~प्रकाश सुनुवार ‘निराकार’~
आगो छेक्न सक्ने ताकत जमाएका फुलहरु
पस्किंदै थिए सुगन्ध
अनि सुगन्धित हुँदै थिए
पृथक अस्तित्वका लागि
कोलम्बो तिर ठडिएका नदिहरु
र, गुलाबका फुलका सुगन्धित शक्तीले
प्रज्वलित हुंदै
कनाकरायन नदिसंगै थुप्रै नदिहरु
राजपक्षका जल्लाहदहरुको सामनामा
उर्लिसकेका थिए सयौं पटक ।
भरौटे बन्दुकहरुको सहारामा
चिथोर्न सकेनन्
कांडाको रक्षाकवज बेरेका
गुलाबी फुलहरुलाई
बरु, शक्तिले उन्मात्तिएका जल्लाहदी
झरिलो रातो कोइलाहरुलाई
लगातार अनि निरन्तर चपाउँदै थिए
गुलाबका फुलहरुले ।
बिभेद गरिएका फुलहरुलाई
कोपर्न नसकि
कोइलाहरुले
आकाशबाट अम्ल बर्षाए
दमनका फोहोरी पानी स्खलित गरे
रकेटका थोपाहरु झारे
हेभी आर्टिलरीले बमको बर्षात गराए
तर तिनीहरुलाई
फुलहरुले सहज रुपमा
नरम अनि तरल पानी सम्झेर निलीदिए
रातम्मे हुँदै बगिदिए धर्तीमा
कयौँ पटक बेहोसीबाट होसमा ल्याइंदै
अनगिन्ती बलात्कृत भए
रुझिदिए किलिनोच्ची पनि निथ्रुक्कै
रक्तरञ्जीत भए
नो फायर जोनहरु ।
आज
ती पानीको दाराले टोकिएका फुलहरु
छियाछिया च्यात्तिएको देखिएता पनि
सिञ्चित भए अरु कोपिलाहरु,
जल्लाहदहरुको अबैधानिक कृडालाई
बिश्व सामु कोलम्बोमा समाधिस्थ गर्न
गुलाबका कोपिलाहरु
अवश्य फेरि फक्रीने छन्
किलिनोच्चीमा ।
June 16th, 2011
(स्रोत : Sunuwar.org )