~किरण टि लिम्बू~
जिन्दगीको सही अर्थ नै जीवन बोध हुनु हो
जीवनप्रति बोधगम्य हुनु नै सही जीवन हो
दिनको उज्यालोमा मात्र हाँस्ने जीवन के जीवन ?
जीवनको अँध्यारो भित्र पनि बाँच्न सिकौं।
दिनलाई आफ्नो स्वार्थमा मात्र जगाउने होइन
अनि रातलाई निर्बाध सुताउने मात्र होइन
उज्यालोमा मात्र रमाउने जीवन के जीवन ?
निस्तब्ध रातमा पनि जगमगाउनु सिकौं ।
दिनलाई ठगेर रात भोग्ने मानव जीवात्मा
रात जागुन्जेलसम्म मन मस्तिष्कलाई मार्दै
रातको काखमा निर्लज्ज मरेको जीवन के जीवन ?
अब रात सँगै बाँचेर पनि मर्न सिकौं ।
आफ्नो जीवनको अन्धकारलाई फाल्नु छ भने
अँध्यारोलाई बालेर जीवन ज्योतिर्मय बनाऔँ
घामको उज्यालो मात्रै चोर्ने जीवन के जीवन ?
जुनेली रातको किरण पनि चोर्न सिकौं ।
दुराशयता मानिसको किमार्थ सुःस्वपन होइन
सदाचारी र आदर्शवादको दुःस्वप्न बरु राम्रो
स्वनिर्भर र स्वावलम्बन बिनाको जीवन के जीवन ?
जीवनले भोगेका सुस्वानुभूतिहरुलाई बाँड्न सिकौं।
(स्रोत : सत्यतथ्य मासिक वर्ष २, अंक १२, सेप्टेम्बर २०१३)