कथा : फ्रेन्ड रिक्वेस्ट

~दीपक बस्याल ‘दीनबन्धु’~Deepak Basyal 'Dinbandhu'

भाग १

एकाएक प्रशंसाको पोको सहितको यो बिशेष मित्रता अनुरोध बाट म एक किसिमको अनौठो अनुभूति गर्दै थिए। फोटो हेरे, खासै चिने जस्तो लागेन, उसको प्रोफाइलमा प्राइभेसी सेटिंग गरिएको थियो, मात्र फिमेल हो भन्ने जानकारी थियो। कमन फ्रेन्ड हरु एक जना पनि छन् भन्ने देखिएन, म सोचमा डुब्दै थिए, फ्रेन्ड रिक्वेस्ट लाइ सदर गरु कि बदर। नगरु, चिनेकै होला त्यो पनि सुन्दर महिला, पुरुस भएको भए त बाल। फेरी चिनेकै जस्तो गरि इमेल पनि त लेखेकी छ। तर पछिल्लो समयमा फेसबुकमा फैलिएको बिकृतिको शिकार भै नै सकेको छु म, धेरै ई- फ्रेण्ड बनाउने भन्ने मेरो सपना त्यो दिन देखि चकनाचुर भएको थियो जब म एउटा यस्तो लज्जाजनक तस्बिरमा मेरो कथित इ-मित्र बाट ट्याग गरिएको थिए।

फेसबुक मा गजल लेख्ने बग्रेती गजलकार हरुको भिडबाट ऊ मेरो फ्रेड लिस्ट मा जोडिएको थियो, प्रशान्त नाम थियो , थर चाही गुरुङ। ठेगाना साउदी तिर कुनै कम्पनि मा म्यानेजर को रुपमा थियो उसको। मैले लेख्ने गरेका हरेक स्ट्याटस र गजलहरुमा उसले प्रतिक्रिया छोड्ने गर्थ्यो, एक अर्थमा असल ई-मित्र थियो उ मेरो। त्यो घटना घट्नु भन्दा दुइ चार दिनअघिका उसका स्ट्याटसहरु मैले खासै बुझ्न सकेको थिईन, बुझ्नु पनि थिएन मलाई। गहिरो भाब हुन्थ्यो उसका स्ट्याटस हरुमा। लाग्थ्यो निकै पिडामा परेको छ सोल्टी। म खासै प्रतिक्रिया लेख्दिनथे भलै मन परेको नै किन नहोस, कहिलेकाही लाइक मा क्लिक गरिदिन्थे बस त्यती हो। एकदिन उसले मलाइ दाजु सम्बोधन गर्दै इमेल लेखेको थियो, भन्दै थियो, तपाईंले लाइक मात्रै गर्नु भन्दापनि मेरो स्ट्याटसमा केहि प्रतिक्रिया छोडिदिनु भयो भने म आभारी हुने थिए। हुनत उसका स्ट्याटसहरु कवितात्मक हुन्थ्ये जुन मलाई औधी नै मन पर्छ तर पनि मैले खासै वास्ता गर्दिनथे, बिस्तारै समय बित्दै जादा त्यो दिन पनि आइ छाड्यो जुन दिनले मलाई अब नचिनेको मान्छे साथि बनाउनु हुदैन भन्ने पाठ पढाएर गयो। जहासम्म सम्झना छ उसको फोटोमा मेरो नाम ट्याग हुदाको दिन म अलि ब्यस्त थिए, जागिर को सिलसिला थियो, म बिशेष कामले सदरमुकाम झरेको थिए, मोबाइलमा इन्टरनेट जोडेको थिएन, त्यती सस्तो नेपाल टेलिकम को इन्टरनेट जोड्ने हैसियेत म संग नभएको भने होइन ,कुरो कति मात्रै हो भने मेरो मोबाइल को ब्याट्री यति डाउन भै सकेको थियो कि म फोन मा आधा घण्टा भन्दा बढी गफिन सक्दिनथे, त्यस्तो फोन माथि इन्टरनेट थपेर मेरो फोन लाइ अत्याचार गर्ने पक्षमा थिईन म। अर्को स्मार्ट फोन किन्ने मनस्थितिमा भए पनि अस्ट्रेलियामा भएको भाइले कोसेली पो ल्याई दिन्छ कि भन्ने लोभमा बसेको थिए। साझको पाच बज्दै थियो, बहिनीले फोन गरि, अनि भनि ‘दाइ तेरा साहित्यले अब खोला खाए, खुब नँया नँया मित्र बनाउछु भन्थिस नि, देखिस।’ म एकाएक झस्किए। लोडसेडिंग थियो सदरमुकाममा, म कतै साइबर बस्न सक्ने अवस्था पनि थिएन, अनि लाजै पचाएर बहिनिलाइ नै त्यो भन्नै नमिल्ने पासवोर्ड दिएर त्यो फोटो अनि त्यो कथित इ-मित्र को हत्या गर्न अह्राए, मेरो फेसबुक बाट। मामा, माइजु अनि काकी अनि मेरो प्रिय विद्यार्थी हरुको इमेलको ताँती थियो मेरो इनबक्समा,सबैमा जिज्ञासा अनि शंका भरिएको थियो। मैले निकै ग्लानी महसुस गरेको थिए। त्यो दिन देखि म चेत बाबा काशी भएको छु।

