~वसन्त प्रवीण~
चोखो माया जसले लाउँछ, उही जान पाउँछ
स्वर्गभन्दा पनि पर, पिरतीको गाउँ छ ।
जति हेरयो वरपर, उति हुन्छ राम्रो
त्यतै कतै बसाउँला, दुनियाँ यो हाम्रो
सुताउँछ जुनले, घाम ब्युँझाउन आउँछ
स्वर्गभन्दा पनि पर, पिरतीको गाउँ छ ।
बादलुले छेकिएर, नदेखिए पनि
सम्झिए’सी छेउ आउने, यस्तो रीत छ नि
इश्वोरले पनि जहाँ, पापी आँखा लाउँछ
स्वर्गभन्दा पनि पर, पिरतीको गाउँ छ ।
मायासित प्रीति सिलाइ, लगाए ‘नि हुने
उनैलाई हेरीकन, अघाए ‘नि हुने
चुहिएमा छायाँ जहाँ, फुल झरी छाउँछ
स्वर्गभन्दा पनि पर, पिरतीको गाउँ छ ।
मानो रोपे माया त्यहाँ, फल्छ मुरी-मुरी
एकै निमेष मात्र पनि, हुन्न अरे दुरी
बस्न यति आनन्दको, अन्त कहाँ ठाउँ छ
स्वर्गभन्दा पनि पर, पिरतीको गाउँ छ ।।।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )