरै खाने हो।’ अफिमको दानामा ब्लेडले चिर्दा एकदुई दिनमा चोप निस्किन्छ र त्यही चोप डल्ला पारी औषधिको रुपमा प्रयोग गरिँदोरहेछ। बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बीँड भनेको यहीं हो सायद। प्रकृतिको यही उपहार दुरुपयोग भई लागूपदार्थ दुर्व्यसनी बढेको छ। चीनमा त अफिमको व्यापार गरी पश्चिमाले युवा पुस्तालाई बिगारेपछि त्यसविरुद्ध अफिमयुद्ध नै भएको इतिहास छ।
एक स्थानीय कृषकले यतातिर थालिएको आँप खेतीको कथा सुनाए। एक गैससले आठ वर्ष अघि आँपको बुटा रोप्न चामल दिने योजना ल्यायो। एउटा खाल्डो खन्न तीन केजी चामलदिइँदो रहेछ। मानिसले चामलको निम्ति भए पनि खाल्डो खनी आँप लगाए। टोलभरमा ६ सय बुटा रोपिए। आज भने साठी बुटामात्र बचेको छ। किन असफल भो? मानिसले आँपबाटभन्दा बाख्रा पाल्नमा बढी फाइदा देखे, बाख्रा पहिलेझैं खुला चर्दा धेरै आँपको बोट समाप्त भएछन्।
सिक्ने जाँगर
पाल्तडाको पाँचदिनको प्रशिक्षण निर्वाध सकियो। परिवर्तित राजनीतिक स्थिति, पार्टी विधान र अनुशासन, संविधानसभामा नेमकिपाले निर्वाह गरेको भूमिका, पूँजीवादी व्यवस्थाका खराबी र समाजवादी व्यवस्थाको आवश्यकताबारे प्रशिक्षण भयो। माथिल्लो कर्णाली परियोजना सम्झौतामा भएको देशघात, नेपालमा वैदेशिक हस्तक्षेप, सीमा अतिक्रमणबारे प्रशिक्षण चल्यो। पार्टी प्रकाशनको अध्ययन, अन्तरक्रिया र विक्री वितरण विषय पनि थिए। कार्यकर्तालाई समाचार लेखनको आधारभूत तालिम पनि भयो। समाजवादी देशको शिक्षा व्यवस्थाबारे प्रशिक्षण चलाउने योजना पूरा भयो। सबै जिम्मवारी सबैले राम्रै निवृत्त गर्नुभयो। नेमकिपाका अध्यक्ष रोहितको टेलिभिजन अन्तरवार्ताको भिजुअल रेकर्ड सीमा अतिक्रमण सम्बन्धी वृत्तचित्र र कार्यकर्तालाई उत्साहित गर्ने चलचित्र प्रदर्शनी भए। राती हरेक दिन सिंहावलोकन र भोलिको योजना बन्दा कुनै दिन कहीं अलमल भएन।
करिब आठ दर्जन सङ्ख्यामा उपस्थित सहभागीको उत्साहले हाम्रो मेहनतले थप ऊर्जा पाएको महसुस भयो। साथीहरूको सिक्ने इच्छाशक्ति र सक्रियतामा कुनै दिन पनि कमी अनुभव भएन। समूह अध्ययन, छलफल र निचोड प्रस्तुतिले सिक्न उत्साहित बनायो। खाँदा, बस्दा र सुत्दा देखिएको अनुशासन, भूमिगत शैलीका व्यवहार र गतिविधि नमुना नै हो कि ! भान्छाको जिम्मेवारी पाएका दाइहरू खाना पकाउँदै प्रशिक्षणका कुरातिर पनि कान फर्काउने अनि मिलेसम्म शिविरको कक्षामा बस्न आइहाल्ने गर्नुहुन्थ्यो। अन्तिम दिनको हिसाब प्रस्तुति पो गज्जव लाग्यो। प्रतिदिन खाना र खाजा गरी प्रतिव्यक्ति पचास रुपियाँ बराबरको खर्च ! पार्टीको निर्देशन थियो– शिविरमा सहभागी बन्न प्रत्येकले तीन किलो चामल र एकसय रुपियाँ वा अढाइ सय रुपियाँ आयोजकको कोषमा जम्मा गर्ने। कुनै पूँजीपति वा सामन्तसँग हात नथाप्ने पार्टीको स्वाभीमान झन् उचालिएको लाग्यो।
आशाका कुरा
पाल्तडाको प्रशिक्षणमा एकदिन चिउरा र चिनी खायौं मालुको पातमा। सालको पातको दुना, टपरी र भोज खाने लप्ते (लपेस) बनेको देखेको हुँ। यतातिर मालुको पातबाट स्याकु (घुम) बनाइँदो रहेछ। मालुको बुटाको अरु पनि उपयोगिता हुँदोरहेछ। पार्टी केन्द्रीय सदस्य बजिरसिंह विक भन्थे – मालुको पातबाट घुममात्र बन्दैन, कीरा नलाग्ने भएकाले अन्नको भकारी बनाउन प्रयोग गरिन्छ। मालुको लहरा (डन्ठी) बाट डोरीसमेत बनाइँदोरहेछ। प्रकृति चिन्न सके मानिसले धेरै आराम पाउँदो रहेछ।
गाउँमा प्रत्येकजसो घरमा सौर्यऊर्जाको बिजुली देखियो। बीस वाट बराबरका तीन वटा बत्ती बाल्न पाँच हजार रुपियाँ सहुलियतसहित पाँच हजार रुपियाँको खर्च लाग्दो रहेछ। गाउँमा उज्यालो पुर्याउने यो योजना भने चित्त बुझ्दो थियो। दियालो बालेर पढ्न बाध्य विद्यार्थीले सौर्य बिजुलीबाट राहत पाएका छन्। स–साना कुराले पनि समाजमा परिवर्तन ल्याउन सघाउँदो रहेछ। देशको चरम ऊर्जा सङ्कट समाधानका विभिन्न उपायमा सौर्य ऊर्जा भरपर्दो र उत्तम विकल्प हुनसक्नेबारे विशेषज्ञ बताउँछन् तर योजना बनाउने र कार्यान्वयन गर्नेको कानमा बतास नपसेपछि कसको के लाग्यो !
खुला दिशामुक्त गाउँको अभियान कुनाकन्दरासम्म पुगेको पनि देखियो। पानीजन्य रोगको कारण झाडापखाला, हैजा, टाइफाइडको महामारी वर्सेनि फैलिरहेको समाचार पढ्न, सुन्न पाइन्छ। चर्पी बनाउने अभियानले गर्दा यस्तो नराम्रो समाचार सुन्न अब कोही विवश हुनपर्दैन होला। मनभरी आशा पलायो।
सञ्चारमा पहाडी गाउँहरूले पनि विगत दस वर्षमा फड्को मारिसकेको छ। एक कल टेलिफोन गर्न पनि घण्टौं हिंड्नुपर्ने र घण्टौं लामो लाइन कुर्नुपर्ने वाध्यताबाट क्रमशः गाउँले जनताले त्राण पाएका छन्। खासगरी मोवाइल टेलिफोन सेवाले धेरै खर्च र समय बचाएको छ। तर स्काइफोनबाहेक अरु टेलिफोन सेवा दैलेखका सबै कन्दरामा राम्रो रहेनछ। अरु कम्पनीका टेलिफोन सेवा डाँडोहेरि फरक पर्नेरहेछ। त्यसैले कार्यक्रमका तस्वीर मजदुर दैनिकको डेट लाइनभित्र पठाउने हाम्रो प्रयास सफल भएन। हामीसँग एनसेलको डाटाकार्ड मात्रै थियो। ल्यापटप लिएर विभिन्न डाँडो चढ्यौं तर काम फत्ते भएन। टेलिफोनको सेटअनुसार पनि टेलिफोनको वेभ टिप्ने नटिप्ने रहेछ। गजब त के भयो भने सस्ता चिनियाँ टेलिफोन सेटमा टेलिफोनको नेटवर्क भेटिने। यो भने गरिब गाउँलेको निम्ति राहतै हो !
फर्सी रोपी आँपको जूस !
शिक्षा मेरो जहिलेसुकैको चासोको विषय हो। यसपालि दैलेखको प्रवेशिका परीक्षामा अघि अघि भन्दा कडाइ गरिएको कुरा भेटिएका सम्बद्ध साथीहरूबाट सुनेको हुँ। तर संस्कार र संस्कृति बदलिन पुस्ता नै लाग्छ। नियम–कानुन लागू गर्नेले कम्मर कसेको खण्डमा परिवर्तनको निम्ति उतिसारो समय खर्चनुपर्दैन।
प्रशिक्षणको अन्तिम दिन चैत १६ गते रामाघाट बजारमा वैदेशिक हस्तक्षेपविरुद्ध खुला सभाको आयोजना भइरहेको थियो। एक स्थानीय सरकारी विद्यालय प्राङ्गणमा कार्यक्रम हुन लाग्दै थियो। तर विद्यालयमा परीक्षा चलिरहेकोले कार्यक्रम केही समय ढिलो हुने जानकारी आयोे। गाउँतिरबाट आउँदै गरेको जुलुस पनि पर्खिरहेका थियौं। विद्यालयको परीक्षा हेर्ने फुर्सद मिल्यो। कठै विद्यार्थी ! परीक्षाको वातावरण स्तब्ध पार्नेखाले थियो। कक्षा ५ का नानीहरू विद्यालय बाहिर धुलौटे भुइँमा लहरै कुम जोडेर लेख्दै थिए, कति जना लेखेजस्तो गर्दै थिए। एकले अर्कोको कापीमा आँखा गाडिरहेका थिए। परीक्षाको कुनै पनि अनुशासनको पर्वाह देखिन्नथ्यो। विद्यार्थीको ज्ञानको परीक्षा गर्ने कसरी होला ! पाँच कक्षासम्मको पढाइ हुने विद्यालयमा तीन जना शिक्षक मात्रै थिए। फर्सी रोपेर आँपको रस बन्ला र?
लियोपर्ड माने वियर
गाउँमा दूध नपुगे पनि रक्सी र पुकार (पानपरागजस्तो) नामको स–सानो पुडिया प्रशस्त भेटिए। पाँच रुपियाँमा दुई पुडिया पाउने पुकार जताततै पाइन थालेको रहेछ। विद्यालयका चिचिला नानी यसको लतमा फसेको सुनेर मनै बिथोलियो। आजकल शिक्षक, कर्मचारीसमेत रक्सीका बोटल रित्याउने होडबाजीमा लागेको तीतो यथार्थ हो। एक प्राथमिक विद्यालयका प्रधानाध्यापक दिउँसै रक्सीको सुरमा हिँडेको देखियो। नेपाली विद्यालयीय शिक्षाको हविगत टीठलाग्दो भयो। समाजका अगुवाको हालत यस्तो भए सर्वसाधारणले सिक्ने के?
रामाघाट बजारमा एउटा पसलमा एउटा रोचक घटना भयो। एक किशोरले अङ्ग्रेजी ‘लिअपार्ड’ शब्द उच्चारण गरेको सुनें। अङ्ग्रेजी शब्द उच्चारणले मेरो ध्यान आकर्षित गर्यो तर एकैछिनमा मलाई निराश पनि बनायो। ८ कक्षामा पढ्ने किशोरसित मैले लिअपार्डको नेपाली अर्थ सोधें, उसको जवाफ थियो, बियर। नभन्दै ती बालकले बियरको शिशि मेरैमा तेर्स्याएर देखाएपछि म निःशब्द भएँ। बियरको ब्राण्ड नेम लियोपर्ड रहेछ। सबभन्दा छिटो कुद्ने जनावरको बिम्बले नेपाली कति युवा पुस्तालाई कूबाटोमा डोर्याउने हो ! रक्सी त हरेकजसो पसलमा भेटिए। रक्सी शिशिले खाना पसलको ‘शोभा’ बढाउने रहेछ। किराना पसलेको आयको एउटा मुख्यस्रोत नै रहेछ – सिल्ड लगाइएको आयातित रक्सी।
अछामको अनुशीलन : कर्णाली कसको?
चैत १६ गतेको कार्यक्रम सकाएर १७ गते अछामको लागि प्रस्थान गर्यौं। रामाघाटबाट करिब ६ किलोमिटर पर असाराघाटमा एक मित्रको घरमा खाना खाने कार्यक्रम थियो। हिँड्दै गर्दा बाटोमा देख्यौं, बहुचर्चित माथिल्लो कर्णाली परियोजना निर्माणस्थल देखियो। परियोजना बनाउन सुरुङ खनिने एवम् बाँध बनाइने स्थलमा लगाइएको चिन्ह देखाए, कर्णाली नदीबारे स्नातकोत्तर थेसिस गरेका रवीन्द्र भाइले। नेपालको सबभन्दा कम लगानीमा बिजुली उत्पादन गर्न सकिने कर्णाली विदेशी कम्पनीलाई सुम्पिनुहुन्न भन्नेमा अघिल्लो दिनको जनसभामा पनि रवीन्द्र भाइ तथ्यसहित बताउँदै थिए। उनको भनाइ थियो, ‘माथिल्लो कर्णाली परियोजना बन्नुपर्छ तर नेपालको पूर्ण स्वामित्वमा।’
माथिल्लो कर्णाली परियोजना बन्ने ठाउँबाट नदीले करिब २७ किलोमिटर यात्रामा अङ्गे्रजीको यू अक्षर आकार बनाएर एउटै पहाडलाई फन्को मार्छ। त्यस पहाडका दुई मोहडाका दुई बिन्दुबीच सुरुङ खनेेमा अढाइ किलोमिटरको दूरीमात्र हुन्छ तर त्यही सुरुङबाट पानी प्रवाह गर्दा पानी १ सय ५० मिटर माथिबाट खस्दोरहेछ। यसै तथ्यको आधारमा तुइनकुना भन्ने ठाउँमा बाँध निर्माण गरी कर्णालीको पानी जम्मा गर्ने र सुरुङ मार्गमार्फत् जलविद्युुुुुुुुुत उत्पादन गर्ने योजना रहेछ। प्रचण्ड सरकारले भारतीय जीएमआर कम्पनीलाई तीस वर्षसम्म योजना सञ्चालन र नियन्त्रण गर्ने अधिकार दिइसकेको छ। सम्झौता पत्रमा स्पष्ट भाषामा आगामी तीस वर्षसम्म कर्णाली नदीको १० किमी उँधो र उँभो भागमा अर्को पक्षलाई कुनै पनि निर्माण गर्न नदिने र त्यसमाथिको सम्पूर्ण अधिकार सोही कम्पनीलाई प्रदान गर्ने कुरा उल्लेख गरिएको छ। अहिले कर्णाली नदीमा मात्र सात वटा भारतीय कम्पनीले विभिन्न ठाउँमा जलविद्युत् परियोजना निर्माण गर्दैछन्। बर्दिया र कैलालीको सीमा कर्णाली चिसापानीमा समेत अर्को योजनाको निम्ति तयारी गरिएको बताइएको छ। त्यसको अर्थ पूरै कर्णाली नदी भारतीय एकाधिकार पूँजीको अधीनमा जाँदैछ। भारतले कोशी, गण्डकी, महाकालीजस्ता ठूला नदीमाथि एकाधिकार कायम गरिसकेपछि कर्णालीमाथि आँखा गाडेको छर्लङ्गै छ। भारतलाई बिजुलीभन्दा पानी चाहिएको छ, त्यसैले भारतले नेपालको अपार जलभण्डार कब्जा अभियान जारी राखेको छ। माथिल्लो कर्णाली परियोजनाबारे यसअघि जति कुरा सुने पनि स्थलमै पुगेपछि कुरोको चुरो भेटिएको अनुभव भयो। नेपालको एमाओवादी सरकारले भारतसँग बिप्पा सम्झौता र लगानी वोर्ड विधेयक पारित गरेपछि परियोजना सञ्चालनका सम्पूर्ण ढोका खुला गरिदिएको छ। देशको सार्वभौकितासँग प्रत्यक्ष सरोकार राख्ने यस्तो योजनाबारे ठूला दलले ठूलो देशसँग आत्मसमर्पणवादी चरित्र देखाउँदा नेपालको अस्तित्व नै समाप्त हुने डर भएको छ।
बेमौसमी बाटो:
दिनको एक बजे अछाम हिँड्ने बस आयो, असाराघाटमा। गाडीले मानिसभन्दा सिमेन्ट र छड पो बोकेको ! भन्दा यात्रुबाहक अनि काममा सामान ढुवानी गर्ने गाडी! अछामतिर जाने यात्रु कम हुँदोरहेछ, अनि फाइदाको निम्ति यस्तो कर्म गरिँदो रहेछ। सिमेन्ट मानिस बस्ने सीटमा समेत थियो। गाडीभर सिमेन्टको धुलो उडिरहेको थियो। वातावरण अत्यन्तै अस्वस्थ थियो। तैपनि अछाम जाने अरु विकल्प थिएन। उतातिर दिनमा एउटैमात्र गाडी जाने रहेछ। सबैजनाको अनुहारमा विवशताका सुस्केराबाहेक थिएन।
गाडीमा उही भाडा विवाद। भनेको जति पैसा नदिए गाडीबाट झार्ने धम्की पनि सुनियो। विचरा गाउँको एक बूढो मान्छेलाई बाटैमा झार्न गाडी रोकियो। बाध्यताको फाइदा उठाउने पैसामुखी संस्कृति झाङ्गिदै छ। यसैलाई भन्दा हुन् फाइदा, मात्र फाइदा हेर्ने पूँजीवादी संस्कृति!
गाडीमा अछाम जिल्ला विकास समितिका कर्मचारी शालीमान साउदसँग चिनाजानी भयो। नेमकिपाका अध्यक्ष रोहितले प्रधानमन्त्री पदमा लोभ नगरेकोमा प्रशंसा गर्दै थिए। उनी अछामको प्राकृतिक सम्पदा र सम्भावनाबारे बेलिविस्तार लाए।
सल्लाबाट खोटो उत्पादन यतातिर राम्रो हुँदोरहेछ। बाटोमा खोटो सङ्कलन गर्ने केन्द्र पनि देखेका थियौं। सल्लामा तेलीय गुुण पनि हुने भएकोले दियालो बालेर उज्यालो पार्ने प्रयोग अद्यापि छ। सल्लोको बोटको निम्ति खोटो अपिरिहार्य रहेनछ र यो निकालिँदा पनि रुखलाई नकारात्मक असर पर्दो रहेनछ। खोटो खासगरी रङ्ग एवम् वार्निस कारखानाको अपरिहार्य कच्चा पदार्थ हो। त्यसबाहेक कीटनाशक विषादी, जुत्ता पालिस, सफा गर्ने सामग्री बनाउन पनि प्रयोग गरिँदो रहेछ। धन्य हाम्रो प्राकृतिक सम्पदा! तर माल पाएर पनि चाल नपाउने नेपाली शासकहरूको निद्रा कहिले खुल्ने हो कुन्नी! गाउँमा व्यापारीले सामुदायिक वनलाई प्रति किलोग्राम खोटोको पाँच सय रुपियाँ दिँदारहेछन् तर तिनले टरपेन्टाइन उद्योगलाई एक हजारदेखि पन्ध्र सय रुपियाँमा बेच्दारहेछन्, साउदले भने। जथाभावी खोटो निकालिँदा मङ्गलसेनतिर सल्लाको रुख सुकेर ढल्न थालेका रहेछन्। एकै ठाउँमा मात्र कोतरेर चोप निकाल्नुपर्नेमा चारैतिर काटिँदा त्यसो भएको रहेछ। सल्लामा घाउ बनाई खोटो निकालिसकेपछि गोवरमाटोले पोत्नुपर्नेमा त्यसो नगर्दा पनि प्रकृति विनाश हुन थालेको साउदबन्धुको दुःखेसो जायज लाग्यो।
