~रश्मिला कवाङ ‘रश्मि’~
पानीका हरेक थोपाथोपासँगै
सम्बन्धहरु टल्केका छन्
गृष्मयामका उखरमौली गर्मीमा
हिलाम्य बनाउँदै सारा पर्यावरण
वर्ष दिनका लागी जसरी अन्न रोप्छन्
छुपुछुपु गर्दै ती किसानहरु,
उस्तै वेगले जीवनको असारमा
रोपिँदैछ मीठा – मीठा सपनाहरु
हावाहुरीसँगै बहकिंदै– बहकिंदै
असिनासँग पैठेजोरी खेल्दै
कलमले खनिंदैछ सत्यतथ्यहरु
सेतासेता कागजमा निलाकाला अक्षरले
रोपिदैछ हिलाम्य असारे जीवन
यसरी नै बढीरहेको छ असारे जीवन
यसरी नै बढीरहेको छ युगदेखि युगान्तरसम्म
वसन्तशिशिर हुँदै हरेक यामको लहरसँगै
मंसीरमा बालीनाली भित्राएर खुशी हुन्छन् किसानहरु
र त जीवनका रङ फेरिन्छन्
कहिले सफलता त कहिले चुनौति बनेर
असारे यामको झरी कति सफा, शीतल
जीवनको झरी पनि त्यति नै सफा भए,
बाह्रै महिना फगत् असार लागिरहँदा हो ।
रश्मिला कवाङ “रश्मि”
मुलढोका-४, भक्तपुर
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )