~रुमन न्यौपाने ‘अमन्त’~
ज्यादाजसो, बाँसघारी बाट निस्कीएको सुसेली समाउँदा ।
बास बस्ने चराहरुको प्रेमिल भाषा खोज्छु ।
म बुझ्छु तिनीहरुको प्रतिध्वनी
जहाँ, असाधारण प्रेमको गुञ्जायस हुन्छ ।
त्यहाँ ब्याप्त प्रेमको परिभाषामा
मैले एउटै भाषा पाँउछु ।
म बुझदिन कहिलेकाँही, बुझें भन्ने भ्रम हुन्छ ।
तर,
प्रत्येक दिन एउटै प्रतिबिम्ब, एउटै आकार, एउटै स्वर
कति पनि अबिचलीत प्रतिमा, प्रेमको प्रतिती
मलाई लाग्ने आफ्नै प्रकारको प्रतिनीधी स्वर
मेरी प्रेमिकाले गर्ने प्रेम पनि यहि हो ।
जुन, जसले, एक रोपनी मुटु ओगटेको छ ।
बाँसघारीले ओगटेजस्तो ।
जहाँ प्रत्येक साँझ अधस्त भाषा बोलिदैन ।
चराहरुको त्यहि अमुर्त प्रेममा,
एउटा नियमीत साँझ ओर्लंदैछ ।
मलाई हतार छैन, कबिता सकाउन ।
खैर, आज बाँसघारी बिकराल अन्धकारमा लुकेको छ ।
कहाँ छन् ? सारौंको बथान, भँगेराको बथान
कहाँ छन् ? लाटोकोसेरो र न्याउरीका दुलोहरु
म जोड जोडले चिच्चाउँछु, सोध्छु ।
खोईत, मैले बुझ्ने त्यो प्रेमको प्रतिध्वनी
कहाँ छन् ? मैले ठम्याउने ति प्रेमका बोलिहरु ।
मैले बुझे सम्म, ब्याप्त प्रेमको परिभाषामा
आज नयाँ प्रतिरक्षाको भाषा बोलिंदैछ ।
ठुला ठुला बर्णमालामा लेखिएका अक्षरहरु
अनौठो लाग्ने चुच्चाहरुले उडाएका छन् ।
मेरो बाँसघारीमा ति अनौठा चुच्चाहरु ?
कस्ता प्रतियोगी जस्ता पो देखिएका ।
ति त मलाई खडेरी लाग्छन् ।
कुनै प्रतिलाभ दिन नसक्ने, गर्भहरु
कस्तो अकाल, बाँसघारी चुपचाप उभिएको छ ।
मन्त्र बिना, कुनै हल्ला बिना ।
लाग्छ प्रेमले गजब संग बिश्राम लिएको छ ।
नबिनताको उर्जा देख्न नपाउँदै
अफसोच ! प्रेमको क्षणभंगुरता गायब हुन्छ ।
अब उप्रान्त, बाँसघारी लाई म नियाल्दीन
जहाँ ब्यथै ब्यथाको सिङगो सामराज्य छ ।
त्यहाँ प्रेमको कुनै मुल्य छैन ।
झगडालु बैंसहरु उर्लिएर, मेरो आधार भासिँदैछ ।
गज्जब! बाँसघारीमा प्रेमको कुनै प्रयोजन छैन ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)