~कुशल ‘सुमन’~
आसुँको समुन्द्र गहिरिदै गएपछी
विस्तारै विस्तारै
रगतहरु तात्ने छन
उम्लने छन रगतहरु
र अचानक
भक्लक्क भक्लक्क उम्लिरहेका रगतहरु
ज्वालामुखी बनेर फुट्नेछन्
विस्फोटित अचम्मै ताता रगतहरु
धेरै धेरै माथिसम्म उचालिने छन्
तिमीले नीलो पारेको आकाश
छपक्कै कालो हुनेछ
रगत कालो पनि हुन्छ!
तिमीले थाहा पाउने छौ!
ति रगतहरुसँग औंला हुने छैन
(प्रश्न त आसुँहरुले मात्रै गर्छन्)
उनीहरुसँग त मुठी हुनेछ मुठी
च्याप्प अठ्याउने छन् तीनले
तिम्रा लागि मात्रै झुल्किने सुर्य
र सर्लक्कै पगाल्ने छन् हत्केला मै
तिमी आकाश हेरिरहेकै बेला
आसुँको सुनामीमा
कुहिरोको काग जस्तै
विलिन भैसकेको हुनेछ
तिमीले स्थापित गरेको साम्राज्य!
जब रगतहरु बिस्तारै सेलाउने छन्
आकाश सेतो हुनेछ
चम्मक्क उज्यालो हुनेछ
त्यहाँ भर्खरै जन्मेको नयाँ घाम हुनेछ
त्यसले सर्लक्कै सुकाएर लाने छ आसुँको समुद्र
त्यो घाम सबैका लागि हुनेछ