~बद्री दाहाल~
धार-आधार वा तार, वार-पार गराउने ।
‘जनता’ ममता-माया, हारजस्तै सजाउने ।।
साधु-चोर, धनी-दीन, ‘जनतै’ गर्छ आदर ।
विद्वान्-मूर्ख सबै भन्छन्, ‘जनता’ छन् समादर ।।
‘जनता’ शब्द बोकेर, क्रान्तिकारी कराउँछ ।
‘जनता’ शब्द खोकेर, प्रतिगामी रमाउँछ ।।
कवि-लेखक-डाँका वा रङ्गकर्मी नयाँ-नयाँ ।।
जनता ! देवता ! मान्दछन् अविनाशी छ चेतना ।।
राजा-सामन्त सम्राट, ढाल-ढोल बनाउन ।
जनता ! जनता ! भन्थे, एकतन्त्र समाउन ।।
सत्ता-पिपासु झेलीले, जनता ‘देवता’ भनी ।
झुक्याउँछन् कैयौँ काल, चर्का कीटाणु हुन् यिनी ।।
अवमूल्यन गर्दैछौ, ‘जनता-देवता’ यहाँ ।
जनतन्त्र दबाएर नेतातन्त्र नयाँ- नयाँ ।।
(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिक – “इन्द्रेणी”)