~अतित मुखिया~
पृय प्राप्ति,
अतिक्रमण गरेर आफ्नै मनको मझेरी
आंसुका डोबमा हांसो पहिल्याउदै
खुसीको ढुकुटी खोज्ने प्रयास
नगरेको त काहा हो र ?
बाँधहालेर मनका विचलनहरुमा
धैर्यको घाउ सुम्सुमाउदै
पीडाको मूल थुन्ने कोशिश
नगरेको त काहा हो र ?
तर समस्याको अजंग शरीर ढाक्न
समाधानको टालो एती सानोभयो
तल छोप्दा माथी नाङ्गो
माथी छोप्दा तल उदाङ्गो
तिमी नै भन,
यो निर्लज्ज जिन्दगी बाँचु पनि कसरी बाँचु ?
टालेर आँत र पचाउनीका प्वाल र छिद्र
बतासकै भरमा
सास अढ्याउने जमर्को
नगरेको त काहा हो र ?
बालेर आश आखामा यथावत
मृत्युको भास ओताउने उपाय
नगरेको त काहा हो र ?
तर नियतिको सांगुरो सेरोफेरोमा
अभावको खोपिल्टो पुर्न एती गारो भयो
यता पुर्दा उता खाल्डो
उता पुर्दा यता भड्खारो
तिमी नै भन,
यो दरिद्र जिन्दगी साँचु पनि के साँचु ?
गौरव र गरिमापूर्ण हिजोको इतिहासले
आजको गर्जो नसर्दो रहेछ
बाजेले खाएको घिउको कथाहालेर
नातीको छाक नटर्दो रहेछ
यसैले छात्तिका स्नेही परतहरुमा
मायाको कुलेसी काटेर
तिमीले कतै टाढा चरन चर्नजाने साइत गर्यौ
हामी बिलकुलै टाढा भयौ
आफैसंग आफु छुट्टीएर हाँसु पनि खै के हाँसु ?
यसरी बाँच्नुको विभीषिका व्यहोर्दैमा
उमेरको बिटो कसिएको पत्तै भएन
आज गाँस पुग्दा सास त छ
तर तिम्रो स्नेही काख छैन
वेदनाले भरिएको घाईते माथ त छ
तर अन्तिम सासलाई एक घुट्को
पानी दिने हात छैन
सम्झनाका घिटघिटोहरुमा
केवल प्वाल परेको प्रारभ्द छ
सुगम मनले दुर्गम शरीर अंगाल्दै
सम्झनाका हिक्काहरुका माला
गाँसु पनि कति गाँसु ?
भेटौंला फेरी अर्कोजुनीमा भन्दै तिमीलाई
ढाँटु पनि कसरी ढाँटु ?
उहि तिम्रो
“अप्राप्य”
-२०६०।२।१५)
अतीत मुखिया
फूलबारी टोल, कोटेश्वर