~गोमा सिटौला~
“छोरासँग फ़ोनमा बोल्दा बुहारीसँग पनि दुई वचन बोले के बिग्रिन्थ्यो र ? सासुको जात त जनाइहाल्ने !” श्रीमतीले रिसाउँदै भनिन् । म नम्र हुँदै भनेँ आमाले बुहारीलाई फोन दे बाबू ! भन्दै हुनुहुन्थ्यो । अस्ति आमासँग कुरा गर भन्दा तिमी रिसाएको देखेर “अहिले घरमा छैन” भनिदिएँ । आज नदिँदा तिमी यस्तो भन्छ्यौ । खै, कसरी बुझ्नु तिमीलाई ?
“आमाले के भन्नुभयो ?” उनी अझै केरकार गर्छिन् । झर्को मान्दै मैले भनेँ – आमा बिचरा… “यसपालिको दशैँमा घर आओ भन्दा फुटेको कौडी छैन, हामी आउदैनौ भन्यौ तर ससुराली चाहिँ प्लेन चढेर गएको रे भन्ने सुन्छु । जे भएपनि, बाबू ! यसपाली तिहारमा चाहिँ आउ है, सारै न्यास्रो लागिरहेछ” भन्नुहुन्छ । आ ………, जे सुकै होस्, यसपालि तिहारमा जान्छु ।
” किन जानू उति टाढा ? बरू बहिनीहरूलाई यतै बोलाउनुभए हुन्छ । उता जाने पैसाले तिहार नै उत्रिन्छ । मेरो भाइ चाहिँ आउन पाउँदैन रे, बरू म चाहिँ माइत जान्छु । अँ साँच्चि ! हिजो हेर्न आएको मान्छेले जग्गा किन्ने भयो ?”
“हाम्रो समस्या थाहा पाएर, सित्तैमा दिन्छ कि भनेर दाउ हेरेर बसिरहेछ । साँवा नै नउठ्ने गरि कसरी दिउँ ? दशैँ पेश्कीले ऋण तिरौ भन्दा टेरपुच्छर लाइनौ । यसो नयाँ लुगा लगाउने चलन पो त ! आफ्नो व्यवहार लथालिङ्ग राखेर च्यातिएर जाने सारीमा २० हजार कोहि नहालोस ! टिभीको सिरियलमा देखेको कुराको नक्कल नगर भन्दा उल्टै जाइलाग्छ्यौ ।”
“ए बुढा ! अरूबेला खाएको लाएको कसले देख्छ र ? देखाउने नै चाडबाडमा हो । फलानो त कस्तो चिम्टा रहेछ भन्ने मौका सकेसम्म अरूलाई दिनुहुँदैन । जग्गा बिक्री हुन्छ, नआत्तिनुस् ।”
“चारैतिर मान्छे लगाएको छु, अहिलेसम्म केही अत्तोपत्तो छैन । अब नि ब्याज नतिरे जग्गा लिलाममा निकालिदिन्छ । सुन, गरगहनाहरू आपतविपतमा काम लाग्छ भनेर कमाउने हो, त्यो बेचेर व्यवहार सुल्झाउँ । पछि राम्रो जग्गाको भाउ आएपछि बेचेर सबै कुरा मिलाउँला, त्यसपछि गहना बनाउँला है ?
“उनी रिसाउँदै भन्छिन् – “मेरो गहना हजुरको मुटुको किलो बनिरहेछ । तिहारमा दिदिबहिनीको अगाडि म बुच्चै बनेर माइत जाँदा हजुरको इज्जत रहन्छ ?”
म जङ्गिँदै बोल्छु – ” अब जग्गा लिलाममा निकालेपछि चाहिँ हाम्रो इज्जत रहन्छ ? श्रीमतीज्यू ! हजुरको इशारामा म सँधै नाचौला यसैगरी । त्यसै मलाई दुनियाँले जोइटिङ्ग्रे भनेका हुन् र ?”
(स्रोत : ईकोशी डट कम)