~लोकेन्द्रबहादुर चन्द~
उनलाई जङ चल्यो र आर्मीमा छँदादेखि नै बानी परेको कडा भाषा प्रयोग गरी मुर्मुरिन थाले – “साले होटल खोल्छन् हरामीहरू । एक कोठालाई ६ कोठा बनाउँछन्, मुस्किलले एक कोठामा एक ओछ्यान अटाउँछ अनि रातभरि उडुस – उपियाँले टोकाइदिए वापत बहाल लिन्छन्, थप यात्रुको दामी सामान पनि चोरी गर्छन् । पिस्तौल, छुरा देखाई लुटेमा सजाय हुन्छ, यसैले होटेल खोल्ने भन्छन् र उल्टो उस्तरा समेतले हजामत गर्छन् । के गर्ने पेन्सनर भइयो, आर्मीमा बहालै भएको भए म यी डाँकाहरूलाई सुट गरिदिन्थेँ ।” उद्विग्न भएर उठे र आफ्नो नित्यकै नियमानुसार मार्गशीर्षको जाडोमा पनि बाहिर गई धारामा नुहाउन थाले । शिरमा दुई – तिन लोटा चिसोपानी परिसकेपछि उनलाई धमिलो – धमिलो सम्झना हुन थाल्यो – घडी त दुईचोटि नाडीबाट खसी सडकमा बजेको थियो, उनले टिपेको थिए, हुन सक्छ के ? तेस्रो चोटि पनि खसेको होस् “हुन सक्छ के ? पक्कै घडी खसेकै हो” – उनले सोचे कि हिजोतिर उनी आफू पनि त धेरै पटक पूरा होसहवास नभएको अवस्थामा विचरण गरिरहेका थिए नि ।
नुहाउँदा औधी जाडो लाग्यो, उनी सोच्न थाले कि यो जुलाघाट बजार पनि कस्तो ठाउँमा बसेछ भने के भन्नु ? दार्जुला पनि ठीक उस्तै ठाउँमा छ, गर्मीमा असाध्य गर्मी, हिउँदमा असाध्य जाडो । जुलाघाटमा त मार्ग १५ गतेदेखि पौष ३० गतेसम्म घाम देखा पर्दैपर्दैन । माघ १ गते मात्र एक झुल्को घाम फूलको मध्यमा एकछिन देखापर्दछ । मानिसहरू छटाकभरि घामका लागि लोभिएर बस्छन्, जब घाम पर्न थाल्छ, बिस्तारै चर्को हुँदै जान्छ र वैशाखदेखि त तातो कराहीमा पसेजस्तो हुन्छ । जे होस्, नुहाएपछि सधैँ देउताको दर्शन गर्ने अफसर सापको नियम छ । उनले कठ्याङ्गिँ्रदै सो नियम पूरा गरे । यस बिच उनलाई पुर्खाहरूले बुद्धि नपु¥याएकोमा अपसोच लाग्न थाल्यो ।
“स्वाभाविक पनि हो” उनले सोचे – ‘उहाँहरूको कोही पनि सेनाको अफसर त के सिपाहीसम्म पनि भएको थिएन, अनि अकिल कहाँबाट हुन्थ्यो ? अङ्ग्रेजहरूले आफूपट्टि फराकिलो ठाउँमा बजार बसाए, भन्सार त त्यहाँ हुनु नै पथ्र्यो, अब पुर्खाहरूले बजार पनि केही विचार नगरी त्यहीँ बसाले । जे होस्, पाँच मिनेट पनि नबित्दै उनी सोच्न थाले कि जुलाघाटको आफ्नै आकर्षण छ, मिश्रित समाज छ, जीवन्तता छ । राजनीतिक, आर्थिक गफ, हाँसो ठट्टा चलिरहन्छ । यसैले जुलाघाट जाने भन्यो कि जसका पनि पाइला छिटोछिटो चल्न थाल्छन् । आफ्नो हकमा भने सधैभरि जुलाघाट नै बस्न पाए, उनलाई औधी खुसी लाग्थ्यो होला ।
