यात्रा संस्मरण : मातृभूमिको यात्रा र सामाजिक सेवाको अनुभवहरु

~केशव भण्डारी~Keshab Bhandari

करिब चार वर्षको लामो अन्तरालपछि आफ्नो जन्मभूमि गुल्मी जाने तरखरले म निकै हौसिएको थिए । चौरासी नाघी सक्नु भएको आमाको हातको टीका लगाउन दसँैमा नेपाल जान पाउँदा बेलायतमा परिवारलाई चाडपर्वको बेलामा छोड्नु पर्दा पनि मैले अप्ठेरो मानेको थिइन । तर करिब एक शताव्दी नै पार गरि सक्नु भएको श्रद्धेय हजुरआमाको स्वर्गवासको खबरले म स्तब्ध भए । दसँैको समयमा टिकट पाउन गाह्रो पर्ला भनी कन्फर्म गरेको टिकट पनि सार्नु प¥यो । लामो समयपछि आमाको हातबाट दसैँको टीका थाप्ने अवसर फेरि पनि मिलेन । सदाझैँ दसँै र तिहार बेलायतमा परिवारसँग विताएँ । तर नेपाल जान आतुर मेरो मन रोकिएन र तिहारको अर्को दिनै अर्थात नोभेम्बर ६ तारिख लण्डन हिथ्रोबाट नेपाल उडेँ ।

जेट एयर लायन्सको लामो ट्रान्जिट पनि पर्वाह भएन । मुम्बई एयरपोर्टको ११ घण्टाको कुर्सीको बसाई पनि आफ्नो मातृभूमिमा रमाउने सोचाइले कतिबेला सिद्धियो पत्तै भएन । आमा र आफन्तहरुलाई भेट्ने र जन्म गाउँमा नै बसेर छुट्टी कटाउने अठोट लिएर म जाँदै थिए । यसभन्दा अगाडिका यात्राहरुले गाउँको तिर्सना मेटाउन सकेका थिएनन् । यसैले काठमाडौंमा दुईरात विताई ९ नोभेम्बरमा गुल्मीको लागि रात्रियात्रा सुरु गरेँ ।

दिउँसो २ बजे गंगबु बसपार्कबाट छुटेको बसले नारायणघाट, बुटवल, पाल्पा, रिडी हुँदै नोभेम्बरको १० गते विहान ५ बजे गुल्मीको सदरमुकाम तम्घास उता¥यो । करिब चारसय किलोमिटरको बसयात्राले म थकित थिएँ । अझ करिब १५ किलोमिटर कच्चीबाटो सफर गर्नु थियो, मेरो प्यारो जन्म ठाउँ धुर्कोट बस्तु पुग्न । तम्घासमा केही समय भुल्नु थियो । होटेलमा केही समय आराम गरी गरीव र दलितहरुका समाचार खोजखबर गरेर अनलाईन र रेडियोमा ल्याउने स्थानीय पत्रकार प्रेम सुनारको खोजी गरँे । उनलाई गुल्मी जिल्ला समाज, यूकेका साथीहरुले पठाएको अडियो रिकर्डर हस्तान्तरण गरे । उनले छोटो समयमा पनि निकै चासोकासाथ गुल्मी जिल्ला समाज, यूकेले गरेका सामाजिक कार्यको बारेमा जिज्ञाशा राखेँ । मैले पहिलो पटक उनैले मिडियामा सार्वजनिक गरेको शौचालयमा बस्दै आएकी ज्ञानी परियारलाई समाजले घरवारको लागि आर्थिक सहयोग गर्ने कुरा बताउँदा उनी निकै खुसी भए । गुल्मीको लोकप्रिय रेसुङ्गा रेडियोमा म केही कार्यका साथ आएको कुरा साँझको समाचारमा प्राथमिकताका साथ प्रकाशित गरिदिए ।

सदरमुकाम सुनसान देखिन्थ्यो । चिनेजानेका साथीहरु सदरमुकाममा भेटिदैनथे । दौस्रो संविधानसभाको चुनावी माहौल निकै तातेको थियो । गुल्मी जिल्ला समाजको कामले जिल्ला शिक्षा कार्यालयमा जानु थियो । गुल्मी जिल्ला समाजको माध्यमबाट समाजसेवी सुरेशचन्द्र गौतम र राम सापकोटाले प्रत्येक वर्षको एसएलसीमा गुल्मी जिल्लाका सामुदायिक स्कुलबाट उत्कृष्ट हुने छात्र छात्रालाई जनही २० हजार रुपैयाँ पुरस्कार प्रदान गर्नु भएको छ । आएको समय यो काम पनि सम्भव भए गरौँ भन्ने थियो तर कर्मचारी चुनावतिर व्यस्त भएको कारण सम्भव भएन । गुल्मी जिल्ला समाज, यूकेले वर्षेनी अपाङ्गहरुको लागि काम गर्दै आएको गैरसरकारी संस्था आशा अपाङ्ग केन्द्र, गुल्मीलाई सहयोग गर्दै आएको जिल्ला केन्द्रमा पनि केही समय मिलाएर गएँ । आशा अपाङ्ग केन्द्रका प्रवन्धक निर्देशक गंगा रायमाझी अफिसमा काममा व्यस्त थिइन् । म आएको देखेर निकै खुसी हुँदै समाजको सहयोगबाट केन्द्रले गरेका कार्यको बारेमा जानकारी गराइन् । उनी स्वयं दुबै खुट्टा बिहिन छन् । तर उनीले नमूनाको रुपमा अपाङ्गहरुको लागि सेवा गरिरहेकी छन् । आशा अपाङ्ग केन्द्र जिल्लामा अहिले अपाङ्गहरुको लागि भरोसाको केन्द्र बनेको छ ।
अर्को दिनदेखि संविधानसभा निर्वाचनका विरोधीहरुको नौ दिने बन्द कार्यक्रम भएकोले बेलुकासम्म मैले तम्घास छाडी जन्म गाउँ धुर्कोट बस्तु लाग्नु थियो । सामान र मान्छेले भरिएको बसमा मैले दुई घण्टाको यात्रा सुरु गरेँ । तम्घासको व्यस्तताले घरमा म रातिसम्म आउने खबर पनि गर्न भ्याइन । एक्कासी घरमा पुग्दा आमा र भाउजु अचम्ममा पर्नु भयो । आमालाई भेट्दा हर्षको सीमा नै भएन । म सानो हुँदा घरपरिवारले भरिभराउ मेरो जन्मघरमा अहिले बृद्ध आमा र भाउजु मात्र देख्दा कताकता सून्य लाग्यो । आखिर प्रायः गाउँका घरहरुको हालत अहिले यस्तै छ । घरमा बुढाबुढी र तिनीहरुलाई हेर्न एकाद नातागोता बाहेक अरु भेटिदँैनन् ।

चुनावको कारण गाउँको चहलपहल निकै बढेको थियो । यसैले पनि गाउँको बसाई भेटघाटमा हिसाबले लाभप्रद नै रह्यो । अव्यवस्थित भए पनि मोटरबाटोको सुविधा र यदाकदा बिजुलीका खम्बाले गाउँमा भौतिक विकासमा परिवर्तन देखिए पनि गाउँमा बस्नेहरुको जीवनस्तरमा भने विगतमा भन्दा खासै फरक देखिएन । मोबाइल फोन, बिजुली र यातायातको खर्च बढ्दो छ तर आम्दानी हिजोको भन्दा खस्किएको छ । विगतमा अनाज बेचेर आम्दानी गर्नेहरुले अहिले इन्डियाबाट गएको चामल किनेर खानुपर्ने अवस्था छ । विदेशमा गएर कमाएकाहरुले पठाएको पैसामा कतिपय घरपरिवार चलेका छन् । रेमिटेन्टले धानेको नेपालको अर्थतन्त्रको प्रभाव सहरमा मात्र होइन गाउँमा पनि प्रष्ट देखिन्छ । गाउँमा बसेर आर्थिक आर्जन गर्ने शिक्षक, एकाद कर्मचारी र औँलामा गन्न सकिने व्यापारीहरु बाहेक अरु भेटिदैँनन् ।

आमालाई एकाध धार्मिकस्थल घुमाउने विचार थियो तर तीन हप्ताको नेपाल बसाईले साथ दिएन । त्यसैमा पनि नोभेम्बर १९ सम्म त नेपाल बन्दका कारण गाउँ छोडेर यताउति जानै पाइएन । गुल्मी जिल्ला समाज, यूकेले दिएको मुख्य जिम्मेवारीको काम बिगत पाँच वर्षदेखि बच्चाहरु सहित शौचालयमा बसिरहेकी ज्ञानी परियारलाई सहयोग रकम हस्तान्तरण गर्ने कार्य बाँकी नै थियो । हरेक कुरालाई राजनीतिकरण गर्ने परिपाटी अझ त्यसमा चुनावको समय, त्यसैले चुनाव अगाडि सो पनि सम्भव भएन । ज्ञानी परियार बस्ने गाउँ मर्भुङ्ग गाविस मेरो गाउँभन्दा अझ दुर्गम ठाउँमा पर्दछ । त्यहाँको समाजसेवीहरुले बल्लबल्ल २१ नोभेम्वरका लागि कार्यक्रम तय गरे ।

ज्ञानी परियारलाई सिधै पैसा दिनुभन्दा घरको व्यवस्थापनको लागि एउटा समिति बनाएर पैसा दिँदा उचित हुन्छ भन्ने चन्दादाताहरुको चाहना भएको कारण मैले उहाँहरुलाई एउटा समिति बनाउन भनेको थिए । तर त्यसमा पनि केही समस्या देखिएकोले मेरो उपस्थितिमै समिति बनाउनु पर्ने भयो । मैले यस कार्यको लागि मेरो वाल्यकाल देखिका मित्र एवं हाल जिल्ला रेडक्रस शाखाका उपाध्यक्ष कृष्ण भण्डारीलाई सहयोगको लागि अनुरोध गरेँ । उहाँको मोटरसाइकलमा हामी ज्ञानी परिवारको गाउँ मर्भुङ्ग सिमलटारी बिहानै प्रस्थान ग-यौँ ।

करीब दुई घण्टाको घोडेटो बाटोमा जोखिमपूर्ण यात्रा गर्दै ज्ञानी परिवारको गाउँ पुगियो । बेसीमा अवस्थित सिमलटारी अहिले केही पक्की घरहरु सहित व्यापारिक बजार भएको रहेछ । त्यही बजारमा जाने पुलको मुखैको भिरालो पाखामा बनाइएको सार्वजनिक शौचालयमा आफ्ना १०, १२ वर्षका दुई छोरासहित ज्ञानी परियार बस्दी रहिछिन् । त्यस्तो सबैको आँखा पर्ने ठाउँमा विगत पाँच वर्षदेखि खुट्टा पसारेर सुत्न पनि नमिल्ने शौचालयका लागि बनाएको सानो टहरोमा बस्दा पनि सम्बन्धित निकाय र गाउँका स्थानीय नेता एवं समाजसेवीहरुको ध्यान नपुगेको देख्दा अचम्म लाग्यो । गाउँमा कसैलाई नभेट्दै ज्ञानी परिवार बस्ने ठाउँ यही हुनुपर्छ भन्ने अनुमान गर्न हामीलाई गाह्रो भएन ।

दोस्रो संविधनसभाको निर्वाचनको परिणाम आउन थालिसकेको थियो । बजारमा मान्छेहरु झुण्डझुण्ड भएर एफएम रेडियो सुनिरहेका देखिन्थ्यो । मैले स्थानीय महिला समाजसेवी पुनम अर्यालसँग सम्पर्क गरी हामी आएको जानकारी गराएँ । समाजसेवी पुनम अर्याल र सूर्यवहादुर केसीले गाउँका अन्य स्थानीय नेताहरु एवं समाजसेवीहरुलाई बोलाएर सानो कार्यक्रम राख्नु भयो । ज्ञानी परियार र उनका दुई छोराहरु पनि त्यहीँ आए । मैले ज्ञानी परियारलाई गुल्मी जिल्ला समाज, यूकेबाट बसोबासको व्यवस्था गर्न सहयोग लिएर आएको बताए । उनले भावविभोर भएर आँशु खसालिन् । समाजसेवी पुनम अर्याललाई ज्ञानी परियारको घर व्यवस्थापनको संयोजक बनाई बेलायतमा बस्ने गुल्मेली र अन्य सहयोगदाताबाट उठेको रकम एकलाख बाइसहजार रुपैयाँ २१ नोभेम्बर २०१३ का दिन हस्तान्तरण गरेँ ।

बेलायतमा बस्ने गुल्मेली र अन्य समाजसेवीहरुबाट दान गरिएको दश, बीस पाउण्डको सहयोगले ज्ञानी परियार र उनका बच्चाहरुको लागि जीवनकै ठूलो राहत भयो । यदि विदेशमा बस्ने नेपाीहरुबाट गरिएको सानोतिनो सहयोग पनि नेपालका सम्बन्धित पक्षसँग सही तरिकाले पु-याउने र त्यसको सही सदुपयोग गर्ने हो भन्ने ज्ञानी परियार जस्ता कयौँलाई ठूलो राहत पुग्ने विश्वासलाई मातृभूमिको मेरो यसपटकको भ्रमण अझ दृढ बनायो ।

(स्रोत : सत्यतथ्य मासिकको वर्ष २, अंक ४ जनवरी २०१४)

This entry was posted in नियात्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.