~नीलम कार्की निहारिका~
एकै हुन्छ मेरा लागि उस्तै रात दिन
संसार हेर्न पठायौ दैब दृिष्ट नदिई किन ?
हरियो छ भन्छन् धर्ती आकाश नीलो छ रे
लुक्दै छिप्दै डाँडाँबाट ,सूर्य उदाउँछ रे
हरियो र नीलो भन्ने, रंग कस्तो होला
आकाशले छोपी राख्या धर्ती कत्रो होला ?
एकै फेर मनभित्र तस्बिर, खिच्न पाएँ भने
कल्पी बाच्थे सबैतिर ,कालै बादल छाएपनि
आमा बाबु एकान्तमा भाग्य छाम्दै रोलान्
दिदी भनी बोलाउने भाइ कस्ता होलान् ?
छाम्दा तातो हुन्छ आसु बग्दा कस्तो होला ?
हो रे मेरो पनि उस्तै उही मनुस्य चोला
बिहान भो कि भन्दै कोल्टे फेर्न परेको छ
यी आँखाले नदेखेनी संसार भोग्नु परेको छ ।।
(अमेरिकामा बसोबास गरिरहनुभएकी साहित्यकार कार्कीको यो गीत दृष्टिविहिन बालिका सरिता अधिकारीले गाउनु भएको छ ।)