अब चिन्दै नचिनेको, अनि एक जना पनि कमन फ्रेन्ड नभएको यो नयाँ मित्र को नयाँ इमेल मलाई एउटा बिजुली थियो, अगुल्ठो त पहिले नै खाइ सकेको थिए मैले। ह्या जे सुकै होस्, बालै भएन भनेर म मेरा गजलकार मित्रहरुको गजल पढ्न थाले। अचेल फेसबुकमा यी थोत्रा गजलकारहरुको च्याउ सरि उत्पत्ति भएको देख्दा एक मनले त ठिकै हो भन्छ , तर अर्को मनमा चाही आफ्नो त्यो सुन्दर फेसबुके भित्तोजति स्तरहीन गजलहरुका रङले पोतिदा कहिलेकाहिँ त झ्वाक नै चलेर आउछ। बरु एउटा गजल फोरम बनाएर त्यतै त्यस्तो खेति गरेको भए पनि हुने नि भन्ने पनि लाग्छ, त्यसो त गजलगृह, नेपाली गजल, साहित्यघर अनि गजल को फेसबुक भन्दै थोरै धेरै यस्ता फेसबुक ग्रुप पनि नभएका त होइनन तर पनि मेरो भित्तोमा गजलहरुको तछाडमछाड देख्दा चाही सार्है नै उदेक लाग्छ अचेल। एउटाको सिर्जनामा प्रतिक्रिया लेख्यो अर्को ले मेरो मा किन नलेखेको भनेर इमेल छोड्छ अनि भोलि देखि आफ्ना स्ट्याटस मा पनि लाइक गर्न छोड्छ, जे भए पनि आफ्ना पोस्ट हरुमा धेरै लाइक आवोस अनि धेरै लाइक पावोस भन्ने त जसलाई पनि हुँदो रैछ क्या , फेसबुक मा फस्टाएको व्यापार भनेकै कमेन्ट र लाइक को त हो नि नढाटेर भन्नु पर्दा। खैर जे सुकै होस्, म गजलहरु को भिडबाट रबि प्रान्जल को एउटा गजल पढ्दै थिए, इनबक्समा झिलिक्क रातो बल्यो। गजल पढ्न छोडेर इनबक्स खोलि हेरे, उसैको थियो। यस्तो लेखिएको थियो, ” तिम्रो ताजा प्रतिक्रिया माइ संसारमा पढे, सार्है खुसि लाग्यो, तिम्रो चेतनाको स्तर को ब्याख्या गरेर सक्दिन र थाक्दिन म। तिम्रा व्यंग्य कवितामा कति दम छ भन्ने कुरामा मैले मत राखी रहनु जरुरि देख्दिन, तर आफ्नै मित्रको मित्रताको अनुरोध स्वीकार गर्न नचाहने तिमीलाई म कस्तो बुद्धिमान भनु?” इमेल रोमन मा लेखिएको थियो, मलाइ कता कता चस्स दुख्यो उस्को इमेलले, अनि हिनताबोध भयो उसलाई चिन्न नसकेकोमा। इमेल पढ्ने बित्तिकै अनलाइन भए म फेसबुकमा, तर ऊ त्यहाँ थिइन, बहिनि ले ‘हेल्लो’ भनि हाली, अब कसरि अफलाइन जाऊ। हेल्लो भने, “ज्वाई लाइ आराम?” भन्ने मेरो प्रस्न टाईप् गर्न नपाउँदै उसले सत्र ओटा प्रश्न सुइक्याई सकेकी थिई। म उसलाई उत्तर दिदै मा व्यस्त थिए, मैले प्रस्न गर्न पाउने अवस्था थिएन। अमेरिका भएको आर्को साथिले “के छ गाउँले?” भन्यो, उसलाई पनि ठिक छ भन्नै पर्यो। लन्डन बाट माइजु ले के छ भान्जा भन्नु भो , नमस्ते माइजु भन्नै पर्यो, अस्ट्रेलिया मा भएको भाइले ओ हो दाइ पनि अनलाइन भनेर कुरा सुरु गर्यो , उसैसंग स्मार्ट फोन को आशा पालेर बसेकोले पनि उसलाई पनि उत्तर दिने पर्यो, “काम कुरा एकातिर कुम्लो बोकी ठिमी तिर” भनेको त यही भएर पो रैछ है भन्ने भो मलाई त्यती बेला, खोजेको के, भयो के। त्यतीका बेर सम्म पनि ऊ अनलाइन आइन। म किटेर भन्न सक्थे कि उसले मोबाइल बाट फेसबुक चलाएको हो। तर होइन होइन , यदि मोबाईल बाट नै चलाएको भए माइ संसार मा मेरो प्रतिक्रिया कसरि पढ्न भ्याई त त्यसो भए, म बडो असमन्जसमा परे। म यहि चिन्तन मा बग्दै गर्दा फेसबुकको च्याट मा हेल्लो भन्ने हरुको संख्या दर्जनौ पुगी सकेको थियो, त्यहि भएर त मलाइ फेसबुक च्याटमा अनलाइन बस्नै मन लाग्दैन। अब को उत्तम विकल्प थियो कि फेसबुक बाट अफ लाइन हुने। फेरी सबैलाइ थाहा भएकै कुरा हो कि म जतिबेला अफलाइन हुदापनि त्यसको अर्थ लोडसेडिंग को कारणले हो भन्ने बुझाउन गार्हो हुन्नथ्यो त्यसैले जे सुकै होस् भनेर च्याट को हरियो बत्ति निभाइदिए। फेसबुक मा धेरै साथी बनाउनुको पिडा बल्ल बुझ्दै थिए म।

ऊ त्यती इमेल लेखेर हराई, म च्याट गर्ने हरुको भिड मा हराए, मेरो चेतना हरायो, साला जिन्दगि कस्तो झ्याल्ली गर्न जानेको होला यहि बेला भन्नु जस्तो, एक छिन त आफै संग झ्वाक चलेर आयो, एक झापड दिउ जस्तो, भैगो के झापड हान्नु आफैले आफैलाइ, बरु त्यो अपरिचित परिको इमेल को प्रतिक्रिया लेख्छु भनेर कस्सिए। गूगलको युनिकोड एक्टिभ गरे अनि लेंखे ” लाग्छ हामी धेरै पुराना परिचयका हौ, तर समयको अन्तरालले हाम्रो मित्रता लाइ अपरिचित को रुप मा ब्याख्या गरिरहेको छ। उमेरको आयतन र बुद्धि को बोधोपना बढ्दै जादा मैले हजुर लाइ चिन्न नसक्नु मेरो कमजोरी हुनसक्छ, रिसानी माफ होला कृपा गरेर यहाँ लाइ चिन्ने शौभाग्य दिनुभएमा यो प्राणी धन्य धन्य हुनेछ। बिना चिनजान को मित्रसंग मित्रता गास्दा जीवनमा ठुलै उपहार पाईसकेको हुनाले पनि हामि दुवैले दुवैलाइ चिन्न जरुरि छ, मेरो भन्नु त्यती मात्रै हो , कृपया अन्यथा नलिनु होला, तपाईं र मेरा कमन फ्रेन्ड हरु पनि नभएकाले मैले हजुर लाइ ठम्याउन सकिन, कुरो बुझ्नु हुनेछ” यति लेखेर सेन्ड आइकन थिचीदिए। अनि घडी हेरे, मैले करिब करिब २ घण्टाको समय बिताई सकेछु फेसबुकमा यसै गरि। अब, लाइन जान त्यस्तै आधा घण्टा जति बाकि होला, यदि बिधुत प्राधिकरण को समयतालिका ठिक साचो हो भने, हुनत यो बिजुलीको पनि केहि भर छैन, अहिले एकछिनमै काटिन पनि सक्छ। किन होला खोइ हाम्रो देशको सरकार यस्तो निकम्मा भएको, कसले होला खोइ देशमा बिकासको लहर चलाउने, देशमा सरकार विहीनताको स्थिति भएको पनि थुप्रै भैसक्यो, नाथे भारत ले जाबो एउटा प्रधानमन्त्री चयन गर्न पनि सकेन नेपालमा, नेपालका नेता त बकम्फुसे नै हुन् भन्ने त पहिले देखि नै थाहा भएको कुरा हो। यसपाली त प्रधानमन्त्री चुनाब रुपी गाइजात्रा ले त झन यिनका हैसियत नांगै परिदिएकै छ। काम चलाउहरु खाली काम चलाउने काम मात्रै गर्छन, आइस क्रिम चाट्दै हिनेर मरेका छन् अचेल देशका ठुलाबडा भनाउदाहरु, कोहि चाही कपालको थरि थरि डिजाइन निकाल्छन, कोइ राष्ट्रिय झन्डा लाइ रौसि लाइ सितन राख्ने सस्ता रुमाल ठान्छन्, यस्ता तोर्पेहरुले के गर्लान त गाठे यो देशको बिकाश, संबिधान सभा भित्रै कुस्ती खेलेर मरे अस्ति भर्खर, पार्टीहरुको अन्तरिक बिखण्डन बजारमा दिनप्रतिदिन सार्बजनिक हुदैछ, यस्ता तोरीहरु मिलेर देशको संबिधान लेख्लान भनेर कसरि बिस्वस्त हुनु र खोइ! उफ दिक्क लाग्छ यो राजनीति सम्झिदा पनि। मलाई किन किन यही फेसबुक चलाउन पाइन्न कि भन्ने मात्रै चिन्ता लाग्छ यो बिजुली नहुदा, भाइको एस एल सी आउन लागिसक्यो, मलाई त्यसको बरु त्यती चिन्ता लाग्दैन, तर यो इन्टरनेट भएन भने म फेसबुक बिना कसरि जिउन सक्छु होला भन्ने लागि रहन्छ जति खेर पनि , आखिर म पनि त नेपाली हु, नेपाली नेता ले सिकाएको स्वार्थको पाठ थोरै धेरै त म मैले पनि पिएकै छु भन्ने मलाई मेरा यिनै चिन्तन बाट बोध हुन्छ।

फ्याट्ट रातो देखा पर्यो इनबक्समा, हतार हतार खोले, उसैको थियो, नक्कली त अझै अनलाइन मै रै’छ। स्काईप मा अनलाइन आउन अनुरोध गरेकी र’छ ,स्काईप आइडी दिएकी थिई, तर दुर्भाग्य म संग स्काईप अकाउन्ट थिएन अनि त्यो नेपालको रेलकै जस्तो सुस्त गतिको इन्टरनेटबाट स्काईप डाउनलोड गर्न पनि सम्भव थिएन, त्यसैले हतार हतार लेखे, “आइ डोन्ट ह्याव ए स्काईप आइडी” अनि सेन्ट गरिदिए। थुक्क तेरो बुद्धि, याहू त थियो त फेरी। दिएको भएत हुन्थ्यो नि भनेर थक्क थक्क भै नै रह्यो मनमा, तर पनि उसको प्रतिक्रिया नपढी याहू आइडी दिन मन मानेन, धैर्य गरेर बसे भला धैर्य गर्ने अवस्था त खासै थिएन तरपनि धैर्य गर्न नेपालीलाइ कसले जित्छ र, २ वर्ष सम्म सम्म त धैर्य गरियो, र पनि केहि लुतो लाग्या होइन क्यार, अझै पनि त धैर्य गर्दैछौ, भला त्यो धैर्यताको कुनै प्रतिफल आउनेवाला पनि छैन अझै कम्तिमा अर्को दुइ चार वर्ष। तर यहाँनिर धैर्य गर्न म संग न धैर्यता थियो न त समयनै , अब लाइन जाने बेला भै सकेको थियो, मन भित्र नराम्ररी हुटहुटी बढिरहेको थियो, त्यसै त्यसै छट्पटी भै रहेको थियो। म उसको फेसबुक पेज मा थिए यति खेर, उसको प्रोफाइल फोटो हेरेर उसलाई ठम्याउने असफल प्रयास गर्दै थिए। कसैगरे पनि मेरो दिमाखले उसलाई पहिचान गर्न सकेन, पिलिक्क रातो बल्यो फेरी इनबक्समा, तत्कालै क्लिक्क गरे, लेखेकी थिई ” मेरो प्रोफाइल तस्बीर परिवर्तन गरेकि छु आशा छ अब त चिन्ने छौ”। तर फोटो उही थियो अहिले सम्म, म ब्यग्र प्रतीक्षामा थिए, उसको परिवर्तित प्रोफाइल तस्बीर हेर्न। मलाई हतार थियो किनकि अब लाइन जान एकदमै कम समय मात्रै बाकि थियो। दिमाख मा झट्ट आइडिया फुर्यो, पेज रिफ्रेश गर्ने भन्ने, हतार हतार रिफ्रेश बटन एफ फाईब थिचे, फोटो परिवर्तन भो। हो फोटो परिवर्तन भो अनि म, कम्प्युटर स्क्रीन मा एकटक संग हेरेको हेर्यै भए, टाउको मा हज्जार भोल्ट को करेन्ट संचारित भो ,शरीर चिसो भएर आयो, एकाएक स्वास बन्द होला जस्तो भो,जमिन भासिएला जस्तो भो, अनि झ्याप्प स्क्रीन निभ्यो,अनि जताततै अन्धकार छायो।

भाग २

अनेकन वादका उसका कैयन सिद्दान्तहरु मलाई काला अक्षर बराबर हुन्थ्यो, ऊ वादहरुका बिशेषज्ञ नै थिई भन्दा हुन्छ; विस्तारवाद, साम्राज्यवाद, साम्यवाद, समाजवाद, मार्क्सवाद, लेलिनवाद अनि त्यस्तै त्यस्तै अनेकौ अनेक वादहरु। उसका तर्कहरुसंग तर्क अथवा कुतर्क गर्नु मेरो सामर्थ्य भन्दा बाहिरको कुरा थियो भलै म पनि एक अब्बल दर्जामा गनिने बिद्यार्थी थिए। कल्कलाउदी उमेरकी कुमारी कमाण्डर,यहि नै थियो उसको परिचय हाम्रो गाउँमा। फरक तरिकाले भन्नु पर्दा मेरो चाही एउटा असल मित्र थिई, म पसले अनि ऊ ग्राहकको रुपमा। आम मानिसहरु जस्तै कमरेडहरु संग धक मान्ने मेरो कमजोरीको फाइदा उठाउदै, समय समयमा एकान्तको मौका छोपेर, म संग प्रेमको परिभाषा सोधेर रोमान्चकता भर्थी बाताबरणमा उसले। म कुरकुरे बैसले भरिपूर्ण उन्मत्त लाठेलाई त्यो भन्दा मिठो पल के हुन सक्थ्यो र जवानीको!

“मलाइ आउदैन” म तर्किन खोज्थे।

“भनन भन” उसको स्वभाबिक जिद्दी हुन्थ्यो।

“बरु म मार्शलको अर्थशास्त्रको परिभाषा भन्न सक्छु तर यो मायाको बकम्फुसे बिश्लेषण जान्दिन” म मेरो विज्ञताको अर्को पाटोको बिज्ञापन गर्थे।

“उस उस हेरन” ऊ भन्थी “ तिम्रा बुर्जुवा शिक्षाले हुने भए आज यो रक्तक्रान्ति किन चाहिन्थ्यो र?” ऊ मौका छोपेर एउटा गम्भीर प्रश्न रुपी क्षेप्यास्त्र छोड़थी । म तहसनहस हुन्थे, मौन रहनु नै उत्तम विकल्प हुन्थ्यो मेरो।

सामनाको यो पाटो संग जहिले पनि सजग थिए म, किनकि मलाई थाहा थियो अब मेरो हार निश्चित छ। मलाई मेरो शिक्षा साच्ची नै बुर्जुवा हो भन्ने अनुभूति त्यतीखेर हुन्थ्यो जब म अर्थशास्त्रको होनहार बिद्यार्थीलाइ मेरो देशको अर्थब्यबस्थाको बारेमा तातोभुत्लो केहि थाहा थिएन। तर ऊ, भो कुरै नगरु, मैले दिन मिल्ने भए दुइ चार पिएचडी थमाइ दिने थिए उसको ज्ञान भण्डार लाइ। भन्थी, यो सबै उसले क्रान्तिको क्रममा स्व-अध्यन बाट जानेकी हो।

मानसपटलमा उसका तस्बीरहरु झिलिमिली बल्न थाल्यो बिल्कुल कुनै चलचित्रको फ्ल्यास ब्याक दृश्य सरी। मलाई राम्ररी थाहा छ, उसको आन्दोलनमा सरिक हुन उसले मलाई न त कहिल्यै अनुरोध वा उत्प्रेरित नै गरि न त कुनै सुन्दर भबिस्यको ललिपप बाडेर आन्दोलनमा लाग्न प्रलोभन देखाई। आर्मी संगको लुकामारि, गाबिस सचिब र अध्यक्ष्य अनि गाउका मुखिया भनाउदाहरुलाइ फोनबाट दिनहु हप्की र दप्की, ठाउँ र गाउ अनुसार को फरक फरक परिचय, कहिले यता कहिले उता खानपिन, कहिले सुकुल त कहिले चिसो छिडीमा रात गुजारा, यस्तै त थियो एउटा आन्दोलनकारीको को दिनचर्या मैले देखेको र बुझेको। सामना गरिरहेकी थिई उसले यी सबै कुराको। किराना पसलमा फोन हुनु नै ऊ संगको परिचय को अवसर थियो मेरो। कलेज बन्द हुदा बुवाको अनुपस्थितिमा पसल कुर्नु पर्थ्यो मैले, ग्राहक बिनाको धेरै एकान्तका पलहरु लाइ यसरिनै अर्थपूर्ण बनाएका थियौ हामीले।

हो, उसको हत्या गरियो, समाचार त्यस्तै आयो, भला मैले त्यो सत्यतालाई स्वीकार गर्न सकिन। समाचार पनि त्यस्तै त्यस्तै हुन्थ्यो रेडियोको। एक जना मरे दश मारिए अनि दर्जनौ घाइते भएर भागे भन्ने काइते समाचार फुक्थ्यो रेडियो नेपाल, अनि श्रोत हुन्थ्यो–प्रत्यक्ष्यदर्शी। तर त्यो प्रत्यक्ष्यदर्शी को हुन्थ्यो सायद कुनै दैबी शक्तिलाइ मात्र थाहा हुन्थ्यो होला। स्वतन्त्र संचार माध्यममा गनिएका रेडियोहरुलाइ गीत बाहेक केहि नबजाउनु भन्ने निर्देशन थियो। लाल्टिन समाचार भन्ने टेलिभिजनहरु अस्तित्वमा आइ सकेका थिएनन, नेपाल टेलीभिजन त वृन्दा लाइ छल गर्न गएका बिष्णु भगवान कै रुप थियो, यसबाट सत्य समाचार को आशा गर्नु कुकुर बाट हड्डी को आशा गर्नु भन्दा भिन्न थिएन। बरु बुझे पनि नबुझे पनि भी च्यानल अथवा फेसन च्यानल हेर्नु फलदायी हुन्थ्यो। कम्पुटर देखेको भए पनि इन्टरनेट भनेको कुन चरी को नाम हो भन्ने सम्म पनि थाहा थिएन। छापाको त के कुरा गराई भो र, सरकारी बिज्ञापन सरि लाग्थे समाचारहरु। समाचार यस्तो आयो, ऊ मरी , उसलाई मारियो, अब ऊ सदा सदाका लागि बिदा भइ कहिल्यै पनि यो संसारमा नफर्कने गरेर। आर्मीले चलाएको आतंककारी बिनास गर्ने अभियानको आहारा भइ रे ऊ। करिबन दश वर्ष अघिको त्यो घटना बाट म निकै आहत भए । सामना नै यस्ती पात्र हो जसको विद्वताले मेरो जीवन लाइ थोरै धेरै आकार दिएको थियो र छ। मानब जीवनको अर्थ, जनताको अधिकार अनि उत्तरदायित्वको बारेमा मेरो बुर्जुवा शिक्षाले भन्दा धेरै गुणा बढी सिकाएकी थिई। भला म उसको आन्दोलनको आवश्यकता लाइ उसले भन्ने गरेको बुर्जुवा शिक्षा बहिष्कारको मूल्य तिरेर स्वीकार गर्न सक्दिनथे। विकल्प बिनाको बहिष्कारले मात्रै अर्थ राख्छ जस्तो मलाई लाग्दैनथ्यो। बरु एउटा असल शिक्षक बनेर यो पारम्परिक सस्कारलाइ भत्काई ब्यबहारिक शिक्षा को संरचना बनाउनु पर्छ भन्ने मान्यता बोकेको थिए।

“अचेल फेसबुक लाटोकोसेरोले पनि चलाउन मिल्ने भएछ कि क्या हो श्रीमान ज्यु?” अन्धकार कोठामा कम्पुटरको कालो पर्दा अगाडी स्वस्थानी को श्रापले शालीनदीमा खसेकी चन्द्रावतीको जस्तै मुढासरि अचल शरीर देखेर एकाएक श्रीमतीले व्यंग्य चड्कन ठोकी। म झल्लु भए। यो श्रीमती चड्कन भनौ अथवा देबी चड्कन, साच्ची नै अर्थपूर्ण पनि छ। फेसबुक प्रतिको लगाब भनु वा पागलपन,यसले खानु खाईसक्यो मेरो दिमाख र समय, चाहेर पनि छोड्न सक्दिन यो फेसबुक, बरु खान बिर्सुला, स्कुल जान बिर्सुला तर फेसबुक को अपडेट हेर्न बिर्सिन्न। लाइन हुने समय जति फेसबुकमा जान्छ, कमेन्ट को खेति अनि लाइक को गन्ति गरेर, अनि बिजुली नहुदा सुत्यो, समय बितायो। स्कुल गयो, पुरानै ढर्रामा बिद्याथी थर्कायो, घोटायो, पिलायो, रटान दिन नसक्ने लाइ कुटान दियो, आफै लाइ विश्वास नलाग्ने अर्थहीन अव्यवहारिक शिक्षा पढायो, चाहिने नचाहिने गफ लडायो अनि फुर्सद भयो कि फेसबुक चलायो, यस्तै छ दिनचर्या। कसरि गुणस्तरीय शिक्षा दिन सके हुम्ला त मैले भोलिको भबिष्य लाइ यो पाराले ? रात भरी खट्ने, मरी मरी रट्ने यो तरिका बिद्याथी जीवनमा कत्ति मन नपरे पनि आज शिक्षक हुदा मलाई त्यो कुराको रतिभर चिन्ता छैन। अब हाम्रै शास्त्रले भनेको कुरा के काट्नु। जे हुन्छ राम्रै को लागि हुन्छ भन्ने गीता चिन्तन मा रमायो, हात मा दहि जमायो बस्यो, बस त्यती हो।

श्रीमतीको चड्कन च्युरा संगै सामनाका तस्बीरहरु क्षण भर लाइ धुमिल भएर आयो। अन्धकारको उपयोग गर्दै माया गर्ने उसको बिशेष कलाको प्रस्तुती संगै श्रीमती कोठाबाट बाहिरिई तर मलाइ एकाएक यो कथित मृतात्माको फेसबुक देख्दा लागेको रिंगटा अझै पनि जारी नै थियो। कतै अचेलको फेसबुक बिकृति को सिकार पो भइ की सामना, एउटै नायिकाको दर्जनौ फेसबुक अकाउन्ट भए जस्तै उसको पनि फेसबुक खोलिदियो कि अरु कसैले? कि ऊ बेलाको रेडियो नेपालको समाचार गलत थियो? के सामना अझै बाचेकी होलि त? कि अंगभंग भएर बाचेको अवस्था हो? यदि बाचेकै थिई भने शान्ति प्रक्रिया शुरु भए देखि नै किन सम्पर्कमा आईन? मरेकी भए शहिदको नाम किन पाईन? अथवा बेपत्ता हुनेको लिस्टमा किन परीन? के उसका तस्बीरहरु होलान त उसका फेसबुक अकाउन्टमा? हुनत परिवर्तित प्रोफाइल तस्बीर त पक्कै उसैको हो। कि कतै क्यान्टोनमेन्टमा बसेकी छ? ए साच्ची त, त्यस्ती चनमती थिई, बिहे गरी होलि कि छैन होला? मेरो कल्पनाले एकएक रोमान्चक मोड लियो।

“तिमिलाइ छोरा मन पर्छ कि छोरि?” सामनाको यो प्रश्न दिमाखमा ताजा भएर आयो।

“जे हुन्छ तेही मन पर्छ, आफ्नो सन्तान जे भएनी मन परि हाल्छ नि, होइन र?” म प्रतिप्रश्न गर्थे।

“ह्या त्यस्तो होइन के, तैपनि भनन” सामना जिद्दी कस्थी।

“लु भनन त तिम्लाई चाही के मन पर्छ” मैले उसको धारणा बुझ्न चाहें।

“बाठो मान्छे, साच्ची भनु त?” चेपारे घसेर बोलि सामना।

“भनन त” मेरो स्वभाबिक जवाफ।

“पहिले हुनेवाला छोराछोरिको बाउ को मन पर्छ, त्यो पनि त भन्नु पर्यो नि, होइन र?” म झसङ्ग भए उसको यो अनपेक्षित प्रश्नको प्रवेश गराईबाट।

आफै प्रश्न तेर्साई अनि प्रश्नको अपेक्षित जवाफ दिएर नारी स्वभाब देखाई। अनुहार रातो पारेर क्षणभरमै अलप भइ त्यहाबाट। उसको चातुर्यको कसरि बर्णन गरु म। सायद यस्तै अवस्थाको बर्णन गर्न हजार जिब्रो भएको शेषनागको कल्पना कुमारजी ले गरेका होलान। ऊ उसको नारिजन्य स्वभाब देखाएर भागी म मेरो पुरुसबादी चिन्तन भनु अथवा कु-चिन्तन मा हराइरहेको हुन्थे। क्रान्तिको क्रममा सयौ लाइ हप्की दप्की गरेकी छ, नारी मन यति सम्म कठोर हुदो रहेछ भन्ने सन्देशको धेरै पटक प्रत्यक्ष प्रसारण गरेकी छ मेरो पसलको टेलिफोन मार्फत। सामान्य बिवादमै बन्दुक पड्काउने हाम्रा बिशिष्ठ जनताहरु जस्तै उसलाई पनि बारुद अनि गोलिगट्ठा संग खेल्ने बानि परिसकेको छ, भोलि घर ढिलो आएको बहानामा कन्सिरिमा ए के फोर्टी सेभेन तेर्सिदा मेरो हबिगति कस्तो होला, कल्पनामै आंग सिरिंग हुन्छ बा, भो हुदैन। मम्मी होमेवोर्क मिलेन भनेर छोरीले गरेको अनुनयमा त्यस्तै कुनै क्रान्तिमा प्रयोग गरिने फर्मुला प्रयोग गर्न खोजि भने कुन चाल होला, अह हुदै हुदैन, पटक्कै हुदैन। हुनत, रुपरंगकै कुरा गर्ने हो भने पनि ऊ काली भएपनि हिस्सी परेकी थिई, सत्य बोल्नुपर्छ, फरक किसिमकी राम्री थिई सामना। यो काली अनि म पनि काले, अनि यो काले र काली को संयोजन कस्तो हुने होला भन्ने कल्पना गरेर पटक पटक म एक्लै हास्दथे। म हाम्रो सुदुर भबिस्यमा कोफी अन्नान अनि मिसेल ओबामाको आगमन देख्थे भलै त्यो मेरो रंगभेदी चिन्तन संग जागृत कुण्ठित भावना थियो। म मेरा यी अतिरंजित कल्पना बाटै उसलाई प्रेमिका अनि भाबी श्रीमतीको रुपमा अस्विकार गरिरहेको हुन्थे।

त्यो दिनको यो बिशेष प्रहसन पछि सामना अलप भइ। ऊ सदाका लागि अलप भएकी हो भन्ने विश्वास गर्न सकिरहेको थिईन म, तर बर्षौ पछि आज एकाएक उसको प्रोफाइल तस्बीर सहित आएको यो फ्रेन्ड रिक्वेस्टले मलाई प्रश्नै प्रश्नको गन्जागोलमा अनि कल्पनाको सागरमा लगेर निस्सासिने गरि डुबाइ दिएको छ। फेसबुकमा प्रेषित ति इमेलहरुको प्रारूप पढ्दा मलाई यो लेखाइ उसको होइन भन्ने पनि पट्टकै लाग्दैन, स्वभाबिक रुपमा उसले बोलिचालिमा प्रयोग गर्ने भाषा प्रयोग गरेकी छ। खोइ, कि नायिका रेजिनाकै नियति भएको हो की उसको पनि। मोबाइलमा फेसबुक नहुनुको पिडा फेरी बल्झियो। आखिर सत्य के हो ठम्याउन अझै केहि समय कुर्नै पर्छ मैले। लाइन कति खेर आउने हो ठेगान छैन। तर मलाई प्रत्यक पल निकै लामो भएको अनुभुत भइ राखेको छ, अधैर्य भएर बिधुत प्राधिकरणको लोडसेडिंगको तालिका हेरेर बसिरहेको छु।

भाग ३

सन्ध्याको प्रेमिल वातावरणको उपयोग गर्दै पशुपतिनाथ मन्दिरको उत्तरपट्टीको डाँडोमा एक जोडी पुर्खा प्रेममा मस्त थिए। तिनीहरुको त्यो नमूना प्रेमले हाम्रो बसाइलाई चुनौति दिएको भान हुन्थ्यो। हिजो भर्खरको समाचारको प्रभाव पनि हुन सक्छ,अथवा नारी स्वभावको सूचक पनि हुन सक्छ, हामी बीच केही दूरी कायम भएको थियो। हाम्रो यो दूरीलाई चुनौति दिँदै थियो त्यो पुर्खा पिरतीको थप दृस्यहरुले। निकै मायाले प्रेमिकाको कपाल सुम्सुम्याउदै थियो प्रेमी। हेर्दाहेर्दै जुम्रा टिपेर मुखभरी हाल्दै गरेको दृश्य देखियो, सुन्दरी प्रसन्न देखिन्थी, प्रेमीको त्यो अपार माया पाएर। हामी पनि यो विशेष प्रेमको सबै विकास प्रक्रियाहरु रमाइलो मानेर अवलोकन गरिरहेका थियौँ। हाम्रो भौतिक उपस्थितिलाई बेवास्ता गर्दै पुर्खापिरती निसंकोच क्लाइमेक्समा पुग्यो, कुन्नि के गर्नेलाई भन्दा देख्नेलाई लाज भन्या जस्तो। नारी स्वभाव हो वा परिस्थितिको उत्कृष्ट सदुपयोग हो, त्यो त मलाई थाहा भएन, अनायासै उसले मेरो छातीभरी आफ्नो मुहार लुकाउन खोजी। ठट्टयौली पारामा ‘हेरन हेर, कस्तो रमाइलो गर्दैछन्’ भन्दा पनि उसले शिर उठाउन अस्विकार गरिरही। लाग्दैथ्यो ऊ मेरो असामान्य हुँदै गइरहेको धड्कन अनुभव गर्दैछे। उसको श्वासप्रस्वासको तातोपनको महसूस हुँदा म पनि निसन्देह मदहोस हुँदै गइरहेको थिएँ। समयले दिएको यो अमूल्य सम्भावनाको सक्दो सदुपयोग गर्नु नै सायद अबको उत्तम विकल्प थियो मेरो पनि। छाती भरि ढल्किएको उसको शरीरलाई पुरुषार्थको मद्दत लिएर चरप्प बाहुपासमा कसेँ, भवितव्य र भविष्यको परवाह नगरी। मलाई थाहा थियो, म अनियन्त्रित हुँदै गइरहेको थिएँ। मलाई यो पनि राम्रोसँग थाहा थियो उसको अवस्था पनि मेरोभन्दा कत्ति कम थिएन। अनि अवस्था झन नाजुक हुँदै जादा मेरो छटपटी बढ्यो, हुटहुटी बढ्यो, अधैर्य बढ्यो। अनि श्वास एकदम तीब्र भएर आयो। अनि नसा नसामा तरङ्ग उत्पन्न भो। अनि, अनि…..
श्रीमतीको बेजोड धक्कासँगै ऐठनको यो एक अध्याय समाप्त भएर गयो।

“होइन घुर्न पनि कति सक्या हो भन्या?” श्रीमती पडकिइ।

उठेर पानी पिएँ, असिन पसिन थियो शरीर, श्वासप्रश्वास अझै असामान्य नै थियो। अनि त्यो मिठो सपना सम्झिए, अनि कता कता स्वास्नीसँग झ्वाक चलेर आयो, अलिक बेर धक्का नदिएको भए पनि हुने नि भन्नु जस्तो। अब बोल्नु भएन यस्तो कुरा।

हिजो सामनाको फेसुबक प्रोफाइल हेरेदेखि नै मन बेचैन बेचैन छ। कल्पनामा अनि हुँदा हुँदा सपनामा पनि उसकै चित्र घुमिरहेका छन मानसपटलमा । बिजुली हुँदाको पूरा तीन घण्टा उसको तस्बीर र फेसबुके भित्तो हेरेर बिताएँ हिजो। अनि त्यसपछि पूरै छटपटीमा बित्यो बाँकी समय, अनेक तर्कना अनि सोचहरु मनभित्र खेली रहे। एउटा छापामारको जीवन कसरी यो किसिमले पूरै १८० डिग्रीमा कायापलट हुनसक्छ, जति सोचे पनि मैले निस्कर्ष निकाल्न सकिरहेको थिइनँ। खाना खान पनि त्यति मन भएन, समयमा निदाउन पनि सकिरहेको थिइनँ, बल्ल बल्ल परेको निन्द्रामा पनि कहाँ पशुपतिको डाँडोमा यो हालै घोषित गैरकानुनी प्रेम गर्दै गरेको देख्न पुगेर मरेछु भन्या।

बिल्कुल उस्तै थिई सामना, निकै घोरिएर तस्बीर हेरे, कत्ति पनि फरक लाग्दिनथी। बरु निकै गोरी पो भइछ काली त, हुनत १२ पोइन्ट १ मेघापिक्सेल क्यामेराको कमाल पनि हुनसक्छ। अथवा फेयर एंड लब्ली को। जे होस् काली उनी गोरी भइछे फेसबुकमै भए पनि। गुलाबी रंगको कुर्ता सुरवालमा एउटा तस्बीर थियो, साँच्ची नै राम्री देखिएकी थिई, निकै बेर नियालेर हेरेँ अनि एक पटक थुक घुटुक्क निलेँ। अनि फोटो हेरे पछि कमेन्ट नहेर्ने कुरा भएन क्यार। हेरेँ उसकै थियो पहिलो कमेन्ट, लेखेकी थिइन्, “आइ लभ दि पिंक वन।” लाइकको गन्ती चाहिँ जम्माजम्मी दुई थियो। लाइक गर्नेमा एउटा आफै थिई, अनि अर्को थियो कुनै शर्मा थरधारी पुरुष नाम। अलि तल पट्टी एउटी बच्चीको कमेन्ट थियो भन्नाले प्रोफाइल तस्बिर बच्चीको थियो, हुनत अकाउन्ट उसकी आमाको हुनसक्थ्यो अथवा बाउको पनि हुन सक्थ्यो। लेखिएको थियो “लुकिंग ब्यूटिफुल”। अनि उसले लाइक गरेकी थिई त्यो कमेन्ट। हुनत आफूलाई राम्रो भन्दिएको कमेन्ट लाइक नगरोस् पनि किन। अनि प्रतिउत्तर मा “थ्यांक यु डियर, लव यु” पनि भन्न भ्याएकी थिई। अर्को कमेन्ट चाहीँ एउटा झ्यापुल्लेको थियो, लेखेको थियो ” गोर्जियस” तर स्पेलिंग चाहिँ पक्कै मिलेको थिएन, हुनसक्छ अर्थ नबुझेर भए पनि कतै बाट प्रभावित भएर लेखिएको हो, बिल्कुल हाम्रा चलचित्रका निर्माता निर्देशक हिन्दी सिनेमाबाट प्रभावित भए जस्तो। प्रतिउत्तर मा सामना ले लेखेकी थिई “थ्यांक यु सो मच”। अरु थुप्रै कमेन्टहरु थिए फोटोमा, सबै कमेन्टहरु लाइक गरेकी थिई उसले अनि सबै कमेन्टहरुको नबिराएर प्रतिउत्तर पनि लेखेकी थिई। पश्चिमा भाषा र संस्कारबाट सोझै आयातित रेडिमेड कमेन्टहरुको सक्दो प्रयोग गरेकी थिई,बडो अफसोसका साथ भन्नु पर्छ नेपालीमा लेखिएको कमेन्ट त कहीँ कतै देख्न पाइएन।

मलाई एउटै तस्बीरमा धेरै भुल्नु थिएन, सामनाका पुरै प्रोफाइलको अन्वेषण गर्नु थियो, फोटो हेर्दै गए, राम्रा नै थिए सबै। हरेक फोटोमा उसको पहिलो कमेन्ट हुन्थ्यो। अनि लाइक गर्नेमा एक ऊ हुन्थी अनि दोस्रो हुन्थ्यो शर्मा जी। अनि केही तस्बीरहरुमा अलि धेरै नै लाइक अनि कमेन्टहरु थिए। फोटो हेर्ने क्रम एउटा विशेष फोटोमा गएर टक्क रोकियो। यो फोटो एउटा जोडीको थियो। एउटा हरिलठठ्कसँग घम्साघम्सी अंकमाल गरेको फोटो थियो सामनाको। सहज रुपमा यो स्वाँठ पतिदेव नै हुनुपर्छ भन्ने लाग्या त हो, तर होइन होइन तेसरी पनि भनि हाल्न मिल्दैन, अचेल त दाजु बहिनीको पनि त्यस्तो किसिमको फोटो देख्न पाइन्छ, अथवा मामा भान्जीको पनि त हुन सक्छ, त्यसैले अहिले नै निस्कर्ष निकाल्नु पाप हुन सक्छ भनेर त्यो विचारलाइ त्यही विश्राम दिएँ। यसो हेरेँ, फोटोमा ट्याग गरिएको थियो शर्माजी। भने पछि सहज रुपमा यो भन्न सकिन्थ्यो कि शर्माजी एक विशेष व्यक्ति हुन् सामनाका। क्याप्सन लेख्ने चलन चैँ रैनछ क्यार उसको। हुनत नजानेर पनि हुन सक्छ अथवा क्याप्सन जति कमेन्ट बक्स मा थुपारे पछि कमेन्ट को ब्यापार राम्रो भएको देखाउने चाहना पनि हुन सक्छ। बिल्कुल मेरो बहिनीको स्वभाब देखाएकी थिई सामनाले, हरेक तस्बीरहरु आफै लाइक गरेर। आफ्नो अनि ज्वाईँको पोस्टहरु सबै नै लाइक गरेकी हुन्छे मेरी बहिनी, अनि उसको स्पष्टिकरण चाहिँ यस्तो हुन्छ, अति मन परेर तेसो गरेकी रे। ए बाबा, करोडौँ करोड युटुबका भिडियोहरुबाट छानेर ल्याइएको त्यो एउटा भिडियो फेसबुकको भित्तोमा टाँस्नु भनेकै अति मन परेर गरिएको हो भन्ने अर्थ लाग्दैन र भन्ने मेरो तर्कसँग ऊ कहिले पनि सहमत हुन सकिन। बिल्कुल मेरी बहिनी जस्तै लाइकको भोकी देखेँ सामना पनि।

बुर्जुवा वर्गको नेतृत्व गरेर हिँडेकी नेतृले कसरी यो साम्राज्यवादी चिन्तनबाट ग्रसित देशबाट संचालित फेसबुकमा जम्न अनि रम्न सकेकी हो, निश्चित रुपमा सोचनीय कुरा थियो। उसको फेसबुकको भित्तो हेरेँ, घिनलाग्दो गरी फोहोर थियो। छरपस्ट कमेन्ट गर्दी रहिछ। फेसबुकले यो चाहिँ अति नै गरेको हो के जसले जे भने पनि। कसको वालमा के लेखियो भनेर सबै हेर्न मिल्ने गराउनुले मान्छेको व्यक्तित्वलाई नाङ्गै बनाइदिएको कुरा सोह्रै आना सत्य हो। खैर, उसका कमेन्ट गर्ने शैलीले मलाई यो उही सामना हो भन्न सहज बनाइ राखेको चाहिँ पक्कै पनि थियो। कमेन्टहरुमा निकै चनमती देखिन खोजेकी थिई, आखिर थिई पनि त्यस्तै मैले बुझेको सामना। स्माइलि फेसहरु को पनि प्रशस्तै प्रयोग गरेकी थिई। फेसबुकमा चलन चल्तीका एप्प्लिकेसनहरु पनि प्रशस्त चलाएकी रैछ। आजको भाग्य यति प्रतिसत भन्नेको त फ्यान नै हो भन्न सकिन्थ्यो उसको भित्तो हेरेर। प्रोफाइल भ्यु, टप फ्यान, सेक्रेट एन्सर अनि त्यस्तै त्यस्तै अरु एप्लिकेसनहरु पनि चलाएकी थिई। टप फ्यानको नम्बर वानमा फेरि त्यही शर्मा जी नै थियो, यसको मतलब यो हुन्थ्यो की सामनाको प्रोफाइलमा कमेन्ट अनि लाइक गर्ने ब्यापारी भनौँ अथवा ग्राहकको रुपमा पहिलो व्यक्ति ऊ नै थियो।

फेसबुक स्क्याम अनि स्पामहरुको पनि राम्रै सिकार भएकी रैछ सामना। अर्धनग्न तरुनीहरुको तस्बीरसँगै टासिएर आउने थरिथरि शीर्षकका स्क्यामहरु पनि निकै क्लिक गरेकी थिइ। आम फेसबुकका प्रयोगकर्ताहरुलाई जस्तै यस्ता भिडियोहरुमा एक किल्क गरे पछि फसिन्छ भन्ने जानकारी नभएको पनि हुनसक्छ। ‘यो भिडियो हेरे पछि छोरीले आत्महत्या गरी’ अनि ‘मास्टरले विद्यार्थी ध्वस्त पारेर पिट्यो’ भन्ने शीर्षकका भिडियोहरु पनि क्लिक गर्न भ्याएकी थिई, जुन उस्का भित्तामा प्रशस्त देख्न पाइन्थ्यो। फार्मभिल , फिशभील , पोकर अनि स्नुकर अनि त्यस्तै थुप्रै फेसबुक गेमहरु पनि खेल्न भ्याएकी थिइ। इतिहास पल्टाउँदै थिए, बिल्कुल फोहोर थियो उसको भित्तो। यो मानेमा कि चाहिने नचाहिने सबै पोस्टहरु थिए। डिलेट गर्न नजानेको हो कि नचाहेको हो, बुझ्न सकिएन। इतिहास पल्टाउँदै गर्दा फेब्रुअरी फोर्टिनको पानो पल्टियो। एउटा जगल्टेले त्यस्तै एप्लिकेसनको प्रयोग गरेर आइ लभ यु भनेको थियो, त्यसमा चाहिँ धन्न कुनै प्रतिक्रिया थिएन। अर्की सुन्दरी ले “ह्याप्पी भ्यालेन्टाइन दिदी” भनेकी थिई, उसले “थ्यांक यु डियर” भनेकी थिइ। अनि अरु थुप्रै तोरीहरुको त्यस्तै पोस्ट थियो, जहाँ जथाभावी पान अनि मुटुका चित्रहरुसँगै प्रेमको विशेष विशेषणहरु प्रयुक्त भएका थिए। हेर्दै गएँ ,फेब्रुअरी फोर्टिनको अर्को पोस्ट चाहिँ शर्मा जीको थियो, युटुबबाट ” तिमी बिनाको जीवन सोच्न सम्म नि म सक्दिन” भन्ने गीत पोस्ट गरेको थियो अनि कमेन्ट बक्समा लेखेको थियो “आई लव यु मोर देन आइ क्यान से”। अनि सामना ले लाइक सँगै प्रतिक्रिया लेखेकी थिई “आइ लभ यु टु बाबा”। लौ मार्‍यो, पोइ होला भनेर सोचेको स्वाँठ त पिता पो परेर मरेछ कि क्या हो!

अनि प्रतिकृयाको श्रृंखलाको समाप्ति शर्माजीले नै गरेको थियो, लेखेको थियो ” आइ लभ यु सो मच मामु” । हाम्रो यो बाबा र आमा भन्ने पवित्र शब्दको अर्थलाई धमिलो पारेको देख्दा पो विरक्त लागेर आउँछ भन्या। अबको भावी पिढीलाई बाबा भनेको मामुको पोइ अनि मामु भनेको बाबाको जोई हो भनेर सिकाउनु पर्ने होला सायद।

अब यो बाबा र मामुको अपार प्रेमको फेसबुके सार्वजनिक विज्ञापनपछि मलाई यो अनुमान गर्न सहज थियो कि सामना सन्तानकी आमा पनि हुनु पर्छ।

उसका सबै तस्बीरहरु हेरेँ, छोरा र छोरी रहेछन्, छोरी चाहिँ त्यस्तै ८-१० वर्षकी हुँदी हो, छोरो चाहिँ अलिक सानै देखिन्थ्यो। छोराछोरीका हरेक तस्बीरहरुमा ट्याग गरिएको थियो। ट्याग गरिएको नाम क्लिक गरि हेरे, छोराछोरी दुवै को फेसबुक अकाउन्ट बनाएकी रैछ। तेह्र वर्ष भन्दा मुनिकाको फेसबुक बनाउन मिल्दैन भन्ने नियमलाइ ठाडै चुनौती दिएकी थिई सामनाले। थाहा छैन कस्तो फाइदा लिन खोजेकी हो त्यस्ता भुराहरुको फेसबुक अकाउन्टबाट।

क्रान्तिकारी लाल लाल नारा दिने नारीको यो ताल देखेर म तीन छक्क परेको छु। उत्तरपन्थी, दक्षिणपन्थी अनि साम्राज्यबादीहरुबाट आयातित ब्यापारले हामीलाई कहिले पनि उठ्न नदिएको भनेर चर्को कुरा गर्ने सामना आज यो बहुरंगी फेसबुकको भित्तोहरुमा बिल्कुल उसकै नेताले भन्ने जस्तो अग्रगामी छलांग मारेकी थिई। भारतविरोधी उस्का नाराहरु पनि गफै त रै’छ साइँला भन्नु जस्तो थियो। पूरै हिन्दीमय थियो उसको भित्तो। लताका गजलदेखि लिएर शिलाकी जवानीसम्मका सबै भिडियोहरु पोस्ट गरेर कमेन्टको राम्रो ब्यापार गरेकी थिई। नेपाली क्रान्ति तथा राष्ट्रिय गीतहरु पोस्ट गरेकी होली भन्ने मेरो आशा निराशामा बदलियो। आम नेपाली फेसबुक प्रयोगकर्ताहरु जस्तै चल्तीका भारत विरोधी फेसबुक ग्रुपहरुमा समाहित पनि भएकी थिई। भारत विरोधी शब्दहरुको कमेन्ट अनि स्ट्याटसहरुमा प्रयोग गर्ने अनि सँगसँगै मुन्नी बदनाम भन्ने गीत पोस्ट गर्ने चलन धेरै नेपाली फेसबुक ग्राहकहरुमा पाइन्छ। यही हो हाम्रो बजारिया रास्ट्रियता। लोक गीत अनि दोहोरी गीत पोस्ट गरे त गाउँको पाखे भन्ने अर्थ लाग्छ भनेर मेरै गाउँले दोहोरी गायक मित्रले संदेश दिएको थियो। नबुझे पनि बरु रिहान्ना अनि जस्टिन बिबरको गीतहरु पोस्ट गरे त कम्तिमा साथी भाइको अगाडि शान हुन्छ नि भन्ने उसको भनाइ सुन्दा दंगदास परेको थिएँ म। आखिर सामनाको प्रोफाइलले दिएको सन्देश पनि त्यही नै थियो।

दुई चार दिनदेखि सामनाले कुनै पोस्ट गरेकी छैन अनि कमेन्टहरु गरेको पनि देखिएन, व्यस्त भएकी पो हो कि। दुःखका साथ यो भन्नु पर्छ कि उसको ठेगाना भने पत्ता लाग्न सकेन, फोटोहरु हेर्दा विदेशी भूमिमा खिचिएका हुन् कि जस्तो पनि लाग्छ। ठेगाना लेखिएको थिएन। हुन सक्छ प्राइभेसीको चिन्ताले हो। यहाँनिर भने सामना अझैँ पनि कमरेड नै हो कि भन्ने लाग्यो। हिजो भर्खरको समाचारमा छापामारहरुलाई पनि बुर्जुवा शिक्षामा रस बसेको कुरा सुन्न पाइयाथ्यो, कि सामना पनि एसएलसीमा भिडिरहेकी पो छ कि त्यही भएर फेसबुकमा अनुपस्थित भएकी। यो सबै कुरा त ऊसँग कुरा भएसी नै थाहा होला। आशा यही छ की ऊसँग छिट्टै नै प्रत्यक्ष कुराकानी गर्ने सौभाग्य मिल्ने छ।

(स्रोत : Mysansar.com)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.