कोठामा पसी एक मात्र सानो झ्याल उघारे, उज्यालो भइसकेछ, उनका आँखा आफूले रातभरि ओडेको फोहोर रजाइँ (सिरक – सम्पा.) मा परे । उनलाई घिन लाग्यो, यसर्थ रजाइँ (सिरक – सम्पा.) लाई बिछाई, तन्ना र ओछ्यान ओढिबसे र बिहान ताजा पानीले नुहाएपछि महसुस हुने ताजापन महसुस गर्न थाले । अब सम्झिन थाले कि हिजो मध्यान्ततिर उनी यहाँ आइपुगेका हुन्, छोरी रत्नाको कन्यादानका लागि कपडा किन्न भनेर खल्तीमा तिन हजार रूपियाँ बोकी । “एक पेगले के फरक परिहाल्ला र” भन्ठानी मदभट्टीमा पसेको पनि सम्झना हुन थाल्यो । आफूले बर्तै रक्सी पिई बजारमा भाषण गरेको, गीत गाएको सम्झना र हाँस्न र हप्काउन थालेका केही अनुहारहरूको समेत धमिलो – धमिलो सम्झना हुन थाल्यो । फेरि लरबरिँदै यस होटलमा आइपुगी, दस रूपियाँ बहाल तिरी ओछ्यानमा आफू घोप्टिएको पनि सम्झना भो ।
यी सबै कुरा सम्झिँदा – सम्झिँदै पनि उनी झ्यालबाट एकटकै उतापट्टिको थुनिएको ढोकालाई हेरिरहेका थिए । नुहाई, देउताको दर्शन गरिसकेपछिको तेस्रो नियम पालन हुन सकिरहेको थिएन । यो तेस्रो नियम घरमा रहँदा अथवा श्रीमती साथमा रहँदा भने पूरा हुँदैन, अन्यथा उनले यस नियमको पालन पनि अटुट रूपले गरेका छन्, त्यो नियम हो घटीमा एक गिलासभरि रक्सी पेटमा पु¥याउनु । उनले एकटक हेरिराखेको ढोका मदभट्टीको थियो । त्यो नउघ्रिँदा उनलाई छटपटी भइरहेको थियो । कताकता यो थुनिएको ढोका र आफ्नी श्रीमतीमा उनलाई गजबको समानता लाग्यो, ढोका उघ्रिँदैन र श्रीमती पनि छेउछाउमा भए विहानतिर रक्सी पिउन त के सुँघ्न पनि पाइँदैन । उनलाई अब श्रीमतीउपर झोँक चल्यो र सोच्न थाले – ‘भगवानले पनि कस्ती आइमाई ल्याएर मेरो घाँटीमा झुन्डाइदिए, त्यस आइमाईले म जस्तो टाठो च्याखुराको भालेलाई कुखुरीको पोथी बनाइदिई गाँठे ।’ आफ्नो स्वभावानुसार अफसर फेरि सोच्न थाले कि श्रीमतीले घरगृहस्थी चलाइदिएकी छे, केटोकेटीहरूलाई स्याहारिरहेकी छे, उनको आफ्नो पनि सेवा – सुश्रुषा गरेकी नै छे । साँझतिर रक्सी पिई कचकच नगरी सुतेको खण्डमा त केही भन्दिन पनि । अर्धाङ्गिनीप्रतिको क्रोध मायामा परिणत भएपछि, उनको आक्रोश मदभट्टीको पसेलेतिर खनियो –
“भर्खरै बिहे गरेको छ कि के हो ? जे पाएँ मैले पाएँ भनी, साला रातभरि केके गर्दोहोला, यतिबेलासम्म पनि ब्युँझेको छैन ।”
उनी फेरि सोच्नथाले, “आजभोलिका नवयुवकहरू दोपहरसम्म सुतिराख्छन्, अनि यिनमा बुद्धि र बर्कत कसरी आउँछ, कसरी मुलुक अगाडि बढ्दछ ।”
अब उनी आफ्नो आजको कार्यक्रम बनाउन थाले । एक पेग, हो एक पेग मात्र चढाई कपडा किनेर वायुपङ्खी घोडाझैँ उकालो काटी कन्यादानको समयभन्दा अघि नै घर पुग्ने कार्यक्रम बनाए तर सबै गोजी छामछाम गर्दा पनि पैसो फेला परेन । तिन हजार रूपियाँमध्ये आर्मी कमिजका पट्याएका बाहुलाहरू ऊकेर्दा एक बाहुलाभित्रबाट एक सयको एक नोट र अर्को बाहुलाबाट दस रूपियाँका दुई नोट मात्र फेला परे । उनी खङ्रङ्ग भए, मुटु कचोटिन थाल्यो, महाकालीको पुलबाट हाम फाली मर्ने हो कि भनी झोँक चल्न थाल्यो । एक्कासी बाटो देखाप¥यो कि कपडा त अहिले उधारोमा पनि लग्न सकिहालिन्छ । कैयन चोटि व्यवहार गरेको कपडा पसले पनि छ । कन्यादानपछि देखाजाला, जसरी अहिलेसम्म जिन्दगी गुज्रेको छ, बाँकी पनि भगवान्को कृपाले गुजरानमै जाला । उनले पनि नियमित नुहाएको र देउताको दर्शन गरेको त्यतिकै त किन होला र ?
अब अफसर सापलाई उठिहाल्ने अत्यास लाग्न थाल्यो । सुखद संयोग कि मदभट्टीको बन्द ढोका उघ्रियो र त्यसको मालिक लोटा हातमा समाती मुखमा बिँडी च्यापी काँधमा जनै बेरिरहेको देखाप¥यो । ‘साला फेरि निवृत्त हुन दिनभर लगाउने होला’ भन्दै अफसर सापले हतारहतारमा लुगा लगाई भट्टी मालिकलाई छोपि हाले । बडो जिम्मेवार महसुस गरी एक गिलास मात्र चडाएर फर्के, मन रोक्न साह्रै गाह्रो भो तर उठिसकेपछि एउटा जिम्मेवार बाबुको भूमिका निर्वाह गरी संयम राखेकोमा ठूलो आत्मसन्तोष पनि भो । पसलहरू खुलिसकेका थिए । कपडा पसलतिर लाग्दा बाटैमा नगेन्द्र भेटियो ।
‘हलो चैप ! हाउ डु यु डु रे बाबु । कस्तो छौँ ?” भनी उनले हात तन्काए, तर नगेन्द्रले ढोग्यो, नगेन्द्र बी.ए.मा भारत पथौरागढमा पढ्दै छ । अफसर सापको नजिकै भतिजो पर्छ । ऊ तिनचार दिनको बिदामा घर गइरहेको थियो र अफसर सापलाई गुलाबी मात लागेको बेला एक्लै छोडेर जानु नगेन्द्रले मुनासिब ठानेन । त्यहाँनेर भरियाको काम गर्ने ठेरे पनि भेटियो, ठ्याम्मै चिनेको, अफसर सापकै तल्लो गाउँको बासिन्दा, उसलाई पनि डो¥याउँदै भूतपूर्व अफसर आफ्नो साबिकको पसलेकहाँ पुग्यो । अफसर सापका खुट्टा बेलाबेला अलि लरबरिएका भए पनि उसले दुई हात जोडी नमस्कार ग¥यो र मुस्काइरह्यो । अफसर सापले थरीथरीका कपडाको लामो फेहरिस्त टिपाए ।
बनियाँले पैसोको कुरो गर्दा “अर्को पेन्सन लिने बेला हिसाब मिलाइन्छ” भन्दै एकछिन अडी “दाम सही लगाउनु है, उधारो भनी जथाभावी लगाउन पाइँदैन” भने । बनियाँ मुस्कुराइरह्यो, अफसरसापले ठेरेतिर फर्की भने “लौ जुँडी बतास लगाएर, कुद्ने है ठीक…” एकछिन नाडीमा घडी नदेखी अकमकिए “एक सल्ला दिन बाँकी छँदा घरमा पुग्ने है । भाडा मात्र होइन, बक्सिस पनि पाउने छस्” अनि नगेन्द्रसित लौ ! हिडौँ भन्दै जुलाघाटको ठाडो उकालोतिर लागे । ढुक्क भए कि घरमा कन्यादानको लागि चाहिने लुगाहरू त छँदै थिए, थप लुगाहरूका लागि मात्र उनी आएका हुन् । “कपडा सिउन नभ्याए कपडा नै पठाइदिने, पोइलतिर पनि सिउनेहरू भइहाल्छन् होला नि” भनेकी थी श्रीमतिले । कपडा कन्यादानभन्दा अगाडि घरमा पुगे अरू के चाहियो र उनको मन खुसी भो ।
खुसीखुसी गुलाबी मातको भरमा अफसर साप उकालो चढ्दै थिए कि एक पसलेले आज २२ गते हो भनेको कुरो उनका कानमा प¥यो । २२ गते ! उनी आत्तिए र “आज कति गते हो ?” भनी नगेन्द्रलाई सोधे – “खै कान्छाबुबा याद भएन तारेख भने ८ हो”
नगेन्द्रले जवाफ दियो । “तारेख होइन मैले गते सोधेको । हाम्रो मुलुकका मानिसहरूमा यहाँ खराबी छ, भारत पसे कि नेपालको गते, बार, दिन – रात सबै थोक बिर्सि हाल्छन् सालाहरू, भोलि आमाबाबुलाई पनि बिर्सिने होलान् ।
अफसर जङ्गिए । “अनि यो मुलुक कसरी अगाडि बढ्छ, कहिले गौहाटी र देहरादुनजस्तो हुने । मलाई हेर म बिस वर्ष भारतमा बसेर पनि आफ्नो नेपालीपन बिर्सेको छैन । एकछिन अडी उनले बिस्तारै भने, “तर आज साँच्चिकै कति गते हो ?” मार्ग २१ गते त कन्यादन थियो । उनी १९ गते जुलाघाट आएका हुन् । त्यै दिन कपडा किनी घर फर्किने कार्यक्रम थियो । सामान त जेसुकै होस् तर कन्यादानमा पनि सामेल नहुने त अति नै भो । उनी त आज २० गते नभए २१ गते नै होला भनी ठानिरहेका थिए । साँच्चिकै २२ गते नै रहेछ भने त मारिहाल्यो नि । उनी सोच्न थाले र औँला गन्न थाले – १९, २०, २१ । यी तिनतिन दिनसम्म यहाँ उनी के गरिरहे त ? सम्झन खोज्दा दुःस्वप्नजस्ता कतिपय दृश्यहरू र धमिला अनुहारहरू उनको मगजमा खेल्न थाले । उनलाई भाउन्न हुन थाल्यो । खुट्टाहरूले सर्न नमानेको र रिङ्गटाले ठाडै ढलाउँछ कि जस्तो उनलाई लाग्न थाल्यो ।
एक्कासी “कताबाट हो हवल ?” अफसर सापले तुरून्त पेन्सिनियर सुवेदार विक्रमसिंहलाई चिनिहाले र एकछिन यताउता हेरी “ओहो लप्टन साप । क्या ठ्याक्कै भेट भो, हाम्रो त साइनो पनि छ, अफरसी दर्जा अरू बेला, अहिले तपाईं मेरो प्रिय भानिज लेफ्टिनेन्ट विक्रमसिंह” भने ।
हात मिलाएपछि “घाँटी सुख्या छैन त ? तपाईंले ठाडो उकालो काट्नु छ”
विक्रमसिंहले भने, “लौ त भैहालोस्” अफसर सापले भनेपछि दुवैजना छेउको मदभट्टीमा पसिहाले । अफसरले आफूलाई भइरहेको आत्मग्लानीबाट मुक्ति त खोजकै हुन् ।
भट्टीमा पस्नासाथ विक्रमसिंहले सोधे, “म सुबेदार हुँ, लप्टन किन भन्नुभाको मामा” तपाईं बुझ्नु हुन्न” एक आँखा झिम्काएर अफसरसापले भने, “म पनि हवल्दार हुँ सबैलाई सुबदार हुँ भन्छु । यी सालाहरू हामीलाई पेन्सन दिन त होइनन् सित्तैमा नै रौब छाँट्नु पाए किन छोड्नु, यी हाम्रा मान्छेहरू अलिक निहु¥यो कि काँधमा चढिहाल्छन्, यिनीलाई त धक्कुका धक्कु लगाएर पेलेको पेलेकै राख्नुपर्छ । तपाईं पनि आजदेखि आफूलाई लप्टन भन्न थाल्नोस् बरू कप्तान भन्ने गर्नोस् । अगाडि आइपुगेको गिलासबाट चुस्की लिँदै अफसर साप सोच्न थालेका थिए कि कति जतनले, सबै पेन्सनरहरूलाई एक – एक दर्जा बडाई बोलाउने समेत गरी, आफूलाई सुबेदार बनाइ राखेको तर भेद त खुलिसक्या रै छ । आफैँबाट मात बडी लागेको बेला फुस्क्यो कि क्या हो, छिमेकका उरन्ठ्याउला केटाहरू सुबदार साप भन्ने गर्छन् रे सुबेदारको ‘सु’ र बाँकी अक्षर ‘हवल्दार’ बाट टिपी अनि जोडेर, पीठ पछाडि कसले कसलाई के भन्दैनन् र ? सामुन्ने भनुन् न खप्पर फोडिदिन्छु आवारा सालेहरू ! अनि पो कति मिनेटको घण्टा हुन्छ भन्ने थाहा पाउँछन् – मनमनै अफसर सापले भने र तुरून्त आफ्नो हराएको घडीबारे सोच्न थाले । घडी सस्तै भए पनि उनले अरूको नजरमा त्यसलाई निकै दामी बनाइसकेका थिए ।
उनी भन्ने गर्थे – “यो बेलायती घडी हो बाबु ! त्यो पनि लडाइँ (विश्वयुद्ध) भन्दा अघिको बेलायतमा बनेको । कसको घडीले यसको जोरी लाग्न सक्छ ? त्यै बिस वर्ष पहिलेको घडी हराएकोमा उनी नियास्रो मान्दै चुस्की लिइरहेका थिए कि विक्रमसिंहले, “चुप बसी के – के सोच्दै हुनुहुन्छ मामा” भनी सोधे, अफसर साप एकछिन अक्मकिए तर जवाफ दिइहाले, “होइन भानिज, तपाईं वास्तवमा कसको भानिज हो र मलाई मामा किन भन्नु हुन्छ भनी सोचिरहेको थिएँ” विक्रमले ठट्टाएर हाँस्दै भने, “मलाई पनि था छैन, तर मामा – भानिज भन्दै बिसौँ बोतलसँगै रित्याएपछि अब के – को खोजीनीति ? रकमीहरू जस्तो खोजीनीति गर्ने काम हाम्रो होइन । सिपाहीको जातले जे भन्यो, भन्यो । भनिसकेपछि तपाईं मामा, म भानिज, आजदेखि झन पक्का छाप लागेको ।” दुवै बाहिर निस्के । भानिज ओराली झरे मामा चाहिँ नियास्रो मुख लगाई हिँडिरहेका नगेन्द्रको भर लिई उकाली चढे ।
रक्सीको मात गहिरिँदै गुलाबीबाट रातो हुँदै गइरहेको थियो । अफसर सापले – उनीलाई सुबदार भन्न नमिल्ने र हवल्दार भन्दा उनी रिसाउने हुँदा झल्यास्स फेरि गतेको कुरो सम्झेर सामुन्ने आइपुगेका जोसुकै व्यक्तिलाई पनि “आज २१ गते नै हो र” भनी सोध्न थाले । एकदुई जनाले ‘२२ गते हो’ भने तापनि अधिकांशले बाटोमा सराबीसँग किन झमेला गर्ने भन्ठानी, “हो हो २१ गते नै हो” भन्दै बाटो तताए । यसबेला अफसरसाप कुखुरेपानीको चौतारामा सुस्ताउँदै थिए कि एक्कासी उनका आँखाबाट ठूल्ठूला आँसुका ढिक्का झर्न थाले । “किन रून थाल्नु भो कान्छा बा ?” नगेन्द्रले सोध्यो, आँसु पुछ्दै, संयत भइसकेपछि अफसर सापले जवाफ दिए “म हाम्रो मुलुकको हालत देखेर रूँदै छु बा ! यो कस्तो मुलुक हो जहाँ जनतालाई आज २१ गते हो कि २२ गते भन्ने पनि थाहा छैन, कोही २१ गते भन्छन् त कोही २२ गते भन्छन्, अङ्ग्रेजी, जर्मन अथवा फ्रेन्च गते बार भए त केही थिएन । आफ्नै नेपाली गते बार पनि थाहा नपाउने गाँठे ! अब यो मुलुक कहिले उँभो लाग्ला” नगेन्द्रतर्फ हेरी फेरि भने, “तँ हाँस्तै छस् केरे । यसमा जनताको दोष छैन, यी जिल्ला सभापति भनेका जिल्ला गभर्नर र गाउँका अध्यक्ष भनेका एरिया कमान्डर होइनन् । अनि यिनीहरू माथिका सांसद, मन्त्री, प्रधानमन्त्री भनाउँदाहरू के गर्दैछन् ? यतिका वर्षसम्म जनतालाई गते, बार पनि बुझाउन नसकेका” यसै झोकमा अफसरसाप जुरूक्क उठी फेरि उकालो लागे ।
अब गएर उनले साँझ चार बजेभित्र घर पुग्ने अठोट गरे । कन्यादान हिजो राती भइसकेको भए पनि, जन्ती फिर्ता पठाउने त आजै हो, बिहानीपख गौदान, रातिको उनिलो, ब¥यात नामक लावा – लस्करलाई खुवाएपछि घरपरिवारले खाने, अनि कन्याले भेटे जतिको घाँटीमा उझिन्नी करौना (विलाप) गर्दा त साँझको चार त पक्कै पनि बज्छ होला । उनी सोच्न थाले कि त्यसभन्दा अघि कपडा पु¥याउन सके त हिजोको कन्यादानमा पुग्न नसकेकोमा थुप्रै बहाना बनाउन सकिन्छ । भन्न सकिन्छ कि कपडाको गट्ठर रानीबुँगाबाट हातबाट छुट्टी धुकिँदै जुलाघाट नै पुग्यो । यसरी फेरि चार मिल तल जुलाघाट नै पुग्नु प¥यो र एकदिन भरि त कपडाको गट्ठ्र खोज्न लाग्यो । झन्डै कपडाको साथ आफूलाई पनि महाकालीले बगाएको भनिदिए पनि हुन्छ । अथवा खल्तीको तिन हजार रूपियाँ चोरेर एउटा चोर भाग्यो । पिथौरागढसम्म पुगी त्यस चोरलाई समाती पैसा भराइयो भनियो भने इज्जत पनि बढ्ने छ र मानिसहरू पत्याउने पनि छन् । सबै बुझ्छन् कि बाबु कस्तै काम नलाग्ने भए पनि, अन्यथा नपरी छोरीको कन्यादानमा त अनुपस्थित भई बस्न सक्दैन, “भरिया ठेरे पुगिहालोस्” उनी सोच्न थाले एउटा कथा बनाउनु पर्ला, समय छँदैछ ।
हिँड्दाहिँड्दै उनका आँखा फेरि रसाए, उनी सोच्न थाले – “हामीकहाँ यो कस्तो चलन हो कि चेलीबेटीहरू पहिलो पटक पोइल जाँदा हत्ते गर्छिन्, रून्छिन्, करौना (विलाप) गर्छिन् । विलाप पनि कस्ता करूण भने, कहिलेदेखि कसले तालिम दिइरहेको होला जस्तो लाग्ने गर्छ । कन्या पठाएको दिन गाउँभरि नै मुर्दा परेजस्तो शोकाकुल वातावरणले छोप्ने गर्छ । भारततिर अथवा हाम्रो सहरहरूमा त यस्तो हाहाकार मचाउने चलन छैन ।” उनी फेरि सम्झिन थाले कि उनकी छोरी रत्ना पनि उनको घाँटीमा दुइटै हात हाली “मलाई यसरी घरबाट निकाल्नुभन्दा जन्मिदै मारिदिए हुन्थ्यो” भन्थी होली अथवा “मेरो बुबाको दर्शन अब कहिले पाउने ?” अथवा मलाई नबिर्सिनु होला बा” भनी विलाप गर्छे होला असफर साप अब हिक्कहिक्क गरी रूनथाले । “के भो कान्छा बा” नगेन्द्रले सोध्यो । “केही होइन” भनी उनी लुरूलुरू हिँड्न थाले तर वेदनाको छाल उनको मनमा उठिरह्यो, कान्छी छोरी रत्ना उनी देहरादून छँदै जन्मेकी हो । यसैले कक्षा दशसम्म पढेकी पनि छे । छोराछोरीमा कुन बाबुको माया हुँदैन र ? रत्नालाई उनी फुर्सद पाउनासाथ काखमा राखी हाल्थे अथवा भनुँ कि ऊ हामफालिहाल्थी । अड्डा जाने बेलामा समेत बल गरी छुट्याउनु पर्ने हुन्छ । पछि गएर उसकी आमाले रक्सी बढीबढी पिएको अथवा अरू कुनै विषयलाई लिएर करकर गर्दा उनकै पक्ष लिन्थी । उसकी आमाले, “ल रक्सीको मातले छाडेपछि घिच्नु” भनी राखेको खाना तताइवरि खुवाउँथी र रत्नाले उनलाई कहिल्यै पनि भोकै सुत्न दिएका थिइन बरू आफू पूरै रात ब्युँझै बस्नु परे पनि ।
आफ्नो देहरादुनको सैनिक जीवन, पेन्सन, त्यसपछि अहिलेसम्मको जिन्दगीलाई रत्नालाई केन्द्र बनाएर सम्झिन थाले । वियोगको र दुःखको चोट क्रमशः धारिलो हुँदै असह्य भएपछि उनी नगेन्द्रलाई “ज्यू सारै दुख्यो, एकछिन पर्ख है बाबु” भन्दै बाटोले छोएको मदभट्टीमा पसे, छिट्टै फर्केर भन्न थाले, “बल्ल हिँड्न सक्ने वर्कत आयो, मान्छेहरू बुझ्दैनन् । रक्सीले जीउ दुखेको ठीक पार्छ, आँट र तागत दिन्छ, मनको दुःख पखाल्छ, यसैले त अङ्ग्रेजहरू कोही बिचेत हुँदा पनि ब्रान्डी पिलाउँछन् । यहाँका बुद्धूहरू रक्सी पिउनेलाई सराबी भनी हेला गर्छन्”
अन्दाजी पाँच मिनेट जति चुप लागी हिँडेपछि अफसर साप फेरि बोले – “बाबु नगेन्द्र, तिम्रो जे गर्ने मन छ गर्नु तर रक्सी नपिउनु, जहाँसम्म मेरो सवाल छ, जोरीपारीका साथीहरू कि मरिसके कि अशक्त भइसके, गाउँभरि सबैजना अर्काको दुई तिन हात जग्गा दाब्दैमा व्यस्त छन् । आफ्नो भलो होस् नहोस् अरूको भलो नहोस्, भन्ने भावना सबैमा देख्छु । दिक्क लाग्छ । न क्लब, न अखबार, न भजनकीर्तन अब कसरी दिन काट्ने ? यसर्थ रक्सी पिउँछु, मलाई थाहा छ रक्सी पिउनुभन्दा आफ्नो कुभलो चिताउनेहरूको पनि भलो गर्दै हिँड्नु असल हो, तर अब त म उम्किन सक्दिनँ, जुन दिन आज पटक्कै छुँदैन भन्यो कि त्यही दिन अरू दिनभन्दा बढी पिइराखेको हुन्छु” एकछिन अडी अत्यन्त कोमल स्वरमा भने – “बाबु तिमीले रक्सी छुँदै नछोऊ है” ।
अफसर साप र नगेन्द्र घुम्ती काटेपछि अब त्यस ठाउँमा आए जहाँ अन्दाजी एक कोस टाढा उहाँको घर स्पष्टै देखिन्थ्यो, जन्ती फिर्ता भइराखेको प्रष्ट देखिँदै थियो, त्यसो भए कन्यादान हिजै सकियो र आज जन्ती पनि पठाइसके । “ती साले ! रिउले र खुइलेले (रिस उठाउँदा आफ्ना दाजुहरू राम र खेमलाई अफसर सापले सम्बोधन गर्ने नाउँहरू) सराबी कता म¥यो कता, कन्यादानको मुहूर्त नचुकाऊँ भन्यो होला र त्यस ढोलङा (ढोल) जस्ती भरिएको जीउ भएकी श्रीमतीले पनि हो हो सराबीहरूको भरोसा हुँदैन भनी सही थापी होली । उनी सोच्न थाले, टक्रक्क ढुङ्गोमा बसी टोलाएर रत्नाको विलापको अर्थ बुझ्ने प्रयास गर्न थाले । तर बुझ्न सकेनन् । हो करौना भने गरिरहेकै थिई । यत्तिकैमा छेऊतिर नै ‘खुइ’ गर्दै भरिया ठेरेले भारी बिसायो । एक मन नुनको भारी ।
अफसर सापले छक्क पर्दै “मेरो कपडा खोई नि ?” भनी सोधे र ठेरेले जवाफ दियो, “बनियाले दिए पो कपडा ल्याउँथे । ऊ त कस्तो सराबी, आज तिन दिन भो कपडाको फेहरिस्त टिपाउँछ र हिनिदिन्छ । अनि दिनभर उत्पात मच्चाउँछ भन्दै हाँसिरहेको थियो । “कस्तो हराम बनिया ? मबाट नै हजारौँ कमायो होला । आज ऐन मौकामा धोका दियो साला ।
अफसर सापको कन्सिरी तातेर आयो र ठेरेको नगिच गई “मैले अब छोरीलाई कसरी मुख देखाउने ? घरमा साँच्चिकै कन्यादान छ भनी तैँले पनि भन्न नसकेको साले बेवकूफ” भन्दै ठेरेको गालामा बलियो चड्कन दिए ।
“मेरो के कसूर त ?” सुँक्कसँुक्क गर्दै यस्तै गुनासाहरू गर्दै ठेरे रोइरह्यो । निकैबेर यो ठेरेको गुनासो सुँक्कसुँक्क रोकिएन ? जन्ती नजिकै आइपुग्न आँटिसके, अफसर सापलाई के गरूँगरूँ लाग्यो । ठेरेको आँसुरहित रोदनले उनको पोल खोलिदिन सक्थ्यो । उनले आत्तिएर आफ्नो खल्तीमा बाँकी रहेको पुँजी दस रूपियाँ झिके र ठेरेलाई दिँदै “भोभो ले दश रू. केटाकेटीहरूका लागि मिश्री किनेर लैजा । म यहाँ छु भनी कसैलाई नभन्नु है खबरदार । यसको रक्सी किनिस् भने” भन्दै आफू अलि पर घँघारूको झाङ पछिल्तिर लागे ।
जन्ती नगिच आइपुगे, “नगेन्द्र ती कन्यालाई भेट, मलाई यहाँ छु भनी नभन्नु” भन्दै अफसर साब घँघारूको झाङपछिल्तिर गई लुके । नगेन्द्रलाई देख्ने बित्तिकै रत्ना गर्दनमा दुईटै हात हाली रोई, “दुस्मनहरूले बासँग भेट नहुँदै लगे”
“बाको दर्शन कहिले पाउनु” भनी विलाप गर्न थाली रत्ना । बल्ल उम्केपछि आँसु पुछ्दै नगेन्द्र अफसर साप लुकेतिर आयो । उनी ठूल्ठूला जरायाका जस्ता आँसु झार्दै हातले निधार पिटिरहेका थिए । नगेन्द्र एकछिन हेरिरह्यो अब जन्ती घुम्तीको उतापट्टि पुगिसकेको थियो । डाँडापारि सूर्य डुबे । मङ्सिरको चिसो झोक्काले आफ्नो सम्पूर्ण उपस्थिति जनायो ।
अझै अविरल आँसु झारिरहेका अफसरसापलाई देखेपछि नगेन्द्रलाई लाग्यो – “मानिसको हकमा यस्तो विडम्बना किन हुन्छ ? उनले खराब र असललाई छुट्याउन सक्छ तर थाहा पाउँदापाउँदै पनि खराबको भासमा भास्सिँदै जान्छ । नचाहँदा नचाहँदै आफ्नै विवेकको विरूद्ध पनि ।”
०००