कविता : शब्दहरू, ए शब्दहरू !

~रामगोपाल ‘आशुतोष’~Ramgopal Ashutosh

ए शब्दहरू
किन ढुङ्गाजस्तै मौन तिमीहरू
बोल, चिच्याऊ, फलाक फोहर शब्दहरू
लेख अघोरी भित्तामा
अश्लिल शब्दहरू
भट्याऊ जँड्याहा देउसीहरू
उराल रक्स्याहा नाराहरू !

तिमीहरूलाई सुहाउँदैन मौन मरेको
पागलबनपागल
वाचालबनवाचाल

चोर विदेशी शैलीका गोरु
र नार आफ्नो परतान्त्रिक टारी खेतमा
डाँका हाल
अघिल्लो पङक्तिका विम्बको भकारी
अपहरण गर
आतङ्ककारी घोषित ईश्वरको छोरा, मान्छेका भाइ
अछुत किनाराका अक्षरहरू

जम्मा गर पैँचो मागेको शहरको सडकमा
र सुकाऊ छिमेकीको खलोमा
अनि छपाऊ
बहुप्रतिष्ठित अखबारमा रङगीन शीर्षकसहित !

देवकोटाहरू, रिमालहरू, भीम निधिहरू
बासु शशीहरू, भूपीहरू, सिद्धिचरणहरू
पारिजातहरू, कृष्ण भूषणहरू
तिमीलाई बधाइ दिन
हातमा आँशुको फूल लिएर लामबद्ध रहने छन्

पाखण्डी अवसरवाद
हातहातमा तातताता बीर्य लिएर बस्ने छन्
कवि विप्लवले भनेझैँ बोकाजस्ता विचित्र बीर्यहरू

तिमीलाई पुरस्कृत गर्न
टोलटोल, गल्लीगल्ली, भट्टीभट्टी
नम कमाएका ठेकेदार गेस्ट हाउसहरू
निमन्त्रणा बाँड्न आउनेछन्

शब्दहरू, ए शब्दहरू !
मौन नबस
चोर विम्ब, सापटी माग सम्पादन
चोर विनोदविक्रमको विम्ब चोर,
बुद्धको शान्तिमा विचार प्रहार गर
चोर प्रतिसरालाई चोर, शकुन्तलाको स्वरलाई चोर
सन्तहरूको आवाजमा मिसाल ताक
मनुको विचारमा डाँका हाल
लुट सुरेश किरणको शैली लुट
शक्ति केन्द्रहरूको निद्रामा हमला गर
सम्पादक विहानहरूको शान्ति भङ्ग गर
संयोजक दिनहरूको जागिर छुटाऊ

ए वैरागीशान्ति
मातेको मान्छेले झैँ भाषण गर
आक्रमण गर किनारा किनाराबाट

ए विप्लव समय
सुन त
कति बेखबर, गैरजिम्मेवार यी शब्दहरू
उर्दी देऊ न कस्मेटिक शब्दहरूलाई
— पागल बन पागल !!

ए भुपीन
सुप्लाको हपाइ जहाजबाट ओर्ल
र हल्टभन हल्ट
र शब्दहरूलाई आदेश देऊ
यसरी चुप नबस्न भनिदेऊ
सरिता हेलो सरिता
कारखानाबाट उत्पादन गर प्रश्नहरू

उर्दी देऊ न श्रवण दाइ
गाउनभनिदेऊ न
माथिमाथि सैलुङ्गेमा चौरी डुलाउनेलाई
सुन रे सिया राम……..

सरु दाइ
पागल बस्तीबाट चिच्याऊ
र बताइदेऊ कि
लक्ष्मी हजुरबाको
पागल शब्दले गलहत्याएर नै
शंकर भन्ने लामिछाने बने
पागल शब्दहरूले भने
— “रिपिटिशन इन द सेइम लाइन इज वर्थलेस !“
लामिछाने मौन बसेनन्
उनका शब्दहरू बहुलाए, चिच्याए, जोडजोडले हाँसे

श्यामलदाइ
किन हतारको यात्रामा यी मान्छेहरू ?
किन चुपचाप लुतो कन्याइरहेका
अरूको नसुने नि तपाईँको सुन्छन् कि
भनिदिनुस् कि
— हल्ला गर, चिच्याऊ, नारा लगाऊ

शब्दहरू,शब्दहरू !
बिन्ती तिमीहरू मौन नबस ।

रामगोपाल ‘आशुतोष’
भक्तपुर

(स्रोत : कान्तिपुर राष्ट्रिय दैनिक – कोसेली )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.