~जेल सङ्घर्ष ~
आमा
अब त
केही गर्ने कि भनेर
हजुरलाई खुशी बनाउन
अनि मलाई
हुर्काउन लागेको
अमूल्य मेहनतको
पंैचो तिर्न
निजी सम्पत्ति मानेर
डिग्री उत्तीर्णको
प्रमाणपत्ररुपी
कागजको खोस्टालाई
बन्धकी राख्न
हरेक रोजगारदाताको
ढोका ढकढकाइरहेको छु।
तर आमा
यहाँ त
प्रमाणपत्रको कुनै मूल्य रहेनछ
म जस्ताको
त्यस्ता प्रमाणपत्रहरुको
चाङ
कति हो कति रहेछ।
आमा
तलतलकोलाई त
धमिराले खाइरहेको छ
जागिर खान त आमा
आफ्नो मान्छे भए
काम गरेर ज्याला बुझ्ने ठाउँमा
खेतबारीमा
अन्नको बीउ फालेझैं
पैसाको बिटा छर्न सक्नेभए,
सधैं सत्तामा जाने पार्टीको
नेताको पछि लागेर
तिनको चाप्लुसी र तेल घसे
त्यति धेरै पढ्नुपर्ने रहेनछ।
त्यसैले आमा
मेरो प्रमाणपत्रमा पनि
बिस्तारै धमिरा लाग्ला भनेर
त्यस्तो ठाउँमा
चाङ लगाउन नदिई
जस्ताको तस्तै
फर्काएर ल्याएको छु
त्यो निजी सम्पत्तिलाई
हम्काउँदै
टन्टलापुर घाममा
फेरि हजुरको पटुकीले
कुम्लो पारेर
अलेनामा झुण्ड्याउन।
रुद्रपुर–१, रुपन्देही
(स्रोत : मजदुर दैनिक)