दैलेखबाट अछाम जाने सडकमार्गको पुल भने अझै बनेको छैन। पुल बनाउने काम थालिएको पनि तीन–चार वर्ष नै भएछ तर काम चिप्लेकीराको गतिमा। गाडी कर्णाली तार्ने एउटै उपाय फेरी रहेछ। फेरी वर्षामा नचल्ने रहेछ। वर्षामा बाटोमा गाडी चलाउने स्थिति पनि छैन। फेरी भने सामुदायिक रुपमा सञ्चालन गरिएको छ। एकपटक गाडी तारेबापत तीन सय रुपियाँ लाग्दोरहेछ। अछामको बाटो अत्यन्तै कच्ची छ। यही बाटो मध्य पहाडी राजमार्ग बन्ने सुरसारमा छ। बाटो भने भर्खर डोजर लगाएर खनेकोजस्तो। बाटो काट्दा देखिएको चट्टान रातो रङ्गका थिए। चट्टानमा तामा र फलाम हुनुपर्ने अड्कल छ।
चिप्लेकीराको गतिमा गाडी उकालो चढ्दै थियो। साँगुरो, नाममात्रको बाटो काट्दै गर्दा जीवनप्रतिको माया झन् बढ्दो रहेछ। सडक मध्य पहाडी राजमार्ग बन्ने सुरसारमा छ तर काम कहिले पूरा होला र सजिलै सुर्खेतको बाटो हुँदै तराई जान पाउने भनी सपना साँचिरहेका छन्, अछामेली।
मध्य पहाडी राजमार्ग पूर्वमा पाँचथरको भारतसँग जोड्ने नाका चियाभञ्ज्याङदेखि पश्चिममा बैतडीको महाकाली सीमा नदीस्थित झुलाघाटसम्म विस्तारित छ। यसलाई पुष्पलाल लोकमार्ग पनि भनिएको छ। यो राजमार्गले पहाडका ३९ जिल्लामध्ये २४ जिल्ला पार गर्छ। ती जिल्लामध्ये पनि १९ जिल्लाका सदरमुकाम छोएर जान्छ। त्यस्तै पहाडका २७ नगरपालिकमध्ये १६ वटालाई छिचोलेर जान्छ यसै राजमार्गले।
दैलेखको सिंगौडी गाविस साईंबाट कर्णाली तरेपछि अछामको दक्षिणपूर्वी कालीकास्थान गाविसको बेलखेत टोड्केसालबाट मङ्गलसेन पुग्न ६ घण्टा लाग्यो। बाटोको लम्बाइ जम्मा थियो ४९ किमी। अर्थात् प्रतिघण्टा ८ किमिको गति। एउटा डोजर बिग्रिएर बाटोमै रहेपछि हामीले गाडी फेर्नुपर्यो। सामान जति अर्को गाडीमा ‘मेल’ गरियो।
हजार वर्ष पुरानो राज्य
अछाम नेपालको एक विकट जिल्ला। ७५ गाविस रहेको जिल्लामा जम्मा कालोपत्रे सडक ३६ किमीमात्र छ। आधिभन्दा बढी गाविसमा मोटरबाटो पुगेको छैन। आवतजावतका लागि पैदल यात्रा गर्नु नै सुरक्षित मानिन्छ। जिल्ला सदरमुकाम मङ्गलसेनको बाटोसमेत मौसमी वा ‘सिजनल’ मार्ग हो।
अछामको नामबारे रमाइलो भनाइ रहेछ। नेपालको नौखुवा (वर्तमान अछाम) मा मीठो आँप प्रशस्त पाउने भएकोले भारतीय मुगल साम्राज्यको दमनबाट विस्थापित घुमन्ते भारतीयहरूले हिन्दी भाषामा मीठो आँपलाई (अच्छा आम) भन्न थाले। पछि अप्रभंश हुँदै जाँदा अछाम भन्न थालियो।
अछामको ऐतिहासिकता लामै रहेछ। पूर्णप्रसाद नेपाल ‘यात्री’ को सेती अञ्चल दिग्दर्शनअनुसार श्रीकोटमा १५–१६ सय वर्ष पहिलेका ऐेतिहासिक सामग्री र भग्नावशेषहरू छन्। बुढीथर्पु राज्यको स्थापना ११ औं शताब्दीतिर भएको थियो। उनी लेख्छन्– ‘एघारौं शताब्दीसँगै आधुनिक अछाम राज्यको गठन भएको देखिन्छ।’ हामी विनायक भएर मङ्गलसेन पुगेका थियौं। विनायकस्थित पञ्चदेवलले पनि अछामको इतिहास लामै भएको इंगित गर्छ।
मङ्गलसेन दरबारको पुनः निर्माण कार्य जारी थियो। मङ्गलसेन दरबार अछामी राजाहरूको दरवारको रुपमा थियो। केही दसक अघि दरबार सरकारी स्वामित्वमा ल्याइएको रहेछ। २०५८ सालमा तत्कालीन द्वन्द्वको चपेटामा दरबार पूर्णतः ध्वस्त भएको थियो। दरबारमै जिल्ला प्रशासन कार्यालय बस्दा र ऐतिहासिक दरबारको महत्त्वको मतलब नराख्दा इतिहास समाप्त पार्ने काम भयो। दरबार १३ दिनसम्म जलेको भन्थे स्थानीय। जेहोस् पुनः निर्माण कार्य थालिएको छ तर निर्माण कार्य यथोचित एवम् आशातीत गतिमा अगाडि नबढेकोमा गुनासो पोख्दै थिए ठेकेदार। दरबार बनाउने धनगढीबाट आएका कर्मी रहेछन्। उनले भने– दार (काठ) नपाएर ढिलो हुँदैछ। दरबार बनाउन प्रयोग गरिएका कैलालीमा बनेका इँटा पनि पुरानो आकारको रहेनछ।
दूध चिया पाउन मुस्किल
दूध कम नै पाइँदो रहेछ यतातिर। मङ्गलसेन बजारमा दिउँसो दूधचिया खान पसल चहार्र्दा पनि पाएनौं। गाईभैंसी बढी पाइने दैलेखमा पनि राम्रो दूध पाउन मुस्किल थियो। किसानले दूधको मूल्य पनि नभएको गुनासो गरे। वातावरण हेर्दा प्रशस्त दूध उत्पादन गर्नसकिन्छ जस्तो, तर बजार नपाउँदा किसान दूध उत्पादनमा उत्साहित भएको देखिन्नन्। दैलेख तल्लोडुङ्गेश्वर बजारमा बिहानै एक अधवैंसे महिला ठेकीमा दही बेच्न आएकी थिइन्। तर उनले दही किन्ने कोही नपाएर निराश भावमा मैसँग किनिदिन अनुरोध गर्दा आफै निरुत्तर भएँ। कति टीठलाग्दो यथार्थ? उत्पादन गरेर के गर्नु? एक कुरुवा (करिब एक माना) दूधको २० रुपियाँ पाउँदो रहेछ किसानले। एक भैंसीले विहान बेलुकी गरी ४ कुरुवामात्र दूध दिएको एक किसान बताए। विकासे भैंसी पाल्ने वातावरण भएको भए कुनै पनि गाउँ कुपोषणको शिकार हुँदैनथ्यो होला र आय आर्जन पनि क्रमिक बढ्दो हो।
गेसपेपरमा अल्भि्कएको शिक्षा
मङ्गलसेनको बजार डुल्यौं। शिक्षाबारे स्वाभाविक चासो थियो। जिल्लामै दुइटा कलेज रहेछन् भने उच्च माविहरू गाउँगाउँमा खोलिएका रहेछन्। पुस्तक पसल र पत्रिका पसलको स्थितिले पनि शैक्षिक स्थितिको झल्को दिन्छ। भेटिएका तीन–चार पसलमा सोध्दा पाठ्यपुस्तक बाहेकको पुस्तकको बिक्री कमै हुन्छ भने, पसलेहरूले। बरु कलेज र विद्यालयका परीक्षाको सहयोगी ‘गेसपेपर’ र ‘गाइड’ को व्यापार बढी हुने रहेछ। पुस्तक पसलमा राखिएका गेसपेपरको चाङ हेर्नलायकै थियो। एक पसले दिदीले भनिन्– पढाइ सुरु हुँदैदेखि गेसपेपरको माग हुन्छ। सरकारले गेसपेपरमाथि प्रतिबन्ध लगाएको भने तापनि यतातिर सरकारी नियमको प्रभाव नपरेको स्पष्ट थियो। अछाम जिल्ला शिक्षा कार्यालयको तथ्याङ्क बोल्छ, कूल साक्षरता दर ५३ प्रतिशत। महिला साक्षरता झनै नाजुक छ, अछामको महिला साक्षरता ३७ प्रतिशतमात्र छ। तर यसपालि एसएलसी परीक्षामा कडाइ गरिएपछि आउँदा केही वर्षमा शिक्षाको गुणस्तर उठ्ने कुरा शिक्षा अधिकारी श्यामसिंह धामी भन्थे।
खाद्य संस्थानमा खाद्य छैन
मङ्गलसेनको खाद्य संस्थानका शाखा प्रमुख रणबहादुर ऐर भन्छन्– ‘खाद्य संस्थानले चामल ल्याउने र गाउँले जनतालाई वितरण गर्ने काम गर्दै आएको छ तर दसैंपछि गाउँमा चामल आएको छैन। ३५ सय क्वीन्टल जिल्लाको कोटा हो, समयमा चामल आउँदैन। ढुवानीको निम्ति टेण्डर गर्दागर्दै महिनौं लाग्छ, सरकारी भाडा दरमा ढुवानी गर्न मान्दैन कोही। कर्मचारीको मासिक तलबमात्र १ लाख २० हजार छ, तर झिंगा धपाएर बस्नुपर्छ।’ जिल्लाको विभिन्न कृषि उत्पादनको खरिदबिक्रीमा खाद्य संस्थानले काम गरेको भए कर्मचारी कार्यालयमा सुतेर बस्न पाउँदैनथे कि? जिल्लामा मकै, कोदो, सुन्तलालगायतको उत्पादन राम्रो हुन्छ भने कृषि विकास कार्यालय र खाद्य संस्थानको समन्वयमा काम भएको भए आत्मनिर्भरतामा केही सुधार त पक्कै हुन्थ्यो।
डुल्ने क्रममा मुख्य बजारबाट अलि पर महिला र केटाकेटीको भीड देखियो। नुन पाउन जम्मा भएको भीड रहेछ। बजारमा प्रति पोका पन्ध्र रुपियाँ पर्ने आयोडिनयुक्त नुन प्रति पोका स्वास्थ्य तथा जनसङ्या मन्त्रालय, बाल स्वास्थ शाखा र युनिसेफले धुलो नुन नौ रुपियाँमा दिँदो रहेछ। तर हप्तामा दुई दिनमात्र वितरण गरिने नुन पाउन जनता दुई–तीन घण्टा हिँडेर आएका रहेछन्।
गाविस कार्यालयमा गाउँगाउँबाट दलित पोषण भत्ता लिन आएका आमा तथा अभिभावक पनि भेटिए। पाँचवर्ष मुनिका दलितका छोराछोरीमध्ये दुईजनासम्मलाई प्रति सन्तान मासिक दुई सय रुपियाँ दिएपछि केटाकेटी पढाउनसमेत सजिलो भएको उनीहरूको भनाइ थियो।
एफएम प्रभाविलो
जिल्लामा सञ्चालनमा आएका एफएम रेडियोहरूको सूचना प्रवाहले राम्रै गरेको पाइयो। पत्रपत्रिका समयमा नपुग्ने पहाडका कन्दराहरूमा छिटो र कम लगानीमा सूचना पाउने राम्रो र प्रभावकारी माध्यम बनेका छन्, विभिन्न एफएम रेडियोहरू। अछामको सदरमुकाम मङ्गलसेनका दुई एफएमले पार्टी केन्द्रीय सचिव सुनिल प्रजापतिसँग लिएकोे अन्तर्वार्ता प्रसारण गरे। एकसय किलोवाटको जनप्रिय एफएमको आवाज अग्ला डाँडाले नछेकिएका छिमेकी जिल्लाहरू दैलेख, बाजुरा, बझाङ्, कालिकोट, डोटीसम्मका भूभागमा सुनिने रहेछ। आजकल पहाडमा एफएम स्थापना खर्च दस लाख रुपियाँ पर्दोरहेछ। गार्हो भन्नु नै सञ्चालन खर्च रहेछ। सरकारले सामुदायिक रुपमा सञ्चालित एफएम रेडियोहरूलाई अरु बढी सहयोग र सुविधा दिने हो भने आमजनताले सूचनाको हक राम्रै उपभोग गर्न पाउने थिए।
देउडाको देश
अछाम पनि मध्य र सुदूर पश्चिमका अन्य जिल्लाझैं देउडाको निम्ति सार्है प्रख्यात छ। यतातिर गुड्ने प्रत्येकजसो गाडीमा देउडा नै बजाइएको पाइन्छ। देउडा लोप हुन लागेकोमा अछामीलाई चिन्ता लाग्न थालेको रहेछ। त्यही भएर चैतको होलीको अवसर पारेर देउडा गीत प्रतियोगिता गरिएको रहेछ। केही दिन अघि पुगिँदो हो त प्रतियोगिता हेर्न पाइन्थ्यो भन्थे मङ्गलसेन बसेर व्यापार गर्ने एक दैलेखी भाइ। देउडामा समाजका हरेक पक्ष ऋतु, प्रेम–प्रणय, धर्म, संस्कृति, राजनीतिबारे जनताको हृदयदेखिको आवाज, अनुमति एवम् प्रतिक्रिया पाइन्छ। ‘कसैलाई सुनका माला कसैलाई पोत्यानाईंत्र कसैलाई बासमती भात कसैलाई कोद्यानार्इं’ ले नेपालको सामाजिक विभेदलाई उजागर गर्दछ। दैलेखका साथीहरूले चैत १६ गतेको आमसभामा गाएको देउडाले स्थानीयको ध्यान गजबसँग तानेको सम्झँदै छु। कर्णाली नदी भारतलाई सुम्पिन लागेकोबारे गाइएको देउडाको एक अंश थियो –’शासनसत्ता चलाउनेले देश बेचे कहिलेत्र कोशी र गण्डकी बेचे कर्णाली अहिले’।
१४ लाखमा गाउँ उज्यालो
मङ्गलसेनबाट फिर्ता भई गैरीटाँड सम्मको २३ किमि बाटो कटाउन जीपमा दुई घण्टा लाग्यो। दुई दिन अगाडि बाटोमा गजधुम्म बसेको उही डोजर उस्तै थियो। काठमाडौंबाट सामान आइनपुगेर अलपत्र रहेको रहेछ। गाडीको बाटो छेकेर बसेको डोजर छल्न हिँड्नेबाहेक अरु उपाय थिएन। अलि पर अरु जीप हामीजस्ता यात्रुको पर्खाइमा थिए।
