~भक्तराज न्यौपाने~
घर–घर नै खाली छ गाउँमा
प्रत्येक घरमा
एकोहोरो कराइरहेछ सुनसान
माध्याह्न पट्यारलाग्दो चकमन्नता
आँटीमा बसेको छ टुक्रुक्क ।
नियास्रो मजेत्रोसँगै
चिम्सा आँखामा बूढीआमाहरू
हेरिरहेछन् युगको तमासा
हातको हातै बोलेको छ साहिलो छोरो
उत्ति टाढाको दूरदेशमा भएको आवाज
हातेफोनमा सुनिएको छ भर्खरै ।
सोधेकी छे खसमले सन्चो–बिसन्चो
टाइममा खानु, टाइममा आराम गर्नु
आफ्नो प्रियसमक्ष
निवेदन गरिसकेर निस्केकी छे पानी भर्न
र सँगसँगै हुरी–बतासझैं
बेजोडसँग आइदिएको छ सम्झना
मुटु दुखेर हिक्कहिक्कको भक्कानो फुटेको छ
केटाकेटीहरू टाढा–टाढा झगडा गरिरहेछन्
मतानमा बूढो शरीर
खुइयाको लामो निस्वाससँगै
एकनिमेष जीवनको गुणन निकालिरहेछ
र, भर्खरै लागेको कालो बादल
बेजोड आँधीको सन्देश बोकेर कुदिरहेछ आकाशमा
जीवनको यो अध्यायमा पनि
घाम–पानीको आँधीको संवेग कुदिरहेछ यताउता
– काभ्रे
(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिकको इन्द्रेणी)