~सोम खनाल~
के छ यो टाउकोमा र यती भारी हुन्छ ?
यो मन किन डाडा वारी कहिले पारी हुन्छ ?
मौनतामा यो मुटुले कस्तो ब्यथा सुन्छ ?
किन छाती अनायसै आशु झारी रुन्छ ?
को हो गरीब को हो धनी, के हो आखिर धन ?
कुन चै धनले चोखो माया किन्न सक्छ भन ?
थैली भरी पैसा बोकी खुशी किन्न आको ?
भावनाको मोल किन यति सस्तो भाको ?
केलाई पर्खि बस्छ देउता आंखा तन्काएर ?
मुर्ती समेत छोप्ने गरी माखा भन्काएर
मनका दानी भन्दा ठूला द्रब्य दानी हुन्छन् ?
भाग्य किन्न सक्ने मात्रै भाग्यमानी हुन्छन् ?
आफ्नो को हो पराई को हो, केलाई भन्ने नाता ?
साईनो हो कि सानिध्य हो जाच्ने बही खाता ?
लोभले किन छुट्याउदैन रगत र पानी
एकदिन जिब्रो टोक्नै पर्छ भन्ने जानी जानी ??
सत्य के हो झूट के हो, के हो बिघ्न बाधा ?
कति रित्तो, कति निम्ठो, कति हुन्छ आधा ?
सुन जोख्ने तराजु ले, मन जोख्ने के ले ?
बाङ्गा मनलाई सोझ्याउन घन ठोक्ने के ले ?
यस्तै प्रश्न घोच्न आउछन्,शान्ति खल्बलिन्छ
सोच्दा सोच्दा थकाई लाग्छ बाटो अलमलिन्छ
साथि संगी टाढा हुन्छन् एक्लै भईदो रैछ
हांसको हुलमा बकुल्ला झै, बेग्लै भईदो रैछ ।
धन्न तर धेरै प्रश्न उत्तर बोकी आउछन्
प्रश्न-उत्तर मिलेर नै बाटो देखाउछन्
प्रश्न यदि नहुदा हुन्, जिबन हुन्थ्यो कालो
प्रश्न सोध्ने गरौं साथी अब तिम्रो पालो ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)