~कार्तिकेय घिमिरे ~
मध्यान्हको समय थियो । चर्को घाम लागिरहेको थियो ।
कक्षा ४ का विद्यार्थीहरु कक्षा कोठाभित्र खुबै हल्ला गरिरहेका थिए । हा–हा हु–हु गर्दै उनीहरु कक्षा थर्काउँदै कराइरहेका थिए ।
ट्वाङ्ट्वाङ् घन्टी लाग्यो । कृष्ण सर कक्षा कोठाभित्र छिर्नु भयो । सबै विद्यार्थी गुड आफ्टरनुन सर भनेर एकैसाथ उभिए । उहाले ल ल ठीक छ बस बस भन्नु भयो ।
सबै विद्यार्थी एक साथ बसे । सर कालो पाटीमा लेख्न थाल्नु भयो । विद्यार्थीहरु फेरि हल्ला गर्न थाले । सरले रिसाउ“दै विद्यार्थीतिर फर्किएर भन्नु भयो – ए एकछिन हल्ला नगर त
सरले कराएपछि एकछिन सबै चुपचाप लागे । कृष्ण सर फेरि कालोपाटीतिर फर्केर लेख्न थाल्नुभयो । विद्यार्थीहरु फेरि हल्ला गर्न थाले । सरलाई दिक्क लाग्यो । उहा“ले झर्किंदै भन्नुभयो – ल तिमीहरु सबै जनाले यो कालोपाटीमा लेखिएको प्रश्नको उत्तर लेख ।
यति भनिसकेपछि कृष्ण सर दिक्क मान्दै कुर्सीमा बस्नुभयो । उहा“ले चक र डस्टर छेउको टेबुलमाथि राख्नु भयो ।
एकछिन पछि सरले एउटा अचम्मको दृश्य देख्नुभयो । त्यो दृश्य एकदमै गजबको थियो । सरले अघि टेबुलमाथि राख्नु भएको डस्टर बिस्तारै–बिस्तारै उड्दै थियो । सरले निकै अचम्म मानेर डस्टरलाई हेर्नुभयो । उहा“ डस्टर कहा“ जा“दोरहेछ भनेर एकटकले हेरिरहनुभएको थियो । डस्टर बिस्तारै उडेर छात्रातर्फको बेन्चको अन्तिमतिर पुग्यो । त्यहा“ कक्षाको सबैभन्दा बढी हल्ला गर्ने छात्रा राधा हल्ला गरिरहेकी थिइन् । डस्टर राधा छेउमा गएर टक्क अडियो । उसले पुलुक्क राधालाई हेर्यो । अचानक राधाको गालामा डस्टरले चड्याम्म हिर्कायो । राधा झसंग भइन् । उनी आत्तिदै हतार–हतार सरले कक्षामा दिएको कार्य गर्न थालिन् ।
कृष्ण सरलाई यो दृश्य देख्दा निकै मज्जा लाग्यो । उहा“ अब डस्टर कहा“ जादोरहेछ भनेर निकै उत्सुक भएर फेरि हेर्न थाल्नुभयो । डस्टर उड्दै–उड्दै छात्रतर्फको अन्तिम बेन्चमा पुग्यो । त्यहा“ अर्का सबैभन्दा बढी हल्ला गर्ने छात्र राम हल्ला गर्दै बसेका थिए । डस्टर राम छेउमा गएर टक्क अडियो । उसले रामलाई पुलुक्क हेर्यो । त्यसपछि रामको गालामा पनि डस्टरले चड्याम्म हिर्कायो । राम आत्तिए । उनी हतार–हतार कापी निकालेर सरले दिनुभएको प्रश्नको उत्तर लेख्न थाले । यो दृश्य देखेर कृष्ण सरलाई निकै आनन्द लाग्यो । उहा“ रमाउनु भयो ।
यसरी कक्षामा सबैभन्दा बढी हल्ला गर्ने राधा र रामले चुपो लागेर प्रश्नको उत्तर लेख्न थालेपछि कक्षाकोठा शान्त भयो । सबै विद्यार्थी मस्तस“ग उत्तर लेख्न थाले ।
कृष्ण सरलाई अब डस्टर कता जादोरहेछ भनेर हेर्न खुबै चासो लाग्यो । उहा“ले निकै ध्यान दिएर डस्टरलाई हेर्नुभयो ।
डस्टर बिस्तारै–बिस्तारै उड्दै सर भएतिर नै आउ“दै थियो । सरको छेउमा आइपुगेपछि डस्टर टक्क रोकियो । डस्टरले क्वारक्वारती सरलाई हेर्न थाल्यो ।
कृष्ण सर अचानक चिच्याउदै कराउनु भयो– डस्टर भाइ मलाई नपिट्नुस् अबदेखि म कक्षा कोठामा निदाउदिन । सरको यस्तो कुरा सुनेर सबै विद्यार्थी गलल्ल हा“से ।
कृष्ण सरले झल्यास्स ब्यूझिएर चारैतिर हेर्नुभयो । सबै विद्यार्थी मुसुमुसु हासिरहेका थिए ।
ट्वाङट्वाङ घन्टी लाग्यो । सर चक र डस्टर बोकेर अफिस कोठातिर लाग्नुभयो । विद्यार्थीहरु सबै सरले भन्नुभएको वाक्य सम्झदै मुसमुसु हास्दै पढ्न थाले ।