कविता : फूलमाया

~वियोगी काइँला~biyogi-kaila

फूलमाया !
तिमीलाई धेरै ठाउँ खोजेँ
तिमी हिँड्ने नागबेली बाटोहरुमा
घाँस दाउरा गर्दै गाउने भाकाहरुमा
प्रत्येक सीमा र नाकाहरुमा
अहँ तिम्रो अत्तो न पत्तो
तिमी बिजुली झैं मिलिक्क
मेरो हृदयमा आयौ र गयौ
तर कहाँ गयौ ?
तिमी सारै नजाति

धेरै ठाउँमा खोजेँ तिमीलाई
पानी पँधेरामा खोजेँ
हिउँद वर्षा ऋतुहरुमा खोजेँ
उदाशीनता र आत्महत्याहरुमा खोजेँ
तिमी अचानक हरायौ
मलाई पागल बनाएर

फेरि धेरै ठाउँ खोजेँ तिमीलाई
तिमीलाई खोजेँ गाउँ सहरमा
प्रत्येक इच्छा र रहरमा
खोज्दै गएँ दूरदूर देशमा

फूलमाया !
तिमीले टेकेका फुटेका कुर्कुच्चाका डोबहरु
तिमीले बोकेका हँसिया डोका नाम्लाहरु
तिम्रो बालपन हुर्केको वनपाखाहरु
विरह र विरक्तीमा
मभन्दा बेसी विह्वल भए

तिमी साह्रै नजाति
एकतास पानी फोटो दिएर
कहाँ गयौ फूलमाया !

खोजेँ रेस्टुरा, साइबर क्याफेमा
खोजेँ बाढी, पहिरो, नदीमा
खोजेँ आन्दोलन, नारा, जुलुशहरुमा
अन्तिम खोजेँ वेश्यालय र वधशालामा
कम्ती ठाउँ खोजिन तिमीलाई
फूलको वस्तीवस्तीमा खोजेँ
जूनताराको देशमा खोजेँ
खोजको प्रत्येक खोजाइमा खोेजेँ
मेरो प्रीत खोजेँ

हाम्रो विश्वास खोजेँ
तिमीलाई खोजेँ
तिमी भने हिँडेछौ सुटुक्क धुँवाको जङ्गल
म भने तिमीलाई खोज्दै
पुगेँ दूर क्षितिजमा

खोजीमा तिमी त सहिद पो भइछ्यौ
तिम्रो र मेरो माया हुर्किएको
त्यो भञ्ज्याङमा
बन्दैछ रे तिम्रो शालिक

फूलमाया !
लाग्थ्यो मलाई
कि तिमीले हत्या गर्यौ–
हाम्रो प्रेमको
हाम्रो प्रतिज्ञाको
आफसोच ! तिमीले त युद्ध शिविरहरुमा
गाएछौ नयाँ युगको फलामहरु सङ्गीन समाएर
खुट्टाले कदम मिलाईमिलाई
धान नाची हिँडेछौ मोर्चाहरुमा
गाउँदै हिँडेछौ अमर जीवनको गीत
र अझ धेरै गाएछौ माटोको गीत
जोगाडेर हाम्रो माया प्रीति
मलाई भन्दा धेरौ माया गरेछौ
देश र स्वतन्त्रताको लागि
कफन बाँधेर निधारमा

फूलमाया सलाम ! तिमीलाई सलाम !
तिम्रो महानतालाई मेरो प्रेमको सलाम !
तिमी सारै जाति !

छिरेका छन् तिम्रा सपनाहरु सिंहदरबारभित्र
कतै..को सिंहले निल्ने हो कि
कतै..को पर्खालले छेक्ने हो कि
सशंकित छु फूलमाया !

भञ्ज्याङमुन्तिर मेरो गाउँ फर्केर
मुस्कुराइरहोस् तिम्रो शालिक र सपना
घाइते म बाँचिरहेछु सस्तो मुत्यु
म घाइते !
फूलमाया ! फेरि पनि तिमीलाई सलाम !

(स्रोत : रचनाकारको कृति “नीलाे सपना” बाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.