छन्द कविता : भन्नेगरेकी छु म

~कनकधारा स्वामी स्वदेशानन्द~kanakdhara-swami-swadeshanand

छन्द : शार्दूलविक्रीडित

मर्स्याङ्दीतटदेखि माथितिरको स्वर्लोकको साँधमा
सांग्रीला र हिमालका नजिकको देवालयोद्यानमा
फुल्थे फूलहरू विभिन्न थरिका हेरेर चौतर्फमा।
डुल्दैथे भ्रमरा पराग रसमा जिभ्रो लगाईकन।।01।।

पाखा सुन्दर,स्वच्छ शैल बनिए,जामेन पानी कतै।
बारीमा हरिया भएर लहरा उर्लेर आए अझै।
पन्छीले वनमा गरी चिरिबिरी संगीतको माधुरी।
फैलाए मनभित्र प्रेमलहरी फैलेर आए सरि।।02।।

देखिन्थ्यो वन कृष्णसार-शिशुले नाचेर झन् सुन्दर।
प्रेमी दम्पतिझैं थिए हरिणका माया बसी भर्खर।
प्यारीका सँग चक्रवाक गुँडमा बस्नेगरेका थिए।
एक्ली छौ वनमा भनीकन खिसी मानो गरेका थिए।।03।।

साथी साथ लिई जनावरहरू डुल्नेगरेका थिए।
जोड़ी वृक्ष समूहले क्षितिजको शोभा छरेका थिए।
अग्ला वृक्ष चढ़ी विभिन्न लहरा चुम्नेगरेका थिए।
प्रेमस्पर्श भएर वृक्ष-लहरा आपस्तमा टाँसिए।।04।।

यो ब्रह्माण्ड सबै चराचर जगत् प्राणीहरूको पनि
माया आपसमा लगाइरहँदै बित्नेभयो जीवनी।
छायाका सँग दौडिएर सविता पुग्नेभए पश्चिम।
माया दिन्छ चकोरले लिन भनी झुल्के यहाँ चन्द्रमा।।05।।

हावाको गति मन्द-मन्द बहँदै लाग्यो दिशा उत्तर।
छोप्ला बादलले भनेर शशिले हेर्दाभए सत्वर।
फारी बादल लोकबाट तलको धर्ती उज्यालो गरी।
डुल्थे चन्द्र प्रभा लिई प्रणयको प्रत्यक्ष लीला गरी।।06।।

लुक्थे बादलभित्र चन्द्र कहिले प्रेमी लुकेका सरि।
हेर्थे बादलबाट चन्द्र कहिले माया गरेको सरि।
ठूलो बादलको घटा-घटकमा लुक्दै र हेर्दै उनी
मानो आतुरता प्रदर्शित गरे भेटौं मलाई भनी।07।।

को हो मानिस यो भनी प्रकृतिले सोध्नेगरेकी थिईन्।
नेपाली दिल हो भनेर मनमा बुझ्नेगरेकी थिईन्।
यो नैसर्गिक दिव्य स्वर्गपुरको सौन्दर्य-संसारमा
मच्छर् पुग्छ, हिमाल दुख्छ कहिले भन्नेगरेकी छु म।।08।।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.