~डा. रविन्द्र समीर~
आजकाल डा.शर्माको लोकप्रियता बढिरहेको छ । अस्पतालमा डा.शर्मासँग जांच गराउने बिरामीको घुइंचो नै हुन्छ । त्यसैले डा.शर्माले तौल, तापक्रम, नाडीको गति तथा रक्तचाप जांच गर्न आफ्नो कक्षमा सहायकलाई राखेका छन । डा.शर्माको बारम्बार फोन आइरहन्छ । उनी सबैको फोन उठाउछन, छोंटो कुरा गर्छन ।
‘नमस्कार ! हुन्छ, आइहाल्नुस ।’ उनको सहायकले अनुमान गर्यो – यो बिरामीको फोन हो ।
‘गुड इभिनिंग ! आजै ? आज त आफै गाडी ड्राइभ गरेर आएको छु । मापसेको झन्झट होला । अर्कोपटक आउंछु ल !’ उसले अनुमान गर्यो – यो कक्टेल पार्टीको निम्तो हो ।
‘नमस्ते ! नमस्ते !! मैले कोइलीको सुमधुर आवाजको प्रतीक्षा गरेको थिएँ । शनिबार दिउँसो पहिलेकै टाइम र ठाउँमा है ! ….सो मच !’ उसले अनुमान गर्यो – यो डा.शर्माको प्रेयसीको फोन हो ।
‘फलफुल ? पेसेन्टको चाँप छ, डिस्टर्ब नगर यार ! बेला न कुबेला के को फोन गर्या होला ? हत्तेरिका बाइ ।’ उसले अनुमान गर्यो – यो डा.शर्माको श्रीमतीको फोन हो ।
(स्रोत : रचनाकारको लघुकथा संग्रह “एकलब्य दृष्टि” बाट सभार )