~कार्तिकेय घिमिरे~
एउटा रमाइलो जङ्गल थियो । त्यहाँ एक दिन एउटा बाँदरले चिटिक्क परेको बच्चा जन्मायो । बच्चा अचम्मको थियो । जन्मेको केही छिनमै ऊ आकासमा उड्न थाल्यो । ऊ निकै फुर्तिलो थियो । रूखको एउटा हाँगाबाट अर्को हाँगामा उफ्रन्थ्यो । ठूलाठूला रूखका हाँगा एउटै हातले भाँच्थ्यो । त्यो सानो बालकको शक्ति देखेर गाउँलेहरू अचम्म मानेर हेर्थे, उनीहरू बालकदेखि निकै डराएका पनि थिए ।
एक दिनको कुरा हो, त्यो बालक चौरमा सुतिरहेको थियो । उसको आँखामा घामको प्रकाश पर्यो । उसले घामलाई हेर्न सकेन । उसले रिसाउँदै घामलाई हेर्यो । यताउति सरेर घामबाट छलिन खोज्यो तर घामले टेरेन । त्यसपछि ऊ घामसँग झन् रिसायो । उसले प्रकाश पठाएर दुःख दिने रातो डल्लोलाई फेरि ध्यान दिएर हेर्यो । चौरमा बस्दाबस्दै उसलाई निकै भोक लागिसकेको थियो । उसलाई त्यो रातो डल्लो मीठो फल खान मन लाग्यो । उसको मुखबाट पानी आयो । “आहा ! त्यो रातो फल खान पाए त क्या मज्जा होला” – बालक खुसी हुँदै करायो र बेतोडसँग उफ्रँदै जुरुक्क उठ्यो । त्यसपछि ऊ प्लेन जस्तै गरी रातो फल खान आकासतिर सुइयँ उड्यो । उड्दै उड्दै धेरै पर पुगेपछि ऊ रातो फल छेउमै पुग्यो । “ऐ ! अलि पर बस्, म एकदमै तातो छु, तँ नाथे बच्चो डढेर खरानी होलास् नि !” – रातो डल्लेले जँगिदै भन्यो ।
बालक रातेको कुरा सुनेर झन् रिसायो । उसले चिच्याउँदै भन्यो- ऐ तैंले मलाई हेपेको ? म बालक हनुमान हुँ । आज म तलाईं नखाई छोड्दिन । बालकको कुरा सुनेर राते हा हा हा हाँस्यो । उसले घमण्ड गर्दै भन्यो- ऐ, मूर्ख बालक ! म सूर्य हुँ । मलाई छुनासाथ तँ डढेर खरानी हुन्छस् ।
ऐ ! मलाई मूर्ख भनेको, अब म तँलाइँ खान्छु- बालक चिच्यायो । त्यसपछि उसले आ आ गरेर ठूलो मुख बायो र सूर्यलाई सर्लक्क निलिदियो । सूर्यलाई निलेपछि हनुमानको शरीर अजङ्गको ठूलो भयो । उनी बिस्तारै उड्दै उड्दै पृथ्वीतिर फर्किए । पृथ्वीमा आइपुगेपछि हनुमानले अचम्म देखे । त्यहाँ चारैतिर अँध्यारो थियो । उनले त्यहाँ भएका सबैलाई देख्न सक्थे तर उनलाई कसैले देख्न सक्दैनथे । त्यसपछि हनुमान एउटा ठूलो सय बिघाको चौरमा पुगेर लम्पसार परेर सुते ।
सेकेन्ड सेकेन्ड हुँदै मिनेट बित्यो । सूर्यको प्रकाश नहुँदा पृथ्वीमा हाहाकार भयो । मानिसहरू अक्सिजन नपाएर रुन कराउन थाले । बोटबिरुवा कार्बनडाइअक्साइड नपाएर ओइलाउन थाले । एकान-दुई कान-मैदान हुँदै आकासबाट सूर्य हराएको खबर चारैतिर फैलियो । ठूलाठूला वैज्ञानिकहरू रकेटमा चढेर सूर्य खोज्न हिँडे । ठ्याक्कै दुई घण्टा बित्यो । टुँडिखेल जत्रै चौरमा पृथ्वीका सबै रुँदै कराउँदै भेला हुन थाले । त्यही चौरमा अदृश्य भएर हनुमान सुतिरहेका थिए । एक, दुई, तीन गर्दागर्दै लाखौँलाख मान्छेहरू भेला भए । चौर भीडले खचाखच भयो । उनीहरूको नाइके पनि आइपुग्यो ।
“जनता महोदय, हाम्रो रकेटले सूर्य खोज्न सकेन । खै सूर्य कहाँ हरायो ? केही पता लागेन । अब हामी सबै मर्ने भयौँ । पृथ्वी अब उजाड हुने भयो”- नाइकेले दुःखी हुँदै भन्यो । नाइकेको कुरा सुनेपछि जनता रुन कराउन थाले । उनीहरू डरले अतालिँदै यताउता दौडिन थाले । ठीक त्यतिबेला चौरमा सुतेका हनुमान झसङ्ग भए । जब उनले देखे एउटै बालिका घुक्क घुक्क रुँदै लडखडाउँदै थिई । ऊ सास फेर्न गाह्रो भएर मर्नै आँटेकी थिई ।
बालिकाको त्यस्तो अवस्था देखेर एकाएक उनको मन पग्लियो । उनले भने- “लौ यो सूर्य त पृथ्वीवासीको साथी पो रहेछ । ल सूर्य जा मैले तँलाई मुक्त गरें । सधैं जनताको सेवा गर्नु नि ! यताउति गरिस् भने ठीक हुने छैन । जनताले ठीक पार्नेछन् । अहिले पृथ्वीमा गणतन्त्र आएको छ नि ।
सूर्यले ‘हस्’ भन्यो । त्यसपछि हनुमानले आ… गरेर ठूलो मुख बाए । सूर्य फुत्त बाहिर निस्कियो ।
सूर्य झुल्किनासाथ जनता रमाए । उनीहरू खुसियाली मनाउँदै नाच्न गाउन थाले । त्यस दिनदेखि सूर्यले कहिले जनतालाई सानो भनेर हेपेन । त्यसैले त आज पनि सबैलाई बराबर प्रकाश दिने उसलाई सबैले ‘सूर्यदेव’ भनेर प्रशंसा गर्छन् ।
(स्रोत : शनिबार, गोरखापत्र – सेप्टेम्बर १२, २००९)