~रामचन्द्र खतिवडा~
गाउँमा थुप्रै जातिका मान्छे थिए । खास गरी ब्राहृमण–क्षेत्रीको बाहुल्य रहेको त्यस गाउँका बीचमा एउटा दमाईको घर थियो । दमाई बूढालाई गाउँलेहरू खूब हेप्थे । उनकी एक छोरी थिइन् जसलाई दमिनी कान्छी भन्थे गाउँलेहरू । तिनीहरू विष्टहरूका लुगा सिलाएर जीविकोपार्जन गर्थे ।
दमिनी कान्छी आफ्नो बुबालाई लुगा सिलाउन सघाउँथिन् । उनी रूप सौन्दर्यमा पनि राम्री थिइन् । उनको सुन्दर रूप देखेर गाउँका विष्टहरू थुक चाट्थे । उनी गाउँका केटाकेटीलाई खानेकुरा दिन्थिन् । केटाकेटी पनि उनीसँग झुम्मिन पाउँदा, खेल्न पाउँदा खूबै रमाउँथे । कहिलेकाहीँ विष्टहरूले तल्लो जातको भनेर हेप्दाचाहिँ दमिनी कान्छी बादल लागेको आकाशझैँ अनुहार बनाउँथिन् ।
बिस्तारै दमिनी कान्छी बढ्दै गइन् । उनको विवाह गर्ने उमेर भयो । विवाहका लागि कुरा छिनियो । विवाहको दिन दमाई बूढाको घरमा ठूलो समस्या आयो । तिनीहरूको मन दुख्ने गरी विष्टहरूले भने– “दमाईले छोएको हामी खाँदैनौँ ।”
दमाई परिवारले खानेकुरा तयार पारे र विष्टहरूले पकाए । यो सब दृश्य देखिरहेका एक जना बूढा ब्राहृमणले भने– “जसको घरमा विवाह भइरहेको छ, उनीहरूले छोएको नखाने ? हामी सबै मान्छे एकै हौँ, लौ लेऊ, म आज दमिनी आमैले पकाएको खाना खान्छु ।” नभन्दै बूढा ब्राहृमणले दमिनी आमैले पकाएको खाना खाए ।
(स्रोत : सुरभि साहित्य प्रतिष्ठानद्वारा प्रकाशित रामचन्द्र खतिवडाको “दमिनी कान्छी” लघुकथा सङ्ग्रहबाट सभार)