~बासुदेव बुढाथोकी ‘सागर’~
हृदयमा लागेका चोट सारा गन्ने भा’छु अचेल ;
रातैभरि आकाशका जूनतारा गन्ने भा’छु अचेल ।
कति मिठो माया थियो ,कति शीतल छाया थियो !
मुटु एकै थिए हाम्रा अलग केवल काया थियो ।
अनिकालकी चखेवीझैँ चारा गन्ने भा’छु अचेल ;
रातैभरि आकाशका जूनतारा गन्ने भा’छु अचेल ।
पर्खाइमा बाँच्नु रै’छ,तड्पाइमा बाँच्नु रै’छ ;
दुनियाँको टोकाइ र डसाइमा बाँच्नु रै’छ ।
काकाकुलको बस्तीबाट धारा गन्ने भा’छु अचेल ;
रातैभरि आकाशका जूनतारा गन्नै भा’छु अचेल ।
हृदयमा लागेका चोट सारा गन्ने भा’छु अचेल ;
रातैभरि आकाशका जूनतारा गन्ने भा’छु अचेल ।
– फस्कू,दोलखा ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)