कविता : रिवाजको डुवान

~कस्तुप गैरे~kastup-gaire

जबसँगै,
भाँडाकुटि खेलेका साथिहरुले दुष्मनको सुचिमा चढाए मेरो नाम,
प्रेमले नजर जुधाउनेरुले घृणाको तस्बिर सजाए आँखामा,
आंगन जोडिएका छिमेकिहरुले पगरी गुथाइदिए सामन्ती वर्गको

हातैमा रोकि खान भनेर उचालेको गाँस
सोधें आमासँग,
चामल किन्ने पैसाको आयश्रोत
जिवनको अग्निपरीक्षा दिन हिँड्ने अन्तिम घडिमा
कसम खाइमागेँ बुवासँग,
मैले लेख्ने कलमको मसि
आफ्नै पसिनाले भरेको हो कि होइन,
मैले चकलेट किनिखाने पैसामा कसैको
आँसु मिसिएको हो कि भनेर
स्पस्टिकरण मागेँ दाजुसँग,
घरको भित्तो कोट्याइ हेरें,
आफ्नै शरीर चिथोरेर रगतको रंग नियालें,
जिवनको खुड्किलो उल्लिदै गर्दा
धेरै पटक फर्किएर हेरेँ आफैले छोडेका पाइलाहरु
कतै
सम्बन्धको भर्‍याङ टेके कि भनेर
बिचारलाइ शुद्दताको कशिमा उभ्याइ हेरेँ
मगजलाइ न्यायको अदालतमा पुर्‍याएँ
आफ्नै आत्मासँग धेरैपटक सोधिहेरेँ कि
मेरो कमिजको पसिनाको दागमा शोषणको गन्ध कति छ ?
मेरो रगतमा अन्याय र अत्याचारको अंश कति बग्छ ?
मेरो मगजमा नश्लघृणाका दुषित बिचारहरु कति छन ?

आउ हिसाबकिताब गरौं
जिवनका हरेक पल
प्रत्यक पन्ना र हरफ हरफहरुको
मैले कति अन्याय गरेँ तिमिमाथी
अनि तिमिले
कति अन्याय सह्यौ मबाट

कस्ले बिचारको बलि दिएर
होलि खेल्यो रगतको ?
कस्ले गरिवका सपनाहरुको बुइ चढेर
अग्लाइको घमण्ड गर्‍यो ?
कस्ले शहिदका लाशहरुको भर्‍याङ बनाएर
सत्ताको कुर्सिसम्म पुग्यो ?
र कस्ले पद, पहुँच र शक्तिका लागि
आफ्नै आत्माको मोलमोलाइ गर्‍यो ?

गरेकै हो दुरुपयोग पद र पहुँचको कसैले
तरपनि मित्र जात उस्तै भएकोले
त्यसको भागिदार म हुनुपर्ने
जिकिर हो तिम्रो यदि भने
आउ हिसाबकिताब गरौँ
त्यो सुदुर गाउँको स्कुलमा
अन्तिम बेन्चको कुनामा सँगै बसेर
मैले सिकेको `क´ र
तिमिले सिकेको `क´ मा के फरक थियो ?
तिम्रो भोक र मेरो भोकमा के फरक छ ?
तिम्रो भन्दा मेरो घरको भित्तामा कुन रंग भिन्न छ ?
कि मेरो जात फरक भएकैले
म जन्मिएको भुगोल बेग्लै भएकैले
राज्यले मलाइ सित्तैमा दिएको हो ?

2015/12/26

हाल : दक्षिण कोरिया 

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.