~आशा खनाल~
म फेरी त्यही यात्रामा
सपनाहरुको खेल खेल्दै,
जीवनसङ्ग्रामको मैदानमा
कालो अन्धकार र तितो अतित पन्छाउदै,
विमोचित चोटहरुको सामना गर्दै
केवल २/४ कदम पाइला चाल्दै छु,
मात्र २/४ कदम……
किनकी परिसकेछु सपनाको जकडबन्दमा
न त म सपनालाई धोका दिन सक्छु,
न त म सपनाको समिपलाई बिर्सन सक्छु,
केवल म त सपनाको एम्बुसमा परिसकेछु
सताउछ सपनाले चिराग बनेर
तर म त्यही चिरागमा चमक देख्दैछु,
घायल मुटुमा इस्पात देख्दैछु,
सायद सपनाले भविष्य देखिसकेको छ,
सपनाले अहोरात्र सहयोग गर्दैछ..
कतै गतिरोध भएपनि,
कतै म खामोस भएपनि,
कतै क्रन्दनले मन भरिएपनि,
कतै छलकपटमा जीवन परेपनि,
सपना कटिबद्द छ…
सपना खेल खेल्दै छ..
कायापलटको ढोका घचघचाउदै,
यो उदासीन मनको समिपमा
मात्र काफी छ,सपनाको करामत
अब धर्ती बदल्ने अभिभारा दिदै ,
राजीनामा गर्दैछ, त्यो करामत
केवल सुम्पदैछ म माथि,
किनकी सपना, आसमानमा छ
अनि म धर्तिमा छु।।
आशा खनाल
पुल्चोक ईन्जिनियरिङ क्याम्पस
ललितपुर
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )