~करूण थापा~
कहाँ रुन्थें आँसु झार्दै पुछ्ने हात हुँदो हो त ।
तिमी विना बाँच्न सक्ने मेरो आँट हुँदो हो त ।
बेहोशी मै जीवन काट्थें तिमीलाई सम्झिएर
जुनी जुनी बेहोश गर्ने यस्तो मात हुँदो हो त ।
संसारै पो जलायौ र माफी दिन सकिन नि
आँखा चिम्ली दिन्थें नि त सानो बात हुँदो हो त ।
समाजले थुक्दैनथ्यो तिम्रो मेरो मायालाई
पशु जस्तै मानिसको यौटै जात हुँदो हो त ।
आफ्नै मुटु बाली बाली किन काट्थें रातहरु
मेरो पनि पुर्णिमाको उजेलो रात हुँदो हो त ।
तिम्लेजस्तै अभिनय मै पनि गर्थें होला
देखाउन र खानलाई बेग्लै दाँत हुँदो हो त ।
यति सहें खडेरी र बतासका झोंकाहरु
झरिदिन्थें सुकेर म जीवन पात हुँदो हो त ।
बसन्तको मौसम मेरो जिन्दगीमा फुल्थ्यो होला
यति विरान कहाँ हुन्थें तिम्रो साथ हुँदो हो त ।
Jan 6, 2011
काठमाडौं