(भुजङ्गप्रयात)
चरा चिर्बिराए कतै कुञ्जनेर
उठूँ भन्छु आफू मिठा स्वप्न धेर
लुकाऊँ कहाँ खै उषा लालिमा छ
मिठा स्वप्न मानौँ सँगै कालिमा छ ।।
चरा गीत सङ्गीतका ताल उस्तै
सुतू वा उठूँ स्वप्नका चाल उस्तै
बिहानी छ वेला बढेको प्रकाश
मिठा स्वप्नभित्रै गढेको छ आस ।।
कतै शीतका विन्दु आफै सजिन्छन्
हिरा टल्किएझैँ टिलिक्कै बनिन्छन्
तिनैभित्र मानौँ नयाँ स्वप्न मेरा
रमाएर लुक्छन् जहाँ पूर्ण घेरा ।।
उषा माधुरीले कतै स्वप्न भङ्ग
गरेझैँ छ चाला चलेको छ अङ्ग
चरा कुञ्जका गीतले प्रीत बोल्दा
सुतूँ या उठूँ स्वप्नको द्वार खोल्दा ।।
जगाएर छोड्ने प्रभाती निसाना
अझै स्वप्नका दिव्य सञ्चार नाना
कहाँ झट्ट उठ्छन् कुनै चाल छैन
कतै बन्द आफैँ खुला लाल नैन ।।
उषा हुन् कि लाली चरा चिर्र डाली
बिहानी जहाँ स्वप्न संसार जाली
अझै भन्न गाह्रो खुला नेत्र मेरा
कतै देख्न सक्लान् कि वा सत्य घेरा ।।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)