~प्रेमविनोद नन्दन~
गाउँदा गाउँदै गीतको धुन हराएँ मैले
रात त मसँग नै छ, जून हराएँ मैले
बैगुनहरू यता पनि, छन् है उता पनि
मानिसहरूको त्यो भीडमा, गुन हराएँ मैले
बाँच्न त म बाँचेकै छु, औंला भाँचेर ‘नि
अल्लो भो यो जिन्दगानी, नुन हराएँ मैले
किनौं किन्न नसकिने, बेच्न नसकिने
फलामहरूको यो देशमा, सुन हराएँ मैले
(स्रोत : प्रतिनिधि नेपाली गजलहरू (गजल संग्रह))