~शोभा सुनुवार~
माटो यही हो हिजो पनि स्वच्छ देशभक्त जन्माउने
किन आज विदेशी मनमस्तिस्कले आक्रान्त बन्दैछ ?
हिमाल यही हो हिजो पनि मन्द मुस्कान जन्माउने
किन आज नेपालआमा चित्कारले आक्रान्त बन्दैछ ?
हजुर,
गुराँस फुल्ने पखेरा
उजाड उजाड फुङ्गिएको छ किन ?
प्रभात बास्ने बचेरा
चुपचाप निन्याउरो हतोत्साही छ किन ?
सगरमाथाको शिखर
नेपालीको शिर झुके झुके जस्तो लाग्छ किन ?
वीरताको गाथा,
शहीदको सपना हराए जस्तो लाग्छ किन ?
संस्कृतिको खानी
प्रकृतिको धनी सबै रित्तिए जस्तो लाग्छ किन ?
लैङ्गिक समानताको खोक्रो नारा
प्रत्येक चुनावको मत बटुल्ने अमृत धारा लाग्छ किन ?
अनुत्तरित प्रश्नको चित्ताबुझदो जवाफ खोजिरहेछु
किन ? किन ? किन? मुलुक हाँक्नेसँग यक्ष प्रश्न सोधी रहेछु
-दुरागाउँ, रामेछाप, हाल : काठमाडौं ।
September 16th, 2013
(स्रोत : Sunuwar.org )