~वसन्त प्रवीण~
खोजे कतै पाइएन कोठो जिन्दगीलाई
कहाँ गइ चलाउने खोटो जिन्दगीलाई
बुझ्न कत्ति नसके’सी दुनियाँको अर्थ
सुझ-बुझ मिलाएको हुँदोरै’छ व्यर्थ
पर्दोरै’छ दु:ख बुद्दि मोटो जिन्दगीलाई
कहाँ गइ चलाउने खोटो जिन्दगीलाई
गालाजस्तै लुगामा ‘नि मुजा पर्न थाले
लगाएकै दिनदेखि धुजा पर्न थाले
सिलाउन सकिएन भोटो जिन्दगीलाई
कहाँ गइ चलाउने खोटो जिन्दगीलाई
एकदिन त मेरो पनि दिन आउला भनि
बिते दिन काल अब लिन आउला पनि
आश कति देखाउने छोटो जिन्दगीलाई
कहाँ गइ चलाउने खोटो जिन्दगीलाई
उ बेला त मुखमा मेरो हाँसो आउने गर्थ्यो
कु-बेला त नआइ किन पासो लाउने कर ‘थ्यो
गिज्याउने रै’छ आफ्नै फोटो जिन्दगीलाई
कहाँ गइ चलाउने खोटो जिन्दगीलाई
मान्छे देख्दा मान्छेले नै निल्ने थुक रै’छ
दया-माया भन्ने सारा खाने मुख रै’छ
पाए रै’छन् बनाइदिने रोटो जिन्दगीलाई
कहाँ गइ चलाउने खोटो जिन्दगीलाई …
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )