~गोविन्दप्रसाद आचार्य~
डाक्टर साहेब मेरो प्यारो संसार दुखेको छ
संसार दुख्दा डाक्टर साहेव शिर झुकेको छ
मेरो कपालभन्दा अझै देश दुखेको छ
देशभन्दा अति मेरो गाउँ दुखेको छ
त्यो गाउँमा बस्ने मेरो नाउँ दुखेको छ
नाउँ दुखे सहन्छु म देश दुखेको छ
लुगा फाली हिँड्नेलाई लुगा लगाइदेऊ
नाङ्गाबाङ्गहरूलाई सोझा पारिदेऊ
सोझा पार्न डाक्टर साहेब कस्तो औषधी दिन्छौ
दबाई लेख्ने कलमलाई उल्टो घुमाइदिन्छौँ
उठभन्दा उठेका छन् बसभन्दा बस्ने
यन्त्र मानव जस्तो मान्छे जे भने नि मान्ने
मान्छे माटो मुछ तिमी जे बनाउने मन छ
जता नाँच जता भाँच मानिसले मान्छ
जतातिर जस्तो चिर मानिसले मान्यो
शरणमरण जे नै देऊ तिमीलाई मान्यो
विवेकमा ताला लाऊ अनि आला लाऊ
म्याद नाघेका मलम लाउ निको हुन्छ घाउ ?
प्राण तिम्रो हातमा छ राख्न फाल्न सक्छौँ
गोलो चेप्टो निचोरेर झोल पार्न सक्छौँ
ओखतीलाई बिखतीको रूप दिन सक्छौ
काललाई लखेटेर जीवन दिन सक्छौ
जति भन उति धन लामो छोटो सासमा
खेलौना झैं जिन्दगानी बाँच्ने आशैआशमा
कति होला डाक्टर साहेब ओखतीको मोल
आनाकानी नगरेर जति मन छ बोल
जीउमा खेल्न पाउँ भनी अनुमति माग
हात नकमाई धन गन पूरा हुन्छ माग
धन छैन रोग पालेर बस्न मन छैन
धन छैन डाक्टरको हेर्ने मन छैन
रोगभन्दा खल्ती हेर्ने डाक्टरको काम
त्यसैले त संसारको जीवन ठन्डाराम
ललिपपको पसलका जाली प्रमाण पत्र
जता खोज जहाँ खोज सस्तो यत्रतत्र
रोगमा पनि झगडा छ कमाई रमाउने
डाक्टरले विवेकमा ताला लगाउने
आला लाऊ भाला नलाऊ मानिसको जीउ
जोगाउन गाह«ो भयो मानवताको बीउ
डाक्टर मलाई यो धन डाड भाँच्ने मन छ
धन गन्न नसक्नेले बाँच्न पाउनु पर्छ
(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक ३४ – July 10, 2013 – २०७० आषाढ २६ गते, बुधबार)