चैत २० गतेको बसाइ अछामको गैरीटाँडमा। पार्टीको प्रशिक्षण थियो। गैरीटाँडको कार्यक्रम सुरु हुन केही समय बाँकी थियो। मङ्गलसेनमा पानीको अभाव भएर, लुगा धुन पाएका थिएनौं। खोलामा लुगा धोयौं। झरनाजस्तै धारो थियो। स्थानीयको सक्रियतामा पाँच किलोवाटको सानो जलविद्युत चलाइएको रहेछ। चौध लाख रुपियाँको लागत रहेछ। केही दर्जन घरले बिजुली बाल्न पाएका छन्। नेपालमा धेरै गाउँमा यस्ता साना जलविद्युत योजना सञ्चालन गरी विद्युत उत्पादन गर्नेे सम्भावना भएर पनि त्यतापट्टि योजनाविद्हरू र सरकारमा जाने राजनीतिक दलहरूको ध्यान गएको छैन।
चैत लाग्यो गुँरास फुल्यो
मङ्गसेनको बाटोमा प्रशस्त लालीगुराँस फुलेको देखेका थियौं। लालीगुराँस नेपालको राष्ट्रिय फूल। चैत–वैशाख लालीगुराँस फुल्ने याम। गीतै छ, ‘चैत लाग्यो, गुराँस फुल्यो’। नारायणगोपालले गाएका छन्, ‘म त लालीगुराँस भएछु, बनै भरी फुलिदिन्छु’। लालीगुराँसले बसन्तको सङ्केत गर्छ, न्यानो दिन आयो भन्छ। रातो रङ्गलाई क्रान्तिको रङ्गको रुपमा पनि लिइन्छ। विशेष पर्वमा नेपाली महिला रातोमै सजिन मनपराउँछन्। रातो टीका लगाएर विजयउत्सव मनाउने गर्छन्, नेपाली। वसन्तसँगै खेलिने होली पर्वमा पनि रातो अविरकै प्रयोग हुन्छ। भक्तपुरको सूर्यविनायक डाँडा चढ्दा वा लाङटाङ जाँदा होस् वा दैलेखको गुराँसे पुग्दा, लालीगुराँस ढकमक्क फुलेको देखेको छु। १४ सय मिटर उचाइदेखि ३६ सय मिटरको उचाइमा लालीगुराँस फुलेको पाइन्छ। नेपालमा विश्वभर पाइने एक हजारभन्दा वढी मध्ये ३० प्रजातिका लालीगुराँस फुल्छन्। गैरिटाँडको कार्यक्रममा अतिथिको स्वागतको निम्ति लालीगुराँसै ल्याइएको थियो। कार्यक्रम सकिएपछि साना बहिनीहरूले लालीगुराँस लिएर चुस्न र खान पो थाले। फूलको फेदतिरको भाग चुस्दा गुलियो स्वाद आउँदो रहेछ। मह पाइन्छ भन्थी एक बहिनी। फूल चपाउँदा अमिलो हुने। भक्तपुरमा पनि यसलाई औषधिको रुपमा प्रयोग गरेको पाइन्छ। माछाको काँडा वा कन (गहुँको झुस) घाँटीमा अडि्कए लालीगुराँस खाए ठीक हुन्छ भनिन्छ। हिजोआज लालीगुराँसको जुसको उत्पादनसमेत हुन्छ। यसले कलेजोको रोग, मृगौलाको पत्थरी र केही स्त्रीरोगको निम्ति औषधिको काम गर्ने धारणा छ।
गाडी छाडी हिँड्न थाले
चैत २० गतेको गैरिटाँडको कार्यक्रम टुङ्ग्याएर २१ गते बिहानै हिँडेर बेलखेत पुग्ने योजना थियो तर गाडी आउने सङ्केत पाएपछि रोकियौं। गाडी आउने नआउने कुनै निश्चित रहेनछ यतातिर। यात्रु सङ्ख्यामा पनि भरपर्दोरहेछ। गाडी भनेको समयभन्दा २ घण्टा ढिलो १२ बजे आइपुग्यो। तर यात्रु नपुगेको भन्दै विनायकसम्म मात्र जाने भन्न थाल्यो, चालक। कम यात्रु भएपछि बढी भाडा उठाउन यस्तो भनेको रहेछ। उसै त भाडा महँगो त्यसमा पनि थप भाडा भनेपछि भएका यात्रु पनि झर्न थाले। कति जना हिँडेर जाने भन्न थाले। १६ किमि बाटोको डेढसय मागेपछि बिचरा गाउँका सर्वसाधारणले के गरोस्। एक जोडी अधवैंसे पुरुष र महिला एक छोरी साथ लिएर ३० – ४० किलोको भारी पिठ्युँमा बोक्दै अगाडि बढे। अलमलमै अरु स्थानीयले बाटो तताए। तिनको निम्ति एक दुई घण्टाको हिँडाइ त मामुली नै हुन्छ। हामीलाई भने सुर्खेतको कार्यक्रम भ्याउनु थियो। हिँडेर पुगिने बाटो थिएन।
टिकाउ प्रयोगात्मक शिक्षा
विनायकमा खानाको लागि रोकिएको गाडी एकघण्टा त्यतिकै रह्यो। हामीले गैरिटाँडमै खाना खाइसकेकोले चिया खाने प्रस्ताव भयो। दूध चिया खान पाएकोमा आनन्दै लाग्यो। डाँडोमा रहेको विनायक बजार सानै छ। २०५८ सालमा द्वन्द्वमा ध्वस्त प्रहरी कार्यालायलगायतको पुनःनिर्माण भइसकेको रहेछ। कपडा सिलाउने दमाइ, ढुङ्गाको घर बनाउने कर्मी, गाउँबाट लत्ता कपडा, नुनतेल किन्न आएका मानिस क्यामेरमा कैद गर्न भ्याएँ। गाउँको स्वास्थ्य केन्द्र, दूर सञ्चार र कम्प्युटर तालिम दिने संस्थाहरूले आफ्नो चौरभरि सौर्यऊर्जाको प्यानल राखेको पनि देखियो।
विनायकमा बाटोमा १०–१२ वर्षका एक हुल किशोरहरू भेटिए। विद्यालयको शैक्षिक सत्र सकिएर फुर्सदमा रहेछन्। विनायकको एक उच्चमाविमा ६ – ७ कक्षामा पढ्दा रहेछन्। विद्यालयमा पुस्तकालय भएको तर १० कक्षा माथिका विद्यार्थीलेमात्र पुस्तक घर लिन पाउँछन् भन्थे ती विद्यार्थी। एक भाइले विज्ञान प्रयोगशालामा चुम्वकको गुणबारे प्रयोग विधिबाट सिकेको कुरा भन्यो– विपरीत ध्रुव आकर्षित हुन्छन्, समान ध्रुव विकर्षित हुन्छन्।’ प्रयोग विधिबाट विज्ञान पढाइएको भए नेपाली विद्यार्थीलाई विज्ञान बुझ्न गार्हो हुँदैन।
बाटोमा बिठ्याइँ
माटोको बाटो अलि पानी परेपछि विग्रीहाल्ने। अघिल्लो दिन अलि हावाहुरी सहित फाट्टफुट्ट पानी परेको थियो, जमेको पानी देखेर गाडी अगाडि बढाउन डर भएछ। नजिकैबाट ढुङ्गा जम्मापारी बाटोको खाल्डो पुरियो। चैतमै यस्तो समस्या छ भने वर्षामा बाटोको हालत कस्तो होला?
हामी तीन दिन अघि कर्णालीको फेरी तरेर अछाम लागेपछि जेनेरटर बिग्रिएर बन्द भएको फेरी सेवा अछामबाट बिदावारी हुने बेलासम्ममा बनेको रहेछ। नत्र नाउमा कर्णाली पार गर्नुपर्ने थियो। नाउमा कर्णाली तर्र्न पाए हुन्थ्यो भन्ने रहर नभएको भने होइन।
गाडीको साहुलाई सुर्खेत पुग्ने हतार थिएन। यात्रु कम भएपछि ढीलै हिडौं भन्ने रहेछ उनमा। सुर्खेत पुगेर गाडी पालो कुर्न (डिटेन) राख्नुपर्ने भएपछि तिनलाई हतार हुने कुरै थिएन। यी साहुहरूलाई आफ्नो नाफा–घाटाको मात्र चिन्ता हुने रहेछ। कर्णाली राजमार्गमा बेलुकी ६ बजेपछि गाडी चलाउन निषेध छ। अधिकांश दुर्घटना राती नै भएकोले स्थानीय प्रशासनले यस्तो नियम लागू गरेको रहेछ। बाटोको स्थिति हुँदा स्थानीय प्रशासनको नियम उचित नै लाग्यो। भोलिपल्ट बिहानको कार्यक्रम भ्याउन सक्दो अगाडि पुगेर बास बस्नुपर्ने थियो। तर टुनिबगर आएर चियाखाजा खाने नाममा गाडी अलि बढी समय रोकियो।
हामीले रोटी खाने मनगरी पसलतिर चहार्यौं तर करिब दुई सय पसल भएको बजारमा परपरसम्म खोज्दा पनि नभेटिएपछि उही चाउमिनबाटै भोक मेट्न बाध्य भयौं। यात्रामा हिँड्दा पाएसम्म स्थानीय पाराको खानेकुरा खाउँ भन्ने लाग्छ तर स्थानीय खानेकुरालाई हेलाँ गर्ने संस्कारले जरा गाड्न थालेको अनुभव भयो। दैलेख बस्दा एकदिन प्रशिक्षण कार्यक्रममा सहभागी दिदी–भाउजू समूहको सक्रियतामा कोदोको रोटी बनेको सम्झेँ। कक्षामै व्यस्त हुनुपर्दा झण्डै रोटीको स्वाद लिन नपाएको। तै एउटा दिदीले भाग छुट्याएर राख्नुभएको रहेछ र कोदोको रोटीको तलतल मेट्न पाएँ।
खाजा खाइवरी गाडी साहु र ड्राइभर भने क्यारेम बोर्ड पो खेल्न बसे। आपत्ति नै जनाएपछि हिँड्ने सुरु कसे तिनले। पाल्तडाको प्रहरी चौकी पुग्दा बेलुकीको साढे पाँच बजिसकेको थियो। अलि बेर भएको भए हामी त्यहीँ रोकिनु पर्थ्यो र भोलिपल्टको कार्यक्रम समयमा पुग्न असम्भव हुन्थ्यो।
सित्तैमा बास
रातको बास बस्न दैलेखको तल्लो डुङ्गेश्वरमा पुग्यौं। अगाडि प्रहरी चौकी थियो। रातमा हिँड्न दिने कुरै भएन। सुर्खेत पुग्न करिव ३ घण्टाको बाटो मात्र थियो। हामी भोलिको कार्यक्रम भ्याउनेमा ढुक्क भयौं। तल्लो डुङ्गेश्वर बजार ठूलो भइरहेछ। राजमार्गको नयाँ नियमले पनि बजार विस्तारमा साथ दिएको होला।
गाडी चालकको उर्दी थियो, ‘सबैजना एउटै होटलमा बस्ने, नत्र भोलि बिहान गाडी छुटे जिम्मेवार हुने छैनौं।’ पछि थाहा भयो होटेल त ड्राइभरको आफ्नै दिदी–भिनाको पो रहेछ। तर मजाको कुरो, यतातिरका होटेलहरूको अचम्मको सुविधा रहेछ। खाना खाएपछि सित्तैमा बास पाउने। उता अछाममा पनि यस्तै सुविधा थियो। गाउँतिर पाहुनालाई सत्कार गर्ने यो भावन सहरीकरणसँगै मर्दैछ। पुराना मानिस अतिथि देव भवः भन्छन्। बजारमै पनि एक सय रुपियाँको भात खाएपछि अरु सेवा सबै निःशुल्क ! तैपनि नाफा हुन्छ तिनलाई। अन्यत्रका व्यापारीले कति धेरै नाफा कमाउँदा हुन्।
बिहान ५ बजे उठ्दा कालीकोट जाने गाडीका एक यात्री गाडी छुटेकोमा अतालिरहेका थिए। गाडी चालकले भनेकै समयमा तयार हुँदा पनि छोडेर गएको भन्थे बिचरा ! कति पो हतार थियो ! प्रहरी चौकीमा गुनासो गर्न जान्छु भन्थे, के भो होला भन्नेमा पिरलो भइरह्यो बाटोभर।
घिउमा हालेको स्वादको रोटी
तल्लो डुङ्गेश्वरमा बिहान कोइलीको कुहु र भङ्गेराको चिरविरसँगै सुर्खेत प्रस्थानको निम्ति तयार भयौं। बिहान चराहरू गुँडबाट निस्किने बेला थियो। गाडीमा हिँड्दै गर्दा लामो पुच्छर भएको रङ्गीन चरा रुखको हाँगोमा बसेको देखेँ। जैविक विविधताले भरिएको नेपालको वैभवप्रति गर्वले छाती ढक्कै फुल्दोरहेछ। जीवशास्त्रको विद्यार्थी भएर पनि यतापट्टि बढी ध्यानाकर्षण भएको हुनुपर्छ।
हरेक दिन गाडीमा यात्रुसँग भाडा विवाद त पर्थ्यो नै। सयौं घुम्ती पार गरेर सुर्खेतको बड्डीचौर पुगेपछि समयमै सुर्खेत पुग्नेमा निश्चिन्त भयौं। बड्डीचौरमा घिउमा पकाएको रोटीको कारण ‘ब्रेकफास्ट’ नबिर्सने बन्यो। दैलेखतिरका मानिस घिउमा रोटी पकाउन सिपालु हुन्छन् भनिन्छ, साँचो लाग्यो। जुम्ला, कालीकोट र अछाममा भन्दा दैलेखमा गहुँ राम्रो फल्ने र गाई–भैंसी पनि बढ्तै हुने भएर पनि रोटी र घिउको संस्कृति राम्रो भएको हुनुपर्छ।
बड्डीचौर पुगेपछि बल्ल नेपाल दूरसञ्चारको नमस्ते मोबाइल टेलिफोन सम्पर्क राम्रो भयो। दैलेख, अछाममा सीडीएम मोवाइल फोन सार्है चालू पाएका थियौं। तर सीडीएमए टेलिफोन सेटले तरङ्ग खोज्न नै धेरै ब्याट्री खर्च हुने गुनासो पायौं। रवीन्द्र भाइले बोकेको सीडीएमए सेटमा यस्तै भयो र अधिकांश समय दूरसञ्चारसँग सम्बन्धविच्छेद अवस्थामा हुन्थ्यो। अनेक खाले समस्या। एक, ब्याट्री चार्ज गर्न भनेको समयमा भनेको ठाउँमा नपाइने, दुई ब्याट्री धेरै खाने। त्यसैले चाहिएको बेला मोबाइलको स्वीच अन गर्ने, होइन भने स्वीच अफमा राख्ने काइदा अपनाइन्छयतातिर। साथीहरू मोबाइल सेवाका दुई तीन थरीका सीमकार्ड बोक्दा रहेछन्, जहाँ जुन कम्पनीको सेवा राम्रो छ त्यहाँ त्यही चलाइँदो रहेछ।
प्रशिक्षणको महत्ता
सुर्खेत वीरेन्द्रनगरमा चैत २२ गते मध्यान्हबाट करिब छ घण्टाको प्रशिक्षण भयो। समसामयिक राजनीति र नेमकिपाको धारणा, पार्टी कार्यकर्ताको जिम्मेवारी, वैदेशिक हस्तक्षप, माथिल्लो कर्णाली परियोजनामा भएको देशघात, समाजवादी शिक्षा व्यवस्था आदि विविध विषय थिए। मल्टिमेडियाको प्रयोगले प्रशिक्षणलाई अलि वढी प्रभावकारी बनाएको अनुभव भयो। सिक्नको निम्ति सबै ज्ञानेन्द्रीय सक्रिय हुनुपर्छ भन्ने पुष्टि गर्यो। पुराना कार्यकर्ताको निम्ति नयाँ विषय र नयाँ कार्यकर्ताको निम्ति पुरानै विषयहरू पनि बेजोड हुँदा रहेछन्। समसामयिक राजनीति, पार्टी नीति तथा सिद्धान्तबारेका अन्योल र अस्पष्टता चिर्न यस्ता कार्यक्रमले सहयोग गर्छ।
हिँड्न हतार
धेरैदिन बितिसक्दा आफ्ना अन्य नियमित जिम्मेवारीले बढी झक्झक्याएर होला काठमाडौं हानिन हतार भइरहेको थियो। देशको राष्ट्रिय राजनीति अन्योलग्रस्त नै थियो। प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले एक प्रतिशत मत नआउने पार्टीलाई समानुपातिकबाट निर्वाचित हुन नदिने प्रस्ताव गरेको यसअघि नै सुनेका थियौं। जन्मको आधारमा नागरिकता पाउने विदेशीका सन्तानलाई पनि वंशजको नागरिकता दिने अध्यादेश पारित गर्ने सम्भावनाले देश फिजी त बन्ने होइन भन्ने भय थियो। सत्तामा जाने र पुगेका राजनीतिक दलहरू असारमै दोस्रो संविधानसभाको निर्वाचन गर्नुपर्ने धम्की दिँदै थिए। देशको जटिल राजनीतिक अवस्थामा कुनै पनि घोषणा वा सरकारी योजनाको तत्काल प्रतिक्रियाको निम्ति तयार हुनुपर्ने बेला थियो। यस्तो अति महत्त्वपूर्ण बेला सञ्चारको राम्रो सुविधा नभएका गाउँपाखाको भ्रमण गरिरहँदा एकप्रकारको डर, आशङ्का हुनु अस्वाभाविक हुन्न, खासगरी पार्टी नेतृत्वलाई।
जे होस्, चैत २३ गते नै घर फर्किने योजना बन्यो। सुर्खेतको बुलबुले, काँक्रेबिहारलगायतका ठाउँहरू फेरि एकपटक घुमेर फर्किने साथीहरूको प्रस्ताव र आफ्नो इच्छा थाँति राखी, आशा र सम्भावनाको पोको बाँधेर बिदा भयौं सखारै, कोहलपुर पुग्ने ध्याउन्नामा। सुर्खेतबाट काठमाडौं हिँड्ने दिवा सेवाको गाडी सेवाको भएकोले बिहानै कोहलपुर जाने माइक्रो गाडी समातेका थियौं। कोहलपुरबाट नारायणघाट पुगेर भैरहवाबाट आएको काठमाडौंको गाडी चढ्यौं।
गाडीका यात्रुमध्ये सबैजसो राजस्थानबाट काठमाडौं घुम्न आएका थिए। काठमाडौंका अँधेरा विसौनीहरूमा यात्रुहरू झरे। म भने यात्राको रोमाञ्चमा रमाइरहेको थिएँ– फेरि कहिले भ्रमणमा निस्कने होला, पश्चिमदेखि सुदूर पश्चिम र त्यहाँदेखि पनि पश्चिम………।
समाप्त
(स्रोत : मजदुर दैनिक)