~दीपक कुमार ज्ञवाली~
अस्तित्व खोजीको वहानामा
मेरो अस्तित्व मेटाईदिनेहरु
नुनतेल साट्नकोलागि
घिउका कनेष्टर बोकेर
ताँति लागेका हाम्रा पाईलाहरु
सिस्नेको ओरालो झर्दै सिस्ने खोला तर्दै
बटौलीको तिनाउ नदीको हावासंग मितेरी गाँस्दै
पुल्चोकको सडकको डिलमा
डोको बिसाऊने ठाउँ खोज्दै
घिउका कनेष्टर किन्न हतारिएका
बनियाको पसलको पेटीमा
डोको विसाउने आग्रहलाई
मन्दमुस्कानकासाथ स्वागत गर्दे
पाल्पा स्याङ्जा पोखरा पर्बत बागलुङ्
बेनी गुल्मी अर्घाखाचीबाट
सुईय सुस्केरा हाल्दै झर्ने हामी ढाक्रेहरु
तिनाउखोलाको ढँङ्गाको कापमा बसेर
डोकोबाट सामल र कसौडी झिक्दै
सिस्नेको ओरालोमा जोरजाम गरेका
दाउराको छेस्का जोरेर
तिनाउको हावाको झोंक्काले
वल्न गारो मानेको धिपधिपे आगोमा पकाएको च्याँखला
बटौलीको वजारमा किनेको खुर्सानी
कराहीमा पर्रर पड्काएर
झ्वाईय गरी हालेको पानीमा एक पसर सिन्की राखेर
अधकल्चो च्याख्लासंग खाँदै आएको
नङ् र मासुको जस्तो अटुट
बटौलीसंगको हाम्रो साईनो
अस्तित्वको खोजीको वहानामा
साईनोविहिन बनाईदैछ
कसले खोजेको थियो पारपाचुके बटौलीसँग
कसलाई चाहिएकोछ पारपाचुके बटौलीसँग
आज आफ्नो मतरुपी मुङ्ग्रोले संख्याको उन्मत्तमा
हाम्रो ढाडमा प्रहार गरिरहेछ
यदि मेरो मतले मेरो साईनो बटौलीसंग तोडिन्छ भने
फिर्ता आउ भनेको छु मेरो मतलाई
तिमीलाई दिएको मतले मेरो देशसंग नाता तोडिन्छ भने
फिर्ता हुने आदेश दिएको छु मेरो मतलाई
मेरो मतले मेरो देशलाई पिडा हुन्छ भने
मेरो अस्तित्व नरहने गरी निमिट्यान्न पार्न खोजिन्छ भने
मेरो मतलाई मैले भनेको छु
राष्ट्रघातको लागि तिमीलाई दिएर पठाएको हैन
अव मेरो मतको मलाई नै बिश्वास रहेन
त्यसैले अव तिमी खोटा सिक्कामा परिणत भयौं
किनकि खोटा सिक्काको कुनै मूल्य हुदैन वजारमा चल्दैन
अव बुटवलमा नुन तेल कपडा किन्न पाईदैन
मेरो विश्वासमा तिम्रो दम्भ छ भने
छाडीदेऊ ति दम्भहरु
किनकि अव तिमीमा मेरो विश्वास कायम रहेन
आश्रयस्थल चौतारीरुपि बटौलीमा आउँदा
तिनाउको हावाको झोंक्काले हान्ने छ
तिनाउमा मडारीएको हावाको
भुमरीले वाहुपासमा जकड्नेछ
अझै पनि सविनय अनुरोध छ
प्रगाढ सम्वन्ध मेरो बुटवलसँग कायम रहन देऊ
किनकी त्यहाँबाट लगेको नुन तेल कपडाले
हाम्रा पुस्ताले गुजारा चलाउँदै आएका थिए
हामी पनि त्यहिबाट लगेको नुनतेल खाएकाछौं
हाम्रा रौं रौंमा रगत रगतमा बुटवलको नुन छ
तिनाउ नदिको हावाको झोँका छ
ति नुनतेल बेच्नेहरुसंग मेरो पुस्तैनी साईनो छ
घिउ सहगोमा किन्न खोज्ने
कपडा नुन तेल महगोमा बेच्न खोज्ने
घिउका कनेष्टर महगोमा बेच्न खोज्ने
कपडा नुनतेल सहगोमा किन्न खोज्ने
यो अटुट साईनो बटौलीसंग
कहिले ढकको पल्ला गह्रुङ्गो
कहिले सामानको पल्ला गह्रुङ्गो
कहिले घिउमा पिडालु बस्न खोज्ने
कहिले कपडा नाँप्दा गज दौड्न खोज्ने
नुन र तेल नाप्दा नाप्दै राम रामबाट शत्रुध्नमा पुग्ने
अटुट साईनो बटौलीसंग
अनायास नाता तोडाईदै छ बटौलीसंग
न अलग्गिन मनछ न अलग्याऊन मनछ
अलग्याईदैछ हामीलाई , नव वधुलाई वरसंग अलग्याएझैं
प्रगाढ साईनो बटौलीसंग पाल्पा स्याङ्जा गुल्मी अर्घाखाची
पोखरा पर्वत बागलुङ् बेनीको
अव काली गण्डकीको सुसेली पनि
मिसाउनु पर्छ तिनाउ नदी सँग
सेती नदीको फोहराले सेंचनगर्दै
झर्नु पर्छ बटौली सम्म ,
आँधिवेहरी सिर्जना गर्नु पर्छ
प्रगाढ साईनो जोगाऊन बटौलीसँग
प्रगाढ साईनो जोगाऊन बटौलीसँग